Breaking

सीकेको पार्टी संकटमा, पार्टी छोड्नेदेखि फुटाउनेसम्म सक्रिय


वैकल्पिक शक्ति भन्दै सँगै उदाएका दुई राजनीतिक दल एकपछि अर्काे विवादमा फसिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सहकारी ठगीको आरोपमा हिरासतमा हुँदा जनमत पार्टीमा पनि नेता कार्यकर्ताको चरम असन्तुष्टि देखिएको छ । वैकल्पिक भनेर आशा गरिएका जनमतका अध्यक्ष डा.सीके राउतको संसदीय राजनीतिक यात्रा पनि सन्तोषजनक हुन सकेको छैन ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको झण्डै दुई दशकदेखिको साम्राज्य भत्काउँदै मधेशमा जनमत पार्टीका अध्यक्ष डा.चन्द्र कान्त (सीके) राउत उदाएका थिए । तराई मधेशमा एक छत्र राज गरिरहेका यादवकै किल्ला भत्काएपछि त झन् राउतलाई मधेशको नयाँ मसिहाकै रूपमा हेर्नसमेत थालिएको थियो । तर, अहिले मधेशमा परम्परागत दलको वैकल्पिक शक्ति बनेर उदाएको जनमत समयक्रम बित्दै जाँदा विवादैविवादमा मुछिन थालेको छ । पार्टीमा आन्तरिक द्वन्द्व बढ्दै जाँदा नेता कार्यकर्ता धमाधम पार्टी परित्याग गरिरहेका छन् ।

बारा २ को उपनिर्वाचनमा जनमतबाट चुनाव लडेका शिवचन्द्र कुशवाह पार्टी छोडेर एमालेतिर लागेका छन् । त्यस्तै पार्टीभित्र देखिएका विभिन्न असन्तुष्टिका कारण पार्टी छाड्न थालेपछि अध्यक्ष राउतले विभिन्न १९ वटा कारण औँल्याउँदै समीक्षा नै गर्नु परेको छ । अहिले फेरि समानुपातिक सांसद गोमालाभ सापकोटालाई पदमुक्त गर्न संसद् सचिवालयलाई जनमतले पत्र काटेको छ । ‘पार्टी फुटाउने गरी अरु दलहरूसँग छलफल गरेको’ भन्दै अध्यक्ष राउतले सांसद गोमालाई हटाउन तीन पटक ताकेता गरेका हुन् । पार्टीका नेता, कार्यकर्ता र सांसदकै अन्तरद्वन्द्वले पार्टी फुटसम्मको सम्भावना निम्तिने अवस्था आएको छ ।

मधेशमा आमूल परिवर्तन गर्ने सङ्कल्पसहित प्रदेशको मुख्यमन्त्री लिएको जनमत प्रदेशमा नै सिथिल बन्न पुगेको छ । सत्ताको चास्नीमा भुलेको जनमतले मधेश सरकारको १५ सदस्यीय मन्त्रिपरिषद्लाई बढाएर इतिहासकै सबैभन्दा बढी २० जनाको जम्बो मन्त्रिपरिषद् बनायो । प्रदेशमै २० जना मन्त्रीलाई भागबण्डा मिलाएको जनमत केन्द्रमा भने ठूला दलको हेपाई सहेर बस्न बाध्य छ । अर्काे वैकल्पिक शक्ति भनेर राजनीतिमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा हिरासत पुग्दा सरकारले प्रतिशोधको राजनीति गरेको अभिव्यक्ति दिएका सीके राउतले प्रधानमन्त्री केपी शर्मा ओलीको हप्काई खानु परेको थियो । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री ओलीले झाँको झारेपछि राउतले रविको पक्षमा एक शब्द बोल्न सकेका छैनन् । सत्तामा बसेर ठूलादलको ओझेलमा पहिरहेको राउतको तुजुक त ओली र शेरबहादुर देउवाले झारिरहेका छन् नै । साथै, उनले ठूला दलको हेपाई पनि सहनु परेको छ ।

श्रीमती सोनी सिन्धुसँग सम्बन्धविच्छेदको मुद्दा लिएर अदालत पुगेका राउत पारिवारिक किचलोमा समेत फसेका छन् । पत्नीसँगको सम्बन्धविच्छेदको विषय बाहिर आउँदा पारिवारिक झमेलामा फसेका सीकेमाथि ‘आफ्नै परिवार हाँक्न नसक्नेले पार्टी सम्हाल्न नसक्ने’ भन्दै नेता कार्यकर्ताबाटै प्रश्न उठ्ने गरेका छन् । जसले गर्दा मधेशको आश बनेर आएका डा.सीकेमाथि आफ्नै घरपरिवार चलाउन नसकेको आक्षेप लाग्ने गरेको छ । क्षेत्रीय पार्टी बनेर पहिलो पटक चुनावमा होमिँदा नै केन्द्रमा ६ सिट हात पार्न सफल भएको जनमत विस्तारै ओरालो यात्रामा अग्रसर देखिन्छ ।

हिजो रविले मन्त्री खाँदा सीके भने कुर्सीबाट टाढै रहेका थिए । जसले उनमा पद लोलुप्ता नरहेको भन्दै बढो वाहवाही कमाएका थिए । तर, रास्वपाका सभापति लामिछाने पनि सहकारीको विवादमा थिल्थिलो भइरहँदा जनताले आश गरेका अर्का नेता सीके राउत पनि त्यसबाट अछुतो हुन सकेनन् । मधेशमा उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो जस्ता नेताहरू कमजोर हुँदा राउतलाई मधेशको नेतृत्व गर्ने राम्रो अवसर जुरेको थियो । तर, पार्टीको गतिविधि र दल सञ्चालनमा उनी तंग्रिन नसक्दा त्यो अवसर गुमाउने खतरा निकट देखिन्छ ।