Breaking

रवि थुनिदा बेहाल रास्वपा,न आन्दोलन चर्कायो न सभापति फर्कायो


राष्ट्रिय स्वतन्त्र पार्टी भनेकै रवि लामिछाने भन्ने भाष्यकाबीच उनकै हिरासत यात्राले अरु नेता जिम्मेवारीले थिचिएका छन् । एकातर्फ सभापतिलाई निकाल्न दवाव दिनुपर्ने अर्कातर्फ पार्टी गतिविधिमा उनको अभाव खड्किन दिन नहुने बाध्यतामा नेताहरु छन् । त्यसमा स्थानीय तहको उपनिर्वाचन र जिल्ला अधिवेशन जस्ता विषयले अझ चुनौती थपिदिएको छ ।


स्थापनाको छोटो समयमै राष्ट्रिय राजनीतिमा निर्णायक उपस्थिति जनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले चौतर्फी चुनौतीले घेरिएको छ । पार्टी भनेकै रवि लामिछाने भन्ने भाष्यकाबीच उनी सहकारी ठगी आरोपमा हिरासत पुगेपछि रास्वपालाई आफ्नो बाटो प्रष्ट गर्नुपर्ने बाध्यता बढेको हो । एकातर्फ सरकार रविलाई अधिकतम थुन्ने रणनीतिमा देखिन्छ भने त्यसका लागि बहानासमेत छ । यसले आत्तिएका रवि भित्रबाटै आफ्ना नेताहरुलाई सडकमा उतार्न निर्देशन दिइरहेका छन् । कुनै हालतमा आफू बाहिर निस्किएमात्र बाँकी कदम चाल्न सकिने बुझाइमा उनी देखिँदा बाहिर भने नागरिकले सडक आन्दोलनमा साथ दिनै छाडेका छन् ।

बरु रास्वपा नेताहरुकै बोली र व्यवहारका कारण आन्दोलनमाथि नै प्रश्न उठेको छ भने उनीहरुको संघर्षको कार्यक्रम फितलो बन्दै गएको छ । त्यस्तै पुरानैसँग साँठगाँठ गरेर रविलाई बाहिर ल्याउन सकिने उनीहरुको सपनामा समेत रवि र रास्वपा नेताहरुकै तितो बोलीले पानी खनिएको अवस्था छ । बरु उनीहरुको दोहोरो चरित्र योबीचमा बाहिर आउँदा रास्वपा र रवि फरक भएको सन्देश नदिए उनीसँगै पार्टी नै सती गएको भाष्य निर्माण हुने डर छ ।

यही कारण डा.स्वर्णिम वाग्ले,विराजभक्त श्रेष्ठ,मनिष झा जस्ता नेताहरु हच्किदा डोलप्रसाद अर्याल,दीपक बोहोरा र मौकाले सांसद भएकाहरुमात्रै आन्दोलन चर्काउनु पर्ने पक्षमा देखिन्छन् । जहाँ रवि हिरासत रहुन्जेल पार्टी नै सुस्त हुन नहुने भन्दै कार्यबाहक तोकिनुपर्नेसम्मको दवावमा समेत रास्वपा छ । यद्यपि नेतृत्व वाग्लेले हात पारे नयाँ शक्ति सङघर्ष हुने बुझेकै कारण रविले अर्याललाई नै सम्पूर्ण अधिकार दिएका छन् । उनले भनेकै विषयमा निर्णय हुने भन्दै भित्रैबाट रविले सर्कुलर जारी गर्दा रास्वपा संगठन भइसकेको प्रमाणित गर्न उनीहरुका लागि चुनौतीपूर्ण बन्दै छ ।

यसैबीच पहिले रविको दायाँ हात र अहिले कारबाहीमा परेका पूर्वमहामन्त्री डा.मुकुल ढकालनै रविविरुद्धका प्रमाण प्रहरीलाई उपलब्ध गराउन सक्ने बताउँदै आएका छन् । अर्थात लामिछाने जेल गएपछि आफूले उठाउँदै आएको कुरा सत्य प्रमाणित भई मुद्दाको हिसाबले आफ्नो जित हुने र अन्य नेताहरूसँग पनि आफूलाई स्विकार्नुको विकल्प नहुने उनी बताउँछन्। यसले यो सत्ता ढलाएर रास्वपा निर्णायक हुने अवस्था सिर्जना नहुन्जेल रविको दाल नगल्ने पक्का भइसकेको छ ।

त्यस्तै पहिलोचोटि स्थानीय तहको निर्वाचनमा होमिदै गरेको रास्वपाले यो उपनिर्वाचनमा आफ्नो शक्ति देखाउनुपर्ने छ । जहाँ सभापति पक्राउको विषयलाई उसले कतिको मुद्दा बनाउसक्छ परीक्षणको घडीमा छ । अर्थात यसै ओरालो यात्रामा रहेको रास्वपाले स्थानीय तहमा पनि इलाम २ कै हालत बेहोरे अर्को सकस थपिने छ ।

यता रवि पक्राउ कै कारण जिल्ला भेलाहरु भएका छैनन् । आगामी वैशाखामा महाधिवेशनको तयारीमा रास्वपा रहँदा असोजभित्र जिल्ला तदर्थ समिति बनाउने निर्णय राष्ट्रिय भेलालेलिएको थियो । त्यस्तै पालिका अधिवेशन कात्तिकबाट सुरु गरेर पाँच महिनाभित्र (फागुनसम्म) सक्ने , जिल्ला अधिवेशन चैतभित्र गर्ने, प्रदेश र केन्द्रको महाधिवेशन २०८२ बैशाखमा गर्ने गरी रास्वपाले निर्णय लिएको छ । तर यी सबै कार्यक्रम अहिले प्रभावित बन्दा पार्टी कसरी अगाडि बढाउने भन्नेमा उपसभापतिदेखि अरु जिम्मेवार नेता अलमलमा छन् ।

मुख्य कुरा त तल्लो तहबाटै आफू अनुकूल नबनाए नेतृत्वबाटै हात धुनुपर्ने प्रवृत्ति नेपाली राजनीतिमा नौलो होइन । यही कारण रवि हिरासतमा छउन्जेल संगठनका कुनै काम भए आफूलाई घातक हुनसक्ने उनी पक्षीय नेताहरुको बुझाइ देखिन्छ । यतिबेला केवल आफ्नो रिहाइमा पार्टीको सम्पूर्ण शक्ति परिचालन हुनुपर्ने रविको अपेक्षा रहँदा त्यसैमा समेत नेताहरु सफल नहुँदा न सभापति न पार्टीको हालतमा रास्वपा पुग्दै छ । जहाँ प्रचलन अनुसार अन्तिम वा पुस पहिलो साता हिउँदे अधिवेशन आह्वान गर्ने गरिन्छ । त्यसमा समेत खरो प्रतिपक्षका रुपमा उत्रिनुपर्ने अर्को चुनौतीका लागि रास्वपा तयार हुन जरुरी छ । जसले रास्वपाको भविष्य मात्रै नभई यो पार्टी हो कि कसैको क्लबकै हैसियतमा छ भन्नेसमेत प्रमाणित हुनेछ ।