अन्तर्राष्ट्रिय

हट्ला चीन–अमेरिका द्वन्द्व ? ट्रम्पले सीसँग बदला लेलान् कि दोस्ती ?


डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनसँगको सम्बन्धलाई लिएर सबैतिर चासो बढिरहेको छ । ट्रम्पले सन २०१६ देखि २०२० सम्मको आफ्नो अघिल्लो राष्ट्रपति कार्यकालमा चीनसँग कडा र प्रतिस्पर्धात्मक नीतिहरू अपनाएका थिए । जसले गर्दा राष्ट्रपतिमा पुनरागमन गरेका ट्रम्पको यो कार्यकालमा पनि चीनसँग तनावपूर्ण सम्बन्ध रहने सक्ने संकेत देखिएको छ ।

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उनको कार्यकालमा विश्व शक्ति राष्ट्रहरुसँगको सम्बन्ध कस्तो रहला भन्ने चासो बढ्न थालेको छ । विशेष गरी विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनसँगको सम्बन्धलाई लिएर विभिन्न आकलनहरु भइरहेका छन् । यसअघि सन २०१६ देखि २०२० सम्म ट्रम्प अमेरिकाको राष्ट्रपति भएका थिए । २०२० को चुनावमा उनी जो बाइडेनसँग पराजित भएका थिए भने हालै सम्पन्न निर्वाचनमा उनी भारी मतान्तरले विजयी हुँदै राष्ट्रपतिमा पुनरागमन गरेका हुन् ।


अघिल्लो कार्यकालमा चीनसँग कडा र प्रतिस्पर्धात्मक नीति लिएका उनले व्यापार युद्ध, कर नीतिहरू र आपूर्ति शृङ्खलामा हस्तक्षेप गरेका थिए । ट्रम्प पुनः निर्वाचित भएसँगै अमेरिकी विदेश नीतिमा परिवर्तन आउन सक्ने देखिएको छ ।

चुनावी अभियानका क्रममा ट्रम्पले आफ्नो नीतिमा ठुलो परिवर्तन हुने सङ्केत गरेका थिए । यसको असर प्रत्यक्षरुपमा चीनसँगको व्यापार तथा रणनीतिक कार्यमा पर्न सक्ने छ । ट्रम्पको पहिलो कार्यकालमा अमेरिका र चीनबीच व्यापार युद्धको सुरुवात भएको थियो। उनले चीनको व्यापार अभ्यासहरू, विशेष गरी बौद्धिक सम्पत्ति चोरी र व्यापार घाटा कम गर्नका लागि कडा कदम चाल्न सुरु गरेका थिए । ट्रम्प पुनः निर्वाचित भएसँगै चीनसँग व्यापार सम्बन्ध अझ कडा हुन सक्ने र नयाँ कस्टम शुल्कहरू वा प्रतिबन्धहरू लागू गर्न सक्ने सम्भावना देखिन्छ । ट्रम्पले चुनावी अभियानका क्रममा अमेरिकामा आयात हुने वस्तुमा उच्च कर लगाउने वाचा मतदाताबीच गरेका थिए । उनले चीनमा निर्मित वस्तुमा ६० प्रतिशतसम्म कर लगाउने बताएका छन् ।

यस्तै प्रविधि र सुरक्षाको विषयलाई लिएर पनि अमेरिका र चीनबीच केही खटपट हुन सक्ने आकलन गर्न सकिन्छ । अघिल्लो पटक ट्रम्प प्रशासनले चीनका टेक्नोलोजी कम्पनीहरू जस्तै हुवावे, टिकटक र अन्यलाई सुरक्षा जोखिमको कारण प्रतिबन्ध लगाएको थियो । यसलाई उनले जारी राख्न सक्ने सम्भावना छ । चीनसँगको प्रतिस्पर्धा, विशेष रूपमा फाइभ जी र कृत्रिम बौद्धिक्ता जस्ता उन्नत प्रविधिहरूमा, अझ तीव्र हुन सक्ने छ ।

ट्रम्पको विजयले चीनलाई प्रविधिको केन्द्रमा रूपान्तरण गर्ने सी जिनपिङको योजनामा बाधा पुग्ने देखिन्छ । त्यसले विश्वका दुई ठूला अर्थतन्त्रबीचको सम्बन्धलाई थप तनावपूर्ण बनाउन सक्ने छ ।
कोभिड महामारीपछि आवास व्यापारमा आएको व्यापक गिरावट, बढ्दो सरकारी ऋण, उच्च बेरोजगारी र उपभोग संस्कृतिमा आएको कमीले चीनको आर्थिक वृद्धिलाई सुस्त बनाइदिएको छ । कोभिडसम्बन्धी कडा प्रतिबन्धहरू दुई वर्षअघि हटाएपछि चिनियाँ अर्थतन्त्र महामारीपूर्वको स्तरमा फर्कन सङ्घर्ष गरिरहेको छ ।

यो अवस्थामा अमेरिकाको सत्तामा पुनः ट्रम्पको इन्ट्री भएको छ । दुई देशबीच भूराजनीतिक संघर्ष पनि चर्किन सक्ने देखिन्छ । चीनलाई रोक्न, बाइडेन प्रशासनले चीनका छिमेकी देशहरूसँग बलियो सुरक्षा सम्बन्ध निर्माण गर्ने नीतिलाई समर्थन गरेको थियो । अमेरिकाले ताइवानलाई सैन्य सहयोग गर्दै आएको छ । ट्रम्पको अघिल्लो कार्यकालमा विदेश नीतिमा चीनको बढ्दो प्रभावसँग तनाव देखिएको थियो ।

विशेष गरी दक्षिण चिनियाँ समुद्र, ताइवान र हङकङको मामिलामा । ट्रम्पको दोस्रो कार्यकालमा यी क्षेत्रहरूमा अझै बढी तनाव र संघर्ष देखा पर्न सक्ने छ । यदि उनले चीनसँग कडा र सशक्त दृष्टिकोण अपनाउने निर्णय गरे भने विशेष गरी ताइवानको विषयले दुई देशबीच निक्कै तिक्तता बढ्ने देखाउँछ । चीनले ताइवानलाई आफ्नो भूमिको रुपमा दाबी गर्दै आएको छ । चीनले ताइवान आफ्नो हिस्सा भएको र एक दिन चीनको मुख्य भूतिसँग विलय गरेरै छाड्ने जनाएको छ ।

यस्तै ट्रम्पले अघिल्लो कार्यकालमा अन्तर्राष्ट्रिय मामिलामा अमेरिकाको नेतृत्वलाई महत्व दिएका थिए । त्यसक्रममा उनले चीनलाई एक प्रतिस्पर्धी शक्ति भनेर देखाएका थिए । ट्रम्पको दोस्रो कार्यकालमा पनि चीनको अन्तर्राष्ट्रिय भूमिका र यसको विस्तारलाई रोक्नका लागि कडा कदमहरू चाल्न सक्ने छन् । जसले अमेरिका र चीनको बीचमा आर्थिक र कूटनीतिक द्वन्द्वलाई अझ तीव्र बनाउने सम्भावना छ । ट्रम्पको पुनरागमले अमेरिका र चीन बीचको सम्बन्धमा अस्थिरता र प्रतिस्पर्धात्मकता थप्ने सम्भावना छ । जसले दुई देशको व्यापार र कूटनीतिक सम्वन्धलाई एक कठिन मोडमा पुर्याउन नसक्ला भन्न सकिन्न ।