Breaking

दुई वर्षपछि डडेल्धुराबासीले बल्ल पाए देउवाको दर्शन !(भिडियाे)


काठमाडौं। सत्ता जोड घटाउको हिसाबकिताब मिलेपछि कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई बल्ल गृह जिल्लाको याद आएको छ । कप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार नढल्ने आश्वासन दिएर देउवा डडेल्धुराको भ्रमणमा छन् ।

२०४८ सालदेखि २०७९ सालसम्म गरी सात पटकसम्म लगातार चुनाव जिताएर डडेल्धुुराकै जनताले उनलाई पाँच पटक देशको प्रधानमन्त्री बनाइदिएका हुन् । उनै देउवा चुनाव जितेको दुई वर्षपछि सोमबार गृह जिल्ला डडेल्धुरा पुगेका छन् ।

गृह जिल्लामा कार्यकर्ताको न्यानो स्वागत पाए पनि देउवा गृह जिल्ला पुग्दा जनतामा भने उत्साह देखिएन ।

ज्योतिष मान्ने देउवा सम्भवतः दुईपटक फेरि प्रधानमन्त्री बन्न मुख मिठ्याइरहेका छन् । तर, पाँच पटकसम्म प्रधानमन्त्री बनाउने डडेल्धुराको माटो र त्यहाँका जनताको मुख मिठ्याइदिने ल्याकत देउवाले अहिलेसम्म गरेका छैनन् ।

फलतः ४० वर्षअघि सडक र पुल माग्ने पुस्ता विकास माग्दामाग्दै बिलीन भइसके । तीनका नाती पुस्ताले समेत अहिले पनि देउवासँग सडक र पुलकै लागि बिलौना गरिरहनुपरेको छ ।

देउवा आइतबार जहाजमार्फत धनगढी पुगेका थिए । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा देउवाले केन्द्रीय राजनीतिकै सवालमा आफ्ना धारणा राखेका थिए । तर, गृह प्रदेशमा पाइला टेक्ने बित्तिकै उनले झुठ बोल्न भने सुरु गरिसकेका थिए ।
धनराज गुरुङले विलाप गर्दासमेत अनुसन्धानको दायरामा नल्याउने र बालकृष्ण खाणको मुद्दामा पुनरावेदन नगरी उन्मुक्ति दिने देउवाले नेता पक्राउ पर्दा कांग्रेसले होहल्ला नगरेको भन्दै रास्वपामाथि कटाक्ष गरे ।

डडेल्धुरामा के गर्दैछन् देउवा ?
सोमबार बिहानै डोटीको बुडर हुँदै सम्मान थाप्दै डडेल्धुराको आलिताल र परशुरामको भ्रमण गरेका छन् । बाटोमै पर्ने मनोरम आलितालको भ्रमण गरेका देउवालाई परशुराम नगरपालिकाको जोगबुडा बजारमा कांग्रेसी कार्यकर्ताले स्वागत गरेका थिए । लगत्तै देउवा प्रसिद्ध परशुराम धामको भ्रमण गर्न पुगेका थिए ।

देउवाले हरेक वर्ष महाकाली नदीमा पक्की पुल बनाउने नारा दिँदै आएका छन् । तर, डुंगामा जोखिमपूणर् यात्रा गर्नुपर्ने बाध्यताले देउवालाई पक्कै पनि लज्जित तुल्याएको हुनुपर्छ । त्यहाँ रहँदा देउवालाई कांग्रेस र माओवादीले छुट्टाछुट्टै ध्यानाकर्षणपत्र बुझाएका छन् ।

माओवादीले सामान्य भन्दा सामान्य समस्यासहितको १७२ बुँदे माग गरेको छ । कांग्रेसका तर्फबाट परशुुराम नगरपालिकाका मेयर भरत बडायर जोशीको पत्र बुझ्दै देउवाले अधुुरा योजना सम्पन्न गर्ने फुस्रो आश्वासन दिए ।

भित्री मधेश क्षेत्रको भ्रमण सकेर देउवा सोमबार साँझै जिल्ला सदरमुकाम पुगेका थिए । उनी त्यहाँ पुग्नुअघि सडकमा रहेको धुलो पखाल्नसमेत दमकलको प्रयोग गरिएको थियो । यसअघि छाडा छाडिएका चौपायाहरुको समेत देउवा आउने भएपछि व्यवस्थापन गरिएको स्थानीयहरुले बताएका छन् ।

अर्थात, दुई वर्षपछि बल्ल जिल्ला आउन फुर्सद मिलाएका देउवालाई स्वागत गर्न कांग्रेसीहरुले निकै तामझाम मिलाएका थिए । सदरमुकाम पुगेलगत्तै देउवा गृहपालिका गन्यापधुरा गाउँपालिकामा लागेको बडाल जाँत (मेला)मा सहभागी भई लाटागन्याप देवताको दर्शन गरे । प्रसिद्ध बडाल जातमा नांगो तरबारको चौला खेल्ने प्रचलन रहिआएको छ । दर्शन गरेपछि सभापति देउवा डडेल्धुरा जिल्ला सदरमुकाम फर्किएका थिए ।

त्यस क्रममा देउवाले युवाहरुका प्रश्न र आक्रोशको सामना गर्नुपर्‍यो । मुख्य सडकमै धुलो उडाउँदै गृहजिल्ला आउनुपर्दा सर्वसाधारणले देउवासँग हिसाबकिताब मागेका छन् । चुनावी नारा सम्झाएका युवाहरुले सडक कहिले बन्छदेखि डडेल्धुुरामा प्रदेश सदरमुकाम कहिले आउँछ भन्नेसम्मका प्रश्न गरेका थिए । देउवा भने निर्लज्ज भएर सुरक्षा घेरामा अघि बढेका थिए ।

हुन त वर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चुनावका बेला कांग्रेसलाई भोट दिए मात्र बजेट आउनेदेखि फ्रि भिसा फ्रि टिकटसम्मका स्कीम ल्याएकी थिइन् । देउवाले समेत चुनावी अभियानका क्रममा सुदूरपश्चिमको राजधानी डडेल्धुरा ल्याउनेदेखि एअरपोर्ट बनाउने र महाकाली नदीमा भारतसँग जोड्ने पक्की पुल बनाउने आवश्वासन बाँडेका थिए ।

कञ्चनपुर र डडेल्धुुरा जोड्ने दैजी-जोगबुुडा सडक ट्र्याक खुलेको ४० वर्षसम्म कष्टपूणर् यात्रा गर्नुपरेको छ । यीनै एजेण्डामा टेकर देउवा देशको राजनीतिको मूलप्रवाहमा राज गरिरहँदा देउवाको डडेल्धुुरा भ्रमणले कार्यकर्ताको न्यायो सम्मान पाए पनि जनता सन्तुष्ट नरहेको स्पष्ट संकेत दिएको छ ।

बुधबार कार्यकर्ता भेटघाटमा देउवा व्यस्त रहँदा सुुरक्षाकर्मीको तैनाथी बाक्लो पारिएको थियो भने सडकमा हिंड्ने हरेक सर्वसाधारणलाई सोधपुछ र केरकार गरिएको स्थानीयले बताएका छन् ।

बिहीबार पनि देउवा कार्यकर्ता भेटघाटमै ब्यस्त रहनेछन् । कात्तिक ३० गते गन्यापधुरामा हुने कार्यक्रममा सहभागी भएर देउवा मंसिर १ गते डडेल्धुराको उग्रतारा मेलामा सहभागी भइ दुई गते काठमाडौं फर्किने तालिका छ ।

भिडियाे हेर्नुहाेस् :