Breaking

विमानस्थलको सास्ती, टिकटमा कालोबजारी, दिल्लीबाट उड्न बाध्य


त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलबाट अब १४ घण्टामात्रै सेवा सञ्चालन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावन मार्ग स्तरोत्रति गर्न भन्दै दैनिक १० घण्टा विमानस्थल बन्द हुने जनाएको हो । विमानस्थल बन्द भएसँगै हवाई उडानको संख्यामा पनि कटौती हुँदा विदेश जाने र स्वदेश फर्किने नेपाली त्यसको मारमा परेका छन् ।

देशकै जेठो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार रातिदेखि दैनिक १० घण्टा बन्द हुँदै छ । ७४ वर्षदेखि सञ्चालनमा रहँदै आएको विमानस्थलको रन–वे र ट्याक्सी–वे विस्तारका लागि अब विमानस्थल राति १० देखि बिहान ८ बजेसम्म बन्द हुने भएको हो । यसअघि दैनिक २० घण्टा नियमित सञ्चालन हुँदै आएको विमानस्थल कात्र्तिक २३ देखि चैत १८ सम्म पाँचमहिना बन्द हुने भएपछि टीआईएबाट हुने हवाईं उडानमा पनि ३० प्रतिशत कटौती भएको छ ।

शरदकालीन सिजनमा हप्तामा चार सय १० वटा उडान हुँदै आएकोमा अहिले दुई सय ८७ वटामा झारिएको छ भने आन्तरिकतर्फ आगमन र प्रस्थान गरि दुई सय ३० राखिएको छ । आन्तरिक तर्फ यसअघि दैनिक तीन सय ५६ वटा उडान हुँदै आएको थियो । प्राधिकरणले उडानमा पनि कटौती गर्दा वैदेशिक रोजगारमा जाने नेपाली श्रमिक भने यसको प्रत्यक्ष मारमा परेका छन् । उडान संख्या नै कम भइसकेपछि वायुसेवा कम्पनीहरूले दोब्बर भन्दा बढी भाडादर वृद्धि गरेका छन् ।

नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुकहरु दुबई, कतार, साउदी अरेबिया, कुवेत, मलेसियालगायतको हवाई भाडा ८० हजार देखि एक लाखसम्म महङ्गिएको छ । जब कि पहिले ३० देखि ४५ हजारसम्म लिने गरिएको थियो । त्यस्तै १० देखि १५ हजारमा पुगिने डेढ घण्टाको दूरीमा रहेको काठमाडौंदेखि दिल्लीसम्मको भाडा नै ४० हजार तोकिएको छ । यसो हुनुको मुख्य कारण विमानस्थलको धावनमार्गलगायतका संरचना स्तरोन्नति गर्न १० घण्टासम्म सेवा बन्द हुनु नै हो । विमानस्थलको २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि गरी विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्न प्राधिकरण जुटिसकेको छ ।

नेपालमा टीआईए बाहेकका पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल छन् । तर, ती विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन सकेको छैन । घुमाउरो शैलीमा यी दुई विमानस्थललाई नै सदुपयोगमा ल्याउने मुडमा प्राधिकरण देखिँदा विदेशी विमान कम्पनी भने भारतको नयाँ दिल्लीलाई नै विकल्प रोज्न अग्रसर देखिएका छन् ।

यसको चेपुवामा दैनिक एक हजार पाँच सयको हाराहारीमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक परेका छन् । वैदेशिक रोजगार ऐन–२०६४ को दफा २२ (१) मा इजाजतपत्रवालाले वैदेशिक रोजगारीका लागि कामदार पठाउँदा स्वदेशी विमानस्थल प्रयोग गरी पठाउनु पर्ने व्यवस्था गरिएको छ । स्वदेशी विमानस्थलबाट कामदार पठाउन हवाई जहाजको टिकट नभएको जस्ता कारण देखाइ विदेशी विमानस्थल प्रयोग गरी कामदार पठाउन परेमा विभागको स्वीकृति लिनु पर्ने उल्लेख छ ।

विमास्थल बन्द पछि उडानमा भएको कटौती र त्यसको प्रभाव भाडा दरमा पर्दा श्रमिकहरू मात्रै चेपुवामा परेका छैनन् । पर्यटकका लागि मुख्य सिजन मानिने यो समय पर्यटन क्षेत्रमा पनि असर पर्ने छ । नेपालमा महङ्गिएको भाडादरले पर्यटकहरूको गन्तव्यसमेत फेरिने सम्भावना उच्च छ । साथै पाँच महिनासम्म विमानस्थल बन्द हुँदा करिब २ अर्ब नोक्शान पर्ने छ । सरकारले चालेको कदमले आउन सक्ने समस्यालाई नजरअन्दाज गर्दा विमानस्थलसँग जोडिएका हरेक क्षेत्र प्रभावित बन्ने छन् । यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल थप अस्तव्यस्त बन्ने खतरा पैदा भएको छ ।