प्रतिनिधिसभाको सबै भन्दा ठुलो दल नेपाली कांग्रेस एक पछि अर्को काण्ड र विवादमा मुछिएको देखिन्छ । समाजवाद र लोकतान्त्रिक प्रणालीलाई अंगिकार गर्ने दलले नै विवादमा मुछिएका आफ्ना नेता र सांसदलाई कारबाहीको साटो ढाकछोप र संरक्षण गरेको आरोप लाग्दै आएको छ । जसका कारणनेतृत्वप्रति नेता, कार्यकताको असन्तुष्टि र उनीहरुमा विचलन छाएको देखिन्छ ।
कसैलाई सराप्नु परे एक समय ‘तेरो घरमा कांग्रेस पसोस्’ भन्ने गरिन्थ्यो । तरअहिले त्यहीँ कांग्रेसभित्रभ्रष्टाचार पसेको देखिन्छ । नेपालको सबैभन्दा ठुलो समाजवादी–लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस भ्रष्टहरुको अखडा बन्न पुगेकोे छ । पछिल्लो समय कांग्रेस विवाद र काण्डको पर्याय जस्तो देखिन्छ । सभापति शेरबहादुर देउवादेखि महामन्त्री गगन थापासम्मै कुनै न कुनै काण्डमा नाम जोडिएको छ । भ्रष्टाचार र गुटको चंगुलमा फसेको कांग्रेसमामेलम्ची काण्ड,टेरामक्स काण्ड, भुटानी शरणार्थी काण्ड, बाख्रा काण्ड……..हँुदै सहकारी काण्डसम्मको बेथिति मौलाएको देखिन्छ ।
कांग्रेस नेताका जति पनि विवाद र काण्ड बाहिरिए पनि उनीहरु नेतृत्वबाट सधैँ संरक्षित हुने गरेका छन् । विवादमा तानिएका नेताहरुमाथि छानविन र कारबाहीभन्दा पनि ढाकछोप र संरक्षण गर्ने परिपाटी बढ्दो छ । यो कांग्रेसको मुल नीति जस्तै बनेको छ । (दलाल हुन् कि भ्रष्ट, कांग्रेसमा मिल्छ छत्र) भन्ने नारा कांग्रेसीजनले बोकेर हिँडेको देखिन्छ । जसको पहिलो पंक्तिमा सभापति देउवा पर्छन् । देउवा आफूपक्षीय नेताहरुलाई जोगाउन माहिर मानिन्छन् । उनकै छत्र छायाँमा मोहम्मद आफ्ताब आलम, बालकृष्ण खाणदेखि धनराज गुरुङसम्म संरक्षित छन् ।तर उनै देउवाले आइतबार धनगढीमा रास्वपाका नेता कार्यकर्तालाई कटाक्ष गर्दै ‘मुद्दा त हाम्रा साथीहरुमाथि पनि चलाइएको थियो, तर कहिल्यै होहल्ला गरेनौं ।’भन्दै दुधको साक्षी बिरालो बने।
त्यसो त सभापति देउवासमेतविभिन्न काण्डमा मुछिएका व्यक्ति हुन् । बहुचर्चित मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा १८ वर्ष अघि उनी करिब सात महिना जेल परेका थिए । तर पछि यस आरोपमा उनले सफाइ पाएका थिए । कांगे्रसमा आशा र भरोसा गरिएका महामन्त्री गगन थापाको नाम पनि बेला बेला कृषि अनुदानमा नक्कली बाख्रा पालन देखाई अनुदान पचाएको आरोप लाग्दै आएको छ ।त्यस्तै टेलिफोन कल नियमन तथा शंकास्पद कलको व्यवस्थापन प्रणाली टेरामक्स खरिदमा कमिसन खाई योजनाबद्ध तरिकाले लेबनानको कम्पनी भेन्राइजलाई ठेक्का दिलाउन ज्ञानेन्द्रबहादुर कार्की र मोहनबहादुर बस्नेत लागेको तथ्य बाहिरिएको थियो ।
उनै कार्की र बस्नेतलाई जोगाउन काँग्रेस सभापति देउवा मरिमेटेर लागेका थिए । जुन विषय केही समय पछि सामसुम बन्न पुग्यो । कांग्रेस भित्र आरोप प्रत्यारोप र गुट उपगुट कुनै नौलोकुरो होइन । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आफ्नै पार्टीका सांसद राजेन्द्र बजगाईंले करोडौं घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाए। सो आरोपको खण्डन गर्दै मन्त्री पाण्डेले केही मानिसहरुले पर्यटन क्षेत्रबाट नाजायज लाभ लिनआफूमाथि अफवाहपूर्ण आरोप लगाएको जिकिर गरेका थिए । आफूले एक कौडी पनि भ्रष्टाचार गरेको भए झुन्डिएर मर्नेसम्मको दाबीगर्दै आरोप प्रमाणित गर्न चुनौती नै दिए ।
कांग्रेसका मन्त्रीदेखि सांसद, नेतासम्मै भ्रष्टाचारमा मुछिएका छन् । कांग्रेसका पूर्वमन्त्री जयप्रकाश गुप्ताले सार्वजनिक पदमा छँदा ८४ लाख रुपैयाँ भ्रष्टाचार गरी कमाएको र उक्त रकमको कुनै स्रोत खुलाउन नसकेको ठहर गर्दै त्यति नै रकम जरिवाना र डेढ वर्ष कैद सजाय भुक्तान गरेका थिए । त्यस्तै बालुवाटार जग्गा प्रकरणमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।
चौतर्फी चर्चा र बहसको विषय बनेको सहकारी प्रकरणमा कांग्रेसका उपसभापति धनराज गुरुङको नाम पनि मुछिएको छ । गुरुङ जोडिएको ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको १४ करोड ८१ लाख रुपैयाँ गुरुङकी पूर्वपत्नी ज्योति गुरुङले अपचलन गरेकोसंसदीय छानबिन समितिको प्रतिवेदनले उल्लेख गरेको छ ।यही प्रकरणमा धनराज गुरुङसँग सीआईबीले बुधबार ५ घण्टा सोधपुछ गरेको छ ।
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाबालकृष्ण खाणलाई बचाउन कांग्रेसकैनेताहरुको दबाबमा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा पुनरावेदनका लागि माथिल्लो तहमा नलैजाने निर्णय गरेको थियो ।सोही शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीलाई एमालेले तुरुन्तै निलम्बन गरेको थियो ।
तर कांग्रेसले भने खाणको हकमा निलम्बन वा कुनै कारबाही गरेन । सुन्दै शरीरमा काडा उम्रिने घटनाजिउँदै इँटाभट्टाको चिम्नीमा हालेर हत्या गरेको आरोप लागेका मोहम्मद अफताब आलमलाई प्रहरीले समात्दा पनि कांग्रेस सभापति देउवाले बचाउ गर्न पुगेका थिए ।
२०६४ सालको संविधानसभा निर्वाचनका बेला भएको बम विष्फोटमा घाइतेलाई जिउँदै जलाएको घटनामा अदालतको आदेशपछि आलम समातिदा देउवाले ‘कांग्रेसविरुद्ध षडयन्त्र भएको’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए ।कांग्रेस भित्र मौलाएको गुटगत विवाद र भ्रष्टाचारको ज्वरोले विस्तारै कांग्रेस पार्टी नै कमजोर र सिथिल हुँदै गएको स्वयम् कांग्रेसका नेताहरु नै स्वीकार्छन् ।देशमा मौलाएको भ्रष्टाचार नियन्त्रणका लागि कानुन नै संशोधनगरेर प्रभावकारी ढंगले अगाडि बढ्न आवश्यक रहेको कांग्रेस नेताकै भनाइ छ ।
करिब १० लाख क्रियाशील सदस्य रहेको दाबी गर्ने नेपाली कांग्रेसदेशको सबैभन्दा ठुलो दल भए पनि भ्रष्टाचार र विवादका काण्डबाट माथि उठ्न सकेको देखिँदैन । यसले कांग्रेसको भविष्यमाथि नै संकटको भुमरी मडारिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।।
प्रतिक्रिया