Breaking

सिंहदरबारदेखि हिमालसम्मै लामखुट्टेको हैरानी, अर्को वर्ष महामारी फैलिने शेरबहादुर पुनको भनाइ


नेपालमा डेंगु सक्रमितको सङ्ख्या बढ्दो छ । अहिलेसम्म ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको छ भने गण्डकी प्रदेशमा मात्रै ५० प्रतिशत बढी संक्रमित फेला परेको सरकारको तथ्याङक छ ।

नेपालमा डेंगुको संक्रमण वर्षेनी बढ्दै गइरहेको छ । सरकारले नियन्त्रणका लागि अभियाननै चलाए पनि संक्रमण दर बढ्दो छ । अहिलेसम्म ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको छ भने गण्डकी प्रदेशमा मात्रै ५० प्रतिशत बढी संक्रमित फेला परेको सरकारको तथ्याङक छ । विगतको तथ्यांकका आधारमा हेर्दा वर्षेनी डेंगु संक्रमण बढिरहेको चिकित्सकहरुको दाबी छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्ने हो भने गत वर्षको तुलनामा यस वर्ष हरेक महिना कम संख्यामा संक्रमित फेला परेका छन् । तर संक्रमणको जोखिम भने कम नरहेको सरकारले बताएको छ ।

गत वर्षको जनवरी महिना यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको रिपोर्टअनुसार २८ हजार २१२ जनालाई डेंगु संक्रमण भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले प्रत्येक आउट ब्रेकसँगै थप कडा रुपमा डेंगु सक्रमण बढेको बताएका छन् । उनले आगामी वर्षहरु चुनौतिपूर्ण रहेकाले डेंगुलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् ।

डेंगुले यस वर्ष तनहुँमा आउट ब्रेक नै गरेको छ । काठमाडौं, तनहुँ, पर्वत, ललितपुर चितवन जिल्ला डेंगुबाट बढी प्रभावित भएका जिल्लाहरु हुन् । गण्डकी प्रदेशमा देशभर देखिएको डेंगुका केसहरुमध्ये ५० प्रतिशत केस फेला परेका छन् । अहिलेसम्म हुम्ला बाहेकका सबै जिल्लामा डेंगु फैलिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ । त्यस्तै डेंगु लागेका १२ जनाको पनि गत जनवरी यता मृत्यु भएको छ । डेंगुले सताइरहँदा समेत आम सर्वसाधारणले भने चासो दिएर हेरचाहमा ध्यान नदिएको चिकित्सकको गुनासो छ ।

४० औं हप्ताको गणना र तथ्यांकलाई आधार मानेर हेर्दा गत वर्षको तुलनामा कम केस दर्ता भएका छन् । यद्यपि, डेंगुको जोखिम उच्च रहेको चिकित्सकहरुको भनाइ छ । अक्टुबर महिनामा मात्रै ९ हजार ६६६ संक्रमित फेला परेको सरकारी तथ्याङक छ ।

पछिल्लो समय संक्रमण दर गण्डकी प्रदेशमा बढी छ । यसपछि वागमती, कोशी र अरु प्रदेशमा अलि कम देखिन्छ । यसको प्रभावमा दीर्घरोगीहरु परेको पाइन्छ । संक्रमण हुनबाट बच्न पानीका ट्याङ्की, ड्रम, गाग्री, बाल्टिन जस्ता सामग्रीलाई लामखुट्टे छिर्न नपाउने गरी छाप्नुपर्ने, शरीर ढाक्ने कपडा लगाउनुपर्ने, चिकित्सकको सुझाव छ ।