विश्व शक्ति राष्ट्र अमेरिकामा हालै सम्पन्न निर्वाचनबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएसंगै ट्रम्प प्रशासनले महत्वपूर्ण भूमिकामा रहने व्यक्तिहरु छनोट गर्न थालेका छन् । ट्रम्पको टोलीमा को–को सामेल भए त ?
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको टिमले उनी ह्वाइट हाउसमा फर्किंदा महत्त्वपूर्ण भूमिकामा रहेर सेवा गर्ने व्यक्तिहरु छनोट गर्न शुरू गरिसकेको छ । यसक्रममा उनले सुशन समराल वाइल्स अर्थात् सुजी वाइल्सलाई चिफ अफ स्टाफ बनाएका छन् । अमेरिकाको इतिहासमै पहिलो महिला चिफ अफ स्टाफको रूपमा सुजीलाई ट्रम्पले उभ्याएका छन् । उनी ट्रम्पको चुनावी अभियानकी सहअध्यक्षसमेत थिइन ।
ट्रम्पको दोस्रो कार्यकालमा सबैभन्दा महत्त्वपूर्ण निर्णय गर्ने न्याय विभागको प्रमुखको नियुक्तिसँग सम्बन्धित छ । यस पदका लागि बाहिर आएका नाममा टेक्सासका एटर्नी जनरल केन प्याक्सटन छन् । ट्रम्पका लागि होमल्याण्ड सेक्रेटरीको मुख्य जिम्मेवारी अमेरिका–मेक्सिको सीमा सील गर्नु र वैध कागजात नभएका आप्रवासीलाई देशबाट बाहिर निकाल्नु हुन सक्छ । यस्तै बाचा ट्रम्पले आफ्नो चुनावी अभियानमा पनि गरेका थिए । प्राकृतिक विपत्तिमा सरकारी प्रयासको नेतृत्व गर्नु पनि एटर्नीको जिम्मेवारी हुनेछ । यसमा टम होमनको नाम चर्चामा छ । जो ट्रम्पको पहिलो कार्यकालमा इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट विभागका निर्देशक थिए ।
यस्तै सेक्रेटरी अफ स्टेटका लागि फ्लोरिडाका सिनेटर मार्को रुबियोको नाम चर्चामा छ । उनलाई उपराष्ट्रपति बनाउने कुरा पनि उठेको थियो । रक्षा सचिवको पदका लागि दुई प्रमुख नाम चर्चामा छन् । फ्लोरिडाका सांसद माइकल वाल्ट्ज, जो अमेरिकी प्रतिनिधि सभाको सशस्त्र सेवा समितिमा सदस्य छन्, र अर्को नाम रबर्ट ओ’ब्रायनको हो । ट्रम्पले यसअघि रक्षा सचिवको भूमिकाका लागि माइक पोम्पेओलाई प्राथमिकता दिएका थिए ।
विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्कले ट्रम्पलाई पुनः निर्वाचित गराउन करोडौं डलर खर्च गरेका थिए । अब आलोचकलाई डर छ कि मस्कसँग आफ्ना कम्पनीहरू टेस्ला, स्पेस एक्स र एक्सलाई असर गर्ने नियम कमजोर पार्ने वा तिनीहरूको आकार परिवर्तन गर्ने शक्ति हुन सक्छ । मस्क र ट्रम्पको ध्यान ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी’को नेतृत्वमा केन्द्रित छ, जहाँ उनीहरूले स्रोत साधन कटौती गर्ने र सुधार्ने योजना बनाएका छन् । ५३ वर्षीय मस्कले विश्वव्यापी कूटनीतिमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।
ट्रम्पले गर्ने नियुक्तिहरू प्रायः ती व्यक्तिहरूसँग हुनेछ जसको विचारधारासँग उनको सिधा मेल खान्छन् । जसले अमेरिकी राष्ट्रवाद, व्यापारिक र रक्षा प्राथमिकताहरूलाई ध्यानमा राखी काम गर्न सक्छन् । ट्रम्पको प्रशासनमा नियुक्त हुने व्यक्तिहरू र उनीहरूको नीतिहरूले वैश्विक रूपमा युद्ध, व्यापार युद्ध, राष्ट्रिय सुरक्षा र आन्तरिक अस्थिरता, न्यायिक प्रणालीमा सुधार र पर्यावरणीय चुनौतीहरूको क्षेत्रलाई प्रभावित गर्नेछन् । तथापि, ट्रम्पको कार्यकालमा नियुक्त भएका व्यक्तिहरुको कामकारबाही कुन रुपमा अगाडि बढ्ने छ ? त्यो भने हेर्न बाँकी छ ।
प्रतिक्रिया