Breaking

भारतीयलाई विस्थापित गर्दै नेपाली चलचित्र, पूर्णबहादुरको रेकर्ड


यस वर्षको दसैं र तिहारको मौका छोपेर प्रर्दशन गरिएका सबै जसो नेपाली चलचित्र हिट भए । नयाँ कलाकारको उदयदेखि ठूलो पर्दामा सहायक भूमिकामा चित्त बुझाउँदै आएका उम्दा कलाकारहरुको मुख्य भूमिका दर्शकको आकर्षणमा प¥यो । परिणामतः यो वर्षको दसैं–तिहार सिंगो नेपाली चलचित्र उद्योगका लागि सुखद बन्यो ।

तिहारको छेको पारेर प्रदर्शनमा आएको सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ घरेलु बक्स अफिसमा सुपर हिट सावित भइसकेको छ । विदेशी ठुला ब्यानर, यसअघि नै जबरजस्त दर्शकको साथ पाएको भारतीय सिक्वल फिल्म अजय देवगनको सिंघम अगेन, कार्तिक आर्यन, विद्या बालन, माधुरी दीक्षित लगायत चर्चित बलिउड हस्तीहरु अभिनित भुलभुलैया ३ लाई समेत उछिन्दै ठुलो पर्दामा पहिलो पटक मुख्य भूमिकामा प्रस्तुत भएका विजय बरालको ‘पूर्णबहादुरको सारङ्गी’ ले नेपाल सिनेमा हलमा तहल्का नै पिटेको छ ।

सरोज पौडेलले निर्देशन गरेको चलचित्रले अप्रत्याशित रूपमा दर्शकको मन जितिरहेको छ । ‘पूर्णबहादुरको सारङ्गी’ करोड क्लबमा अटाई सकेको छ भने अझै हाउसफुल व्यापार गरिरहेको छ । कात्तिक १५ गते लक्ष्मीपूजाको दिन प्रदर्शनमा आएको यस चलचित्रले सुरुवातमा दुईदेखि ३ वटा शो मात्रै पाएको थियो । तर, प्रदर्शनको आठौँ दिनसम्म आइपुग्दा एफक्युब सिनेमा, आईएनआई सिनेमाले अहिले ९ वटा शो दिएको छ । क्यूएफएक्सले चार वटा मात्र शो दिएको छ तर सबै हाउसफुल छन् । अन्य शो भने दसैंको फूलपातीदेखि नै प्रदर्शनमा आएका ‘१२ गाउँ’ र ‘छक्क पञ्जा ५’ ले क्याप्चर गरेका छन् ।

सम्भवत नेपाली चलचित्रको इतिहासमा पहिलो पटक दसैंमा प्रदर्शनमा आएको चलचित्रले तिहारसम्मै तहल्का पिट्न सफल भएको । ‘१२ गाउँ’ र ‘छक्का पञ्जा पाँच’ नै प्रर्दशन भइरहेका बेला तिहारमा प्रर्दशन भएका हिन्दी चलचित्र ‘सिंघम अगेन’ र ‘भुलभुलै ३’ हाबी हुने डरकाबीच १२ गाउँ र छक्का पञ्जा पाँचले कायम गरेको वर्चश्वलाई पूर्णबहादुरको सारङ्गीले पनि डगमगाउन दिएन ।
यो वर्षको चाडपर्व नेपाली चलचित्र उद्योगका लागि व्यापारिक हिसाबले स्वत उत्साहपूर्ण रह्यो भने चलचित्रकर्मीलाई पनि उत्तिकै हौसाएको छ । कोरोना महामारीपछि सुस्त बनेको सिने क्षेत्रमा यस वर्षको दसैं–तिहारले सकारात्मक हलचल पैदा गर्न सफल भयो । १२ गाउँमार्फत समिर भट्टको जबरजस्त उदय र पूर्णबहादुरको सारङगीबाट गायक प्रकाश सपुतले ठूलो पर्दामा अभिनेताको रुपमा डेब्यु गरे । उम्दा कलाकारको छवि बनाएका तर ठुलो पर्दामा सधंै सहायक भूमिकामा सीमित रहेका कलाकार विजय बराल र जितु नेपालले आफ्नो करिअरमा इतिहास रच्न सफल भएका छन् । ‘ज्वाइँ साब’मार्फत जितु नेपालले आफूलाई अब्बल कलाकार ठहर गर्दा पूर्णबहादुरको सारङ्गीमार्फत विजय बरालले अभिनय क्षेत्रमा फड्को मार्न सफल भए । पूर्णबहादुरको सारङ्गीलाई चलचित्र करिअरको टर्निङ प्वाइन्ट मानेका बराल दर्शकको मायाले दंग छन् ।

छक्का पञ्जाबाट निर्देशन यात्रा थालेकी दिपाश्री निरौलादेखि पहिलो पटक निर्देशनमा पाइला चालेका विराज भट्ट निर्देशकको रुपमा स्थापित हुन सफल भएका छन् । दसैं तिहारमा नेपाली चलचित्रले पाएको दर्शकको मायाले उत्साहित सिने क्षेत्रले लगत्तै अभिनेत्री निता ढुङ्गाना र अभिनेता हरिहर अधिकारीको ह्रस्व दीर्घले टिजर सार्वजनिक गरेको छ । हाई प्रोफाइल दक्षिण भारतीय कलाकारहरूको समेत अभिनय रहेको यस चलचित्रले आफ्नो रिलिज मिति कार्तिक ३० लाई तोकिएको छ । दक्षिण भारतीय फिल्मका उम्दा कलाकारको अभिनय रहेको फिल्मको टिजरले साउथ फिल्मकै फ्लेभर दिन खोजेको छ । दुई वर्ष लगाएर चलचित्र बनाएको र कडा मेहनत गरेकाले यस चलचित्रले पनि दर्शक उत्साहजनक साथ पाउने निर्माण टोलीको अपेक्षा छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेलको संवाद र हरिहरकै पटकथा रहेको चलचित्रलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यस चलचित्रमा नेपाली चर्चित अभिनेत्रीहरु रेखा थापा, विपना थापा र सञ्चिता लुइँटेलको समेत अभिनय रहेको छ । दसंै तिहारमा विदेशी चलचित्रलाई विस्थापित गर्दै हल कब्जा गर्न सफल नेपाली चलचित्रको साख ह्रस्व दीर्घले कायम राख्छ वा हल्लामै सीमित हुन्छ ? त्यो भने परीक्षाको रुपमा रहेको छ ।

हलमा मात्र नभई ओटीटीमासमेत नेपाली चलचित्रहरु हिट बनिरहेका छन् । ओटीटीमा रिलिज भएको १० दिनमा निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर ‘बेहुली फ्रम मेघौली’ दर्शकको रोजाईमा परिरहेको छ । यसैबीच, यही चलचित्रका कारण निश्चल बस्नेत र अभिनेता दीपकराज गिरीबीचको सम्बन्ध शत्रुतामा परिणत भएको थियो । जसका कारण उनीहरुबीच फेसबुक वार चलिरहेको छ भने ओटीटीमा रिलिज भएको मेघौली फ्रम बेहुलीलाई दर्शक तान्न थप मद्दत मिलेकै छ । समग्रमा यो वर्षको दसैं तिहार नेपाली चलचित्र उद्योगका लागि सुखद बन्यो ।

नेपाली दर्शकले नेपाली चलचित्र हेर्दैनन् भन्ने भाष्यलाई गलत सावित गरिदिएका छन् । चलचित्रको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुतिसँगै राम्रो मेकिङ भएका चलचित्र आएमा नेपाली दर्शकले जस्तोसुकै विदेशी चलचित्र आए पनि नेपाली चलचित्र नै हेर्छन् र मन पराउँछन् भन्ने गतिलो उदाहरण पनि प्रस्तुत गरेका छन् । यो साखलाई जोगाइराख्न आगामी दिनमा नेपाली चलचित्र उद्योगका लागि कम चुनौतीपूर्ण छैन ।