नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दैनिकी एमाले र कांग्रेसको नयाँ समीकरणबाट बनेको सरकारलाई गाली गरेरै बितिरहेको छ । सत्ताबाट बाहिरिएपछि पार्टीलाई बलियो बनाउन तिर लाग्नु पर्ने प्रचण्ड सत्तामा रहेकालाई सतेसराप गर्नमै व्यस्त देखिन्छन् ।
नेकपा एमाले र नेपाली कांग्रेस जतिजति नजिक हुँदै गएको छ, त्यति नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छटपटी चरमचुलीमा पुगेको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको सम्बन्ध कसिँदै जाँदा त्यसको सकसमा भने प्रचण्ड छन् । ओली देउवाको सम्बन्धको गाँठोमा प्रचण्ड कसिएर उकुसमुकुस हुँदा छटपटी पनि बढ्दै गएको छ । ओली र देउवाबीच साना पार्टी फुटाउन ल्याउन खोजेको अध्यादेशमा केही मनमुटाव देखिँदा उत्साहित भएका प्रचण्ड फेरि अध्यादेश रोकिएपछि रनभुल्लमा परे ।
अहिले फेरि प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई लिएर ओली र देउवाको सम्बन्धमा चिसो आउन सक्ने आकलन गरिए पनि भ्रमणमा केही सम्झौता नगर्ने सत्तारुढ पार्टीबीच सहमति जुटेपछि प्रचण्डलाई अर्काे तनावले सताएको छ । प्रचण्ड जिल्ला जिल्ला पुगेर ओलीप्रति आगो ओकलिरहेका छन् । शनिबार पार्टीको कार्यक्रममा सहभागी हुन मकवानपुरको थाहा नगरपालिका पुगेका उनले त्यहाँ पनि ओलीको निन्दा गर्न पछि परेनन् । आफ्नो सरकार ढाल्ने भूमिकाका मुख्य नाइके नै ओलीलाई ठानेका प्रचण्डले आफूले गरेका राम्रा कामको जस ओलीले लिएको आरोप लगाउन भ्याए ।
प्रचण्डले गर्ने भाषणमा ओलीप्रतिको असन्तुष्टि मात्रै सुनिँदैन कि उनलाई राष्ट्रघातीकै रुपमा चित्रण गरिरहेका हुन्छन् । अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम(एसपीपी) लाई सैद्धान्तिक सहमति दिइसकेका ओलीले अब सम्झौता पनि गर्न सक्ने भन्दै प्रचण्डले आशङ्का व्यक्त गर्ने गरेका छन् । ओलीविरुद्ध गाली गलौजमा नै समय बिताइरहँदा उनले आफूले गर्नसक्ने काममा भने चुकिरहेका छन् ।
एक दिन सडक तताएर थन्किएका प्रचण्ड सरकारले रविको मुद्दामा प्रतिशोध साँधेको भन्न भ्याए पनि प्रतिपक्षीको कित्तालाई एकढिका बनाउने मुद्दाबाट पन्छिरहेका छन् । समाजावादी मोर्चालाई सक्रिय बनाउने लगायत साना कम्युनिस्ट पार्टीसँग माओवादी एकतासम्मका कदममा असफल भइरहेका प्रचण्ड अब फेरि नयाँ एजेण्डा थप्दै हिँड्न थालेका छन् । चुनाव र निर्वाचन प्रणाली नै निकै खर्चिलो भएको भन्दै प्रत्यक्ष कार्यकारी राष्ट्रपति चाहिने आवाज बुलन्द पार्न थालेका छन् ।
सरकारबाट बाहिरिएसँगै पार्टी सुदृढीकरणको मौका मिलेको प्रचण्डले बताउने गरे पनि व्यवहारमा देखिने गरी सुधारका काम गर्न सकेका छैनन् । केन्द्रमा आइतबार नै बस्ने भनिएको पदाधिकारी बैठक स्थगित गरेका प्रचण्डले एक दुई वटा स्थानीय तहमा पुगेर भाषण गरेकै भरमा हौसिँदै ७५३ वटै स्थानीय तहमा अधिवेशन गर्ने हाँक दिए । तर, सत्ताबाट छायाँमा र पार्टीबाट आफ्नै नेताहरूबाट चेपुवामा पर्दै गएका प्रचण्ड केही गर्न नसक्ने स्थितिमा पुगेको विश्लेषण हुन थालेको छ ।
ओली देउवाको मित्रताले प्रचण्डमा देखिएको सकस र आफैँले चालेका कमदमा पनि सफल हुन नसक्दा उनी रनभुल्लमा पर्नु उनकै लागि दुर्भाग्य हो । एमाले–कांग्रेसको सत्ता समीकरणमा केही टसमस नहुने दुई शीर्ष नेताकै अभिव्यक्तिले ओलीसँग बदलाको भाव बोकेर हिँडेका प्रचण्डलाई थप पीडा दिएको छ । जसो गरे पनि ओलीलाई तह लाउने उनको सबै रणनीति फेल खाँदा पछिल्लो समय प्रचण्डको दैनिकी भनेकै ओलीको खेदो खत्रु मात्रै बनेको छ ।
प्रतिक्रिया