राजनीति

उपनिर्वाचन महाभिडन्त : घण्टीको परीक्षा, कांग्रेस–एमालेसँग भिड्दै माओवादी


आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ । साना–ठुला सबै राजनीतिक दलहरुले धमाधम उम्मेदवार घोषणा सुरु गरेसँगै स्थानीय तहको उपचुनावको चहलपहल ह्वात्तै बढेको छ । दलहरुको जनमत जाँच्ने परीक्षाको रुपमा रहेको उपनिर्वाचनमा प्रमुख दलका चुनावी रणनीति के छन् त ?

नगरपालिका मेयर एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, जिल्ला समन्वय समितिका प्रमुख दुई, उपाध्यक्ष चार, वडाध्यक्ष ३४ गरी ४४ वटा रिक्त पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको मिति नजिकिएसँगै दलहरुले धमाधम उम्मेदवार घोषणा गर्नेदेखि चुनावी तयारीलाई तीव्र बनाएका छन् । ताजा जनमत जाँच्ने अवसरको रुपमा हेरिएको उपनिर्वाचनलाई दलहरुले जनमतको परीक्षण मात्र नभई प्रतिष्ठा नै बनाएका छन् । चुनावी जित आफ्नो पोल्टामा पार्न एक्लाएक्लै चुनाव लड्ने, नभए अघोषित रुपमा गोप्य गठबन्धन गरेरै भए पनि जित हत्याउने दलहरुको रणनीति देखिन्छ । स्थानीय तहको चुनावको कमाण्ड केन्द्रीय नेताहरुलाई दिइएको छ ।

संसदको ठुलो दल नेपाली कांग्रेसदेखि पहिलो पटक स्थानीय तहको चुनाव लड्ने तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले तल्लो तह प्रदेशदेखि केन्द्रीय नेताहरुलाई नै चुनावी कमाण्डर बनाएको छ । सत्तारुढ दल नेपाली कांग्रेसको चुनावी कमाण्डर महामन्त्री विश्वप्रकाश शर्मालाई तोकिएको छ भने पार्टी सभापति हिरासतमा हुँदा संकटमा रहेको रास्वपाले केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीलाई चुनावी कमाण्डर बनाएको छ । संघीय राजधानी काठमाडौंको कीर्तिपुर नगरपालिकासहित ४४ पदमध्ये २६ पद कांग्रेसबाट निर्वाचित भएको ठाउँमा रिक्त छ ।

गत निर्वाचनमा माओवादी, नेकपा एससँग गठबन्धन गरेको कांग्रेस अहिले एक्लै प्रतिस्पर्धा गर्दैछ । गत चुनावमा क्लीन स्वीप हानेको कीर्तिपुरसहित विगतमा आफूले जितेको क्षेत्रमा परिणाम दोहो¥याउन कांग्रेसका लागि कम चुनौतिपूर्ण छैन । यद्यपि, उपनिर्वाचन हुने स्थानीय तहहरुमध्ये अधिकांश पार्टीको नजर कीर्तिपुर नगरपालिकामा छ । कीर्तिपुरको मेयर पदलाई सबै जसो पार्टीको मुख्य प्रतिष्ठाको रुपमा हेरिएको छ ।

यता नेकपा एमालेले कीर्तिपुरमा २०७४ को विरासत फर्काउने रणनीतिसहित अन्य स्थानीय तहमासमेत जित निकाल्न हेभिवेट उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ । २०७४ मा माओवादीसँग गठबन्धन गरेको एमाले यो पटक एक्लै चुनावमा लड्दैछ । एमालेको पनि नजर कीर्तिपुरमै गढेको छ । जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरसहित यसअघि जितेका ८ सिट सुरक्षित गर्दै अन्य क्षेत्रमासमेत पकड जमाउने रणनीतिमा एमाले देखिन्छ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लडेका केन्द्रीय सदस्य डाक्टर सुरेन्द्र मानन्धरलाई एमालेले कीर्तिपुरको मेयर पदमा उम्मेदवार बनाएको छ । एक्लै चुनावमा होमिन लागेको एमाले कीर्तिपुरसहित अधिकांश पदमा जित हासिल गर्दै कमब्याक गर्ने दाउमा छ ।

विगतका चुनावमा कहिले एमाले त कहिले कांग्रेससँग सहकार्य गरेको नेकपा माओवादी केन्द्र पनि यो पटक एक्लै चुनाव लड्ने रणनीतिमा छ । यद्यपि, उसले एक्लै चुनाव लड्ने औपचारिक घोषणा गरेको छैन । तर अघोषित रुपमा नेकपा एकीकृत समाजवादी, रास्वपा लगायतका दलहरुसँग सहकार्य गरेर चुनावी नतिजा आफ्नो पक्षमा पार्ने दाउमा माओवादी देखिन्छ । उपनिर्वाचनमा सफलता हाँसिल गर्न योजनाबद्ध कार्यक्रम बनाउन माओवादी जुटेको छ ।

विगतमा सहकार्य गरेर चुनाव जितेको माओवादी यो पटक एक्लै जनतामाझ परीक्षण हुन तयार देखिन्छ तर आँट कति गर्छ भन्ने मुख्य प्रश्न छ । यसअघि माओवादीले जितका ८ स्थानमा अहिले उपनिर्वाचन हुँदैछ । कांग्रेस, एमाले एक्लाएक्लै लड्ने भए पछि माओवादीलाई गएको निर्वाचनमा आफ्नो पार्टीले जितेको क्षेत्र सुरक्षित गर्नुपर्ने नैतिक दवाव छ । केन्द्रको पहिलो चुनावमै ठूलो सफलता हात पारेको रास्वपा पहिलो पटक स्थानीय तहको चुनावमा प्रतिस्पर्धा गर्दैछ । सहकारी प्रकरणमा सभापति रवि लामिछानेमाथि लागेको दाग झेल्दै जनतामाझ जान लागेको रास्वपाका लागि यो उपचुनाव अर्को परीक्षण हुनेछ । वैकल्पिक शक्तिको रुपमा उदाएको रास्वपाले आफ्नो साख जोगाउन सक्छ वा सक्दैन ? साथै कसको कति भल्ला भारी पर्नेछ ? त्यो भने उपनिर्वाचनको नतिजाले स्पष्ट पार्ने नै छ ।