राजनीति

ट्रम्पको टिममा को को छन् चीन विरोधी, छानीछानी नियुक्ति


हालै सम्पन्न निर्वाचनबाट अमेरिकाको ४७ औँ राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनमा विभिन्न व्यक्तिलाई नियुक्ति गर्दैगर्दा अमेरिका र चीनबीचको सम्बन्धको समेत चर्चा हुन थालेको छ । ट्रम्पले नियुक्त गरेका कतिपय व्यक्तिको पृष्ठभूमि हेर्दा विगतदेखि नै चीनप्रति कडा टिप्पणी गर्नेहरु छन् । यसले ट्रम्पको दोस्रो कार्यकालमा पनि चीनसँगको सम्बन्ध तनावपूर्ण हुन सक्ने सम्भावना छ ।

विश्वका दुई शक्तिशाली मुलुक अमेरिका र चीनको सम्बन्ध सौहार्दपूर्ण देखिँदैन । विगतदेखि नै यी दुई मुलुकबीच विभिन्न विषयमा विवाद र तनाव रहँदै आएको छ । यही बीच अमेरिकाको नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । यसअघि सन् २०१६ देखि २०२० सम्म पहिलो कार्यकाल सम्हालेका ट्रम्प हालै सम्पन्न निर्वाचनबाट दोस्रो कार्यकालका लागि पुनरागमन गरेका हुन् । पहिलो कार्यकालमा चीनप्रति कडा नीति लिएका ट्रम्पको पुनरागमनले अमेरिका र चीनबीचको आगामी सम्बन्ध पनि तनावपूर्ण हुने सम्भावना देखिन्छ ।

पहिलो कार्यकालमा ट्रम्पले चीनप्रति कडा नीति लिँदा चीनसँग अमेरिकाको सम्बन्ध बिग्रिएको थियो । अमेरिका–चीनको सम्बन्ध चिस्याउने सबैभन्दा ठूलो कारण व्यापार युद्ध हो । ट्रम्पको पुनरागमनसँगै उनलाई बधाई दिँदै चीनका राष्ट्रपति सी जिङपिङले स्वागत गरेका छन् । ट्रम्प निर्वाचित भएपछि सीले सन्देश पठाउँदै बेइजिङ र वासिङ्टनबीच सहकार्य गर्ने उपाय खोज्नु पर्ने बताएका थिए । तर अहिलेसम्म यसको जवाफ ट्रम्पले फर्काएका छैनन् । सीले पठाएको सन्देशलाई ट्रम्पले गरिरहेको बेवास्ताले पनि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बन्न सक्ने देखिएको छ । यति मात्रै नभई ट्रम्पले आफ्नो प्रशासनमासमेत राष्ट्रिय सुरक्षादेखि व्यापारसम्मका क्षेत्रमा बेइजिङप्रति कडा टिप्पणी गर्दै आएकाहरुलाई नै छनोट गरेका छन् ।


नम्बर १. जोन ¥याक्लिफला ।
राष्ट्रिय खुफियाका पूर्व निर्देशकसमेत रहेका जोन र्याक्लिफला चीन विरोधी व्यक्तिमा पर्छन् । ट्रम्पले मंगलबार जोन र्याक्लिफलाई केन्द्रीय गुप्तचर एजेन्सीको निर्देशकको रूपमा छनोट गरेका छन् । ट्रम्पको नजिकको सहयोगी र्याक्लिफलाले आफ्नो पहिलो कार्यकालको अन्त्यमा राष्ट्रिय खुफिया निर्देशकको रूपमा सेवा गरेका थिए । कोरोनाभाइरस महामारीको समयमा अमेरिकी सरकारको जासूसी एजेन्सीहरूको नेतृत्व गरेका उनले चीन विरोधी आवाजलाई बुलन्द पार्ने गरेका थिए ।
नम्बर २. माइक वाल्ट्ज ।
माइक वाल्ट्ज चीनविरुद्ध आवाज उठाउने अर्को व्यक्तिमा पर्छन् । माइकलाई ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेका छन् . उनी फ्लोरिडाका जनप्रतिनिधि हुन् । उनी सेवानिवृत्त सैनिक अधिकृत हुन् । एसिया प्रशान्त क्षेत्रमा चीनको बढ्दो गतिविधिको उनले खुलेर आलोचना गर्ने गर्दछन् ।
नम्बर ३. मार्को रुबियो
चीनविरुद्ध कडा टिप्पणी गर्ने व्यक्तिमा मार्को रुबियो पनि पर्छन् । ट्रम्पले उनलाई विदेशमन्त्रीमा नियुक्त गरेका छन् । रुबियोलाई चिनियाँ सरकारको कडा आलोचकका रूपमा चिनिन्छ । रुबियोलाई सन् २०२० मा चीनले प्रतिबन्ध लगाएको थियो । उनले सिनजियाङ प्रान्तका अल्पसंख्यक जातिको व्यवहारबारे टिप्पणी गरेका थिए । ट्रम्पको आफ्नो प्रशासनमा चीनको कडा आलोचना गर्ने व्यक्तिहरुलाई नियुक्त गर्नुले पनि बेइजिङसँग टकरावपूर्ण सम्बन्ध बन्ने देखिन्छ । उनको दोस्रो कार्यकालमा चीनसंगको सम्बन्ध झनै चर्किने र भड्किने सम्वाभना छ ।


ट्रम्पले चीनविरुद्ध कडा टिप्पणी गर्दै आएका व्यक्तिहरूलाई आफ्नो प्रशासनमा नियुक्त गर्नुले अमेरिका र चीनबीचको आगामी सम्बन्धमा ठूलो तनावको सम्भावना देखाउँछ । ट्रम्पको प्रमुख कूटनीतिक रणनीति चीनसँगको व्यापार असंतुलन, बौद्धिक सम्पत्ति चोरी र सैन्य उपस्थिति जस्ता मुद्दामा कडा दबाब दिनुमा केन्द्रित हुने छ । साथै अमेरिका–चीन सम्बन्धलाई थप जटिल र चुनौतीपूर्ण बनाउन सक्छ। तसर्थ, आगामी समयमा यी तनावपूर्ण सम्बन्धका परिणामस्वरूप व्यापार, सुरक्षा र कूटनीतिक दृष्टिकोणले महत्वपूर्ण मोड लिन सक्छ ।