जबरजस्त ढंगले अफ्ठ्यारो परेको अवस्थामा पनि अमेरिकी नागरिकले सिनेटदेखि सबै ठाँउमा अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई उभ्याए । अबको ७३ दिन पछि उनै शक्तिशाली राष्ट्रपति ह्वाइ टहाउमा प्रवेश गर्ने तरखरमा रहेका बेला शक्ति राष्ट्रहरुसंग ट्रम्पको सम्बन्ध कस्तो होला ?
अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै विश्वको ध्यान खिचिएको छ । अमेरिकी नागरिकले सिनेटदेखि सबै ठाँउमा रिपब्लिकन उम्मेदवारलाई साथ दिँदै शक्तिमा विराजमान गराएका छन् । ट्रम्प विश्वको शक्तिशाली पदमा बस्दै गर्दा अब अन्य शक्ति राष्ट्रसंगको सम्बन्धलाई कसरी मिलाएर लैजान्छन् भन्ने प्रश्नले यतिबेला विश्व समुदायले नियाली रहेको छ ।
नम्बर १. चीन र अमेरिकाको सम्बन्ध
डोनाल्ड ट्रम्पको अघिल्लो कार्यकालमा विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनसँग उति सौहार्दपूर्ण सम्बन्ध बन्न सकेन । ट्रम्पको पहिलो कार्यकालमा चीन र अमेरिकाबीच तनावकै अवस्था थियो । ट्रम्पले विश्वभर फैलिएको कोरोना भाइरसलाई ‘चाइनिज भाइरस भन्दै गिज्याउने काम गरेका थिए । यस्तै ट्रम्पको कार्यकालमा चीनबाट अमेरिकामा आयात हुने सामानमा ६० प्रतिशतसम्म कर लगाउने नीतिले चीन रुष्ट बनेको थियो ।
जसले गर्दा दुई देशबीचको सम्बन्ध निकै नाजुक अवस्थामा पुगेको थियो । अघिल्लो कार्यकालमा सौहार्दपूर्ण सम्बन्ध कायम गर्न नसकेको चीनले अमेरिकाको राष्ट्रपतिमा ट्रम्पको पुनरागमनसँगै सम्बन्ध सुधारको संकेत गरेको छ । ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै चीनले सहकार्य गर्न सन्देश पठाएको छ । राष्ट्रपतिमा ट्रम्प विजयसँगै चीनका राष्ट्रपति सी जिनपिङले बेइजिङ र वासिङ्टनबीच सहकार्य गर्ने उपाय खोज्नुपर्ने बताउदै सन्देश पठाएका हुन् ।
यसलाई ट्रम्पको आगामी कार्यकालमा चीन र अमेरिकाबीच सम्बन्ध सुधारको प्रयासको संकेतको रुपमा बुझ्न सकिन्छ । यद्यपि, कार्यभार सम्हाल्ने दिनको पर्खाइमा रहेका ट्रम्पले चीनको सम्बन्ध सुधारका लागि कस्तो पहल कदमी लिन्छन् ? र कसरी अगाडि बढ्छन् भन्ने अहिले नै यसै भन्न सक्ने अवस्था छैन । ट्रम्प प्रशासनले आगामी दिनमा लिने निर्णय र नीतिले चीनसँगको सम्बन्ध कस्तो हुनेछ भन्ने निर्धारण हुने देखिन्छ ।
नम्बर २. रुस र अमेरिकाको सम्बन्ध
अहिले रुस र युक्रेनबीच युद्ध जारी छ । अमेरिकाले रुसलाई सत्रु सरह नै ठान्दै आएको छ । यता रुस विरुद्धको युद्धमा युक्रेनलाई सहयोग गर्दै आएको छ । अमेरिकाले युक्रेनलाई हतियारदेखि आर्थिक सहायता उपलब्ध गराउँदै आएको अवस्था छ । यसबीचमा राष्ट्रपतिमा निर्वाचित ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । यसले पनि रुस र अमेरिकाबीच ट्रम्पको आगमनसंगै सम्बन्ध थप सधार हुने देखिन्छ । रुससँग अमेरिकाले सम्बन्ध सुधारका लागि पहल गरेको अवस्थामा युक्रेनलाई दिँदै आएको सहायता रोकिन सक्ने सम्भावना रहेको विश्लेषण भइरहेको छ । साथै जारी युद्ध के हुन्छ भन्ने पनि चासो बढिरहेको छ ।
नम्बर ३. उत्तर कोरिया
बेलाबेला शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरेर विश्वलाई नै तर्साउने उत्तर कोरियाले पनि ट्रम्पको आगमनलाई स्वागत गरेको देखिन्छ । अघिल्लो कार्यकालमा ट्रम्प र किम जोङ उनसँग सिंगापुरमा पहिलो पटक शिखर वार्ता भएको थियो । उनीहरुले दोस्रो पटक भियतनाममासमेत भेटवार्ता गरेका थिए । अमेरिकाको राष्ट्रपतिमा ट्रम्पको पुनरागमनले उत्तर कोरियासँगको तनावपूर्ण सम्बन्धमा केही परिवर्तन हुन सक्ने अपेक्षा गरिएको छ ।
नम्बर ४. अफगानिस्तानको तालिवान सरकार
अफगानिस्तानको तालिबान सरकारको विदेश मन्त्रालयले सन्तुलित परराष्ट्र नीतिको आशा राख्दै आगामी अमेरिकी सरकारले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा ठोस प्रगति सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै तालिवानले सरकार सञ्चालन गरिरहेको छ । विगतको इतिहास हेर्ने हो भने तालिवानविरुद्ध युद्ध लडेको अमेरिकाले ट्रम्पको अबको कार्यकालमा उसँगको सम्बन्धलाई कसरी अगाडि बढाउँछ ? चासोका साथ हेरिएको छ ।
नम्बर ५. भारत
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पको ‘चुनावी विजय’ को प्रशंसा गरेका छन् । मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मेरो मित्र डोनाल्ड ट्रम्प तपाईंको ऐतिहासिक चुनावी विजयका लागि हार्दिक बधाई छ । यसले पनि ट्रम्पको आगमनसंगै मोदी निकै खुसी रहेको प्रष्ट देखिन्छ । बाइडेन प्रशासनसँग उति खुसी नरहेका मोदीले ट्रम्पको पुनरागमनमा देखाएको हार्दिकताले पनि उनी उत्साही रहेको देखाउँछ । बाइडेनको कार्यकालमा आन्तरिक दबाबमा रहेका मोदी र ट्रम्पबीचको आगामी सम्बन्ध कुन हदसम्म जम्छ त्यो भने हेर्न बाँकी छ ।
यद्यपि, ट्रम्पको पुनरागमनलाई लिएर विश्व समुदायले देखाएको उत्सुकता र चासोले भने निकट भविष्यमा विश्व राजनीतिमा देखा पर्ने प्रभावको संकेतहरु देखिन थालेको छ । विश्वमा जारी युद्ध रोक्न आफूले पहल गर्ने प्रतिबद्धता जनाइसकेका ट्रम्पले युद्ध अन्त्य गर्दैै शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यद्यपि, त्यसको नतिजा देखिन अझै केही समय कुर्नु पर्ने हुन्छ । ट्रम्पको पुनरागमनसँगै भइरहेका कतिपय विश्लेषण र टिप्पणी हतारो पनि हुन सक्छ ।
प्रतिक्रिया