Breaking

रविको गर्जन : ‘बाघ थुनेर स्याल हुँदैन’


सहकारीको रकम हिनामिनाप्रकरणमा गत कात्तिक दुई गते पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि आज कास्कीबाट रुपन्देही लगिएको छ ।बुटबलमा बयान सकिएसँगै उनलाई काठमाडौं ल्याउने तयारी छ । त्यसका निम्ति प्रहरीले काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनका विषयमा अनुसन्धान तीव्र पारेको देखिन्छ ।


सहकारी ठगको बिल्ला भिरेर करिब २६ दिनदेखि प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछाने बुटवलको सुप्रिम सहकारीको रकम अपचलन आरोपमा बयानका लागि मंगलबार कास्कीबाट बुटवल जाँदै गर्दा विमानस्थलमानिर्भिक, निश्चिन्त मुद्रामा देखिन्थे । उनको मुहारमा कुनै भय, ग्लानी र चिन्ता देखिँदैन थियो ।

भैरहवा हुँदै बुटवल लैजान बिहानै पोखरा विमानस्थल पु¥याइएका रविले करिब ५ घण्टा विमानस्थलमै बिताउनु प¥यो । पोखराबाट बुद्ध एयरको विमान बिहान ७ बजे उड्ने तालिका रहे पनि भिजिबिलिटी कम हुँदा उडानमा ढिलाइएको थियो । जस कारण मध्याह्न १२ बजे मात्रै उनलाई भैरहवा पु¥याइएको थियो ।पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा अनुसन्धान गरिरहेको प्रहरीले त्यहाँ अनुसन्धान नसक्दै लामिछानेलाई रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धानका लागि रुपन्देही पु¥याएको हो।

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको देखिएपछि रुपन्देही प्रहरीले कार्तिक ८ गते जिल्ला अदालतबाट रवि लामिछाने र जीबी राईसहित १२ जनाविरुद्ध पक्राउ अनुमति लिइसकेको थियो ।

सुप्रिम सहकारीबाट १ करोड ९६ लाख लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडियामा पुगेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमै उल्लेख छ । सुप्रिम सहकारीबाट लामिछानेको नाममा २०७७ चैत १८ मा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको थियो। त्यस्तै गोर्खा मिडियाकै उपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशी बञ्जाडेको नाममा पनि २ करोड ५० लाख रुपैयाँ ऋण लिएको देखिएको थियो ।यसअघि नै छविलाललाई भने रुपन्देही ल्याएर बयान लिइएको थियो । बयानपछिउनलाई पुनः कास्की पठाइएको थियो ।

संस्थाका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र पूर्वउपराष्ट्रतिका छोरा एवं सुप्रिम सहकारीका पूर्वसचिव दीपेश पुनसहित २८ जनालाई प्रतिवादी बनाउँदा लामिछानेलाई भने प्रतिवादी बनाइएको थिएन । प्रहरीले २८ जनालाई प्रतिवादी बनाएर रुपन्देही अदालतमा मुद्दा दर्ता गर्दा लामिछाने गृहमन्त्री थिए । तर अहिले प्रहरीले लामिछानेविरुद्ध पूरक अनुसन्धान प्रतिवेदन लैजाने गरी इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरिरहेको छ ।रविलाई बयानका लागि रुपन्देही पु¥याइएसँगै रास्वपाका नेता कार्यकताहरुले अदालत परिसर बाहिर विरोध प्रर्दशन गरे। उनलाई अदालतमा उपस्थित गराइँदै पिच्छे रास्वपाले विरोध प्रदर्शन गर्दै आएको छ ।

संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रकम गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको छ ।समितिका अनुसार पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारीबाट सहकारी कानुन विपरीत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको देखिएको छ । यस आधारमा संसदीय समितिले सहकारी सञ्चालक एवं निर्णय प्रक्रियामा संलग्न सबैलाई कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको थियो । सोही प्रतिवेदनको आधारमा अनुसन्धान र बयानका लागि रविलाई मंगलबार बुटवल पु¥याइएको हो ।लामिछानेले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान दिएर बाहिरिने क्रममा समर्थकतिर फर्किएर बार्दलीबाट हात उठाउँदै ‘खोरमा थुनिँदैमा बाघ स्याल नहुने’ टिप्पणी गरे।

रुपन्देही पु¥याइएका लामिछानेको मंगलबार बयान नसकिएपछि बुधबार पुनः बयान लिइने भएको छ । बयान सक्न बुधबार साँझसम्ममा लाग्ने भएकाले लामिछानेको बास बुटवलमै हुने भएको छ । बुटवलमा बयान सकिएसँगै उनलाई काठमाडौं ल्याउने तयारी गरिएको छ । त्यसका निम्ति प्रहरीले काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनका विषयमा अनुसन्धान तीव्र पारेको छ ।काठमाडौं प्रहरी स्रोतका अनुसार, सूर्यदर्शन सहकारी ठगीमै पक्राउ परेका कुमार रम्तेललाई भने मंगलबार काठमाडौं पठाउन कास्की प्रहरीलाई पत्राचार गरिएको छ ।
यस्तैअन्य सहकारीको रकम अपचलनमा पनि रविलाई बयानका लागि सम्बन्धित जिल्लामा पु¥याउने प्रहरीको तयारी छ । यसले रविको हिरासत बसाइँ फरक फरक जिल्लामा हुने देखिन्छ । रास्वपाका संस्थापक सभापति लामिछाने बिना पार्टी चलायमान हुन नसक्दा रविले हिरासतदेखिनै पार्टी संचालन गरिरहेका छन् । सोमबार पार्टीका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेलाई हिरासत भित्रै बैठक संचालन गरेको आरोप लागे पनि रास्वपाका नेताहरु भने त्यसलाई अस्विकार गर्दै आएका छन् ।

गत आइतबार लामिछानेलाईकास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।रवि पक्राउको दिनदेखि सडकमा आन्दोलन गरिरहेका रास्वपाका नेता कार्यकर्ताहरुविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता हुने भएको छ ।अधिवक्ता अनुपमभट्टराईले दायर गरेको रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएको हो ।यो संगै रास्वपाका नेता कार्यकतालाई अवहेलना मुद्दामा पक्राउ गरी थुन्ने रणनीतिमा सरकार देखिन्छ ।