अमेरिकाको राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको जितेसंगै अब विश्वभर चर्की रहेको युद्ध के हुन्छ भन्ने विश्लेषण सुरु भएको छ । दोस्रो पटक जर्बजस्तरुपमा विश्व शक्ति राष्ट्र अमेरिकाको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका ट्रम्पले बारम्बर युद्ध अन्त्य गर्ने बताउँदै आएका छन् । तर ट्रम्पको आगमनसंगै विश्व शक्ति राष्ट्रहरुले आ–आफ्नो प्रतिक्रिया दिएका छन् ।
विश्व शक्ति राष्ट्र अमेरिकामा हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा अमेरिकाको ४७ औँ राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न दोस्रो पटक डोनाल्ड ट्रम्प चुनिएका छन् । राष्ट्रपतिमा निर्वाचित भएसँगै ट्रम्पले नयाँ रेकर्ड बनाएका छन् । उनले १३२ वर्षपछि नयाँ रेकर्ड बनाएका हुन् । राष्ट्रपति निर्वाचनमा एकपटक पराजित भएपछि प्रायः ती राजनीतिज्ञले अर्को पटक उम्मेदवार बन्ने प्रयास गर्दैनन् । यसअघि १३२ वर्ष पहिले सन् १८९२ मा ग्रोभर क्लिभल्यान्डले यस्तो रेकर्ड बनाएका थिए । यसपटक ट्रम्पले क्लिभल्यान्डको कीर्तिमान राखेका हुन् । यो कीर्तिमानसँगै उनलाई चुनौतीहरु पनि उतिकै थपिएको छ । निर्वाचन अघि भाषणहरुमा बारम्बार युद्ध रोक्ने बाचा गरेका ट्रम्लाई थप चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । ट्रम्पको विजयसँगै चीनका राष्ट्रपति सी चिनपिङले बेइजिङ र वासिङ्टनबीच सहकार्य गर्ने उपाय खोज्नुपर्ने बताएका छन् । ट्रम्पलाई पठाएको सन्देशमा राष्ट्रपति सीले सो कुरा बताएका हुन् ।
हालैका वर्षहरूमा व्यापारदेखि ताइवानबारे दुई देशको अडानका कारण अमेरिका र चीनबीचको सम्बन्धमा समस्या उत्पन्न भएको छ । निर्वाचनको प्रचार अभियानका क्रममा ट्रम्पले बेइजिङसँग कडा कदम चाल्ने नारा दिएका थिए । ट्रम्पले अमेरिका प्रवेश गर्ने सबै चिनियाँ सामानमा ६० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । त्यस्तै युरोपेली संघकी प्रमुख उर्सुला भोन डेर लेयेनले ट्रम्पलाई बधाई दिँदै मिलेर काम गर्ने आशा व्यक्त गरेकी छन् । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले आगामी चार वर्षसम्म सम्मान र महत्वाकांक्षाका साथ काम गर्न तयार रहेको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पको ‘चुनावी विजय’को प्रशंसा गर्दै सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मेरो मित्र डोनाल्ड ट्रम्प तपाईंको ऐतिहासिक चुनावी विजयका लागि हार्दिक बधाई छ ।
त्यसैगरी, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘प्रभावशाली विजय’ का लागि बधाई दिँदै आफ्नो कार्यकालले युक्रेनमा न्यायोचित शान्ति ल्याउने विश्वास व्यक्त गरेका छन् । रुस र युक्रेनबीच जारी युद्धको भविष्यलाई पनि ट्रम्पको आगमनसँग जोडेर हेर्न थालिएको छ । यद्यपि, ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच यसअघि कायम सौहार्द सम्बन्धका कारण अमेरिका अब जेलेन्स्कीको पक्षमा उभिन्छ या पुटिनको समर्थनमा लाग्छ ?
यो भने अहिले नै निश्चित नभए पनि दुवै पक्षको विभाजित धारणा र विश्लेणहरु भने आइरहेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई पूर्वअमेरिकी नेताका लागि ऐतिहासिक पुनरागमन र अमेरिका–इजरायल गठबन्धनको नयाँ सुरुवात भएको बताएका छन् । ट्रम्प निर्वाचित भएपछि इरानले पनि प्रतिक्रिया दिएको छ । इरान सरकारका प्रवक्ता फतेमेह मोहजेरानीले ट्रम्पको विजयले इरानलाई कुनै फरक नपर्ने टिप्पणी गरेका छन् । इरान र इजरायलबीच अहिले तनाव छ । सन् २०१६ मा डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकासँगको इरानको आणविक सम्झौता अन्त्य गरेका थिए । यसैबीच ट्रम्प निर्वाचित भएसँगै यसको सिधा प्रभाव इरानमाथि परेको छ । बुधबार इरानी मुद्रा रियालको विनिमय दर अहिलेसम्मकै तल झरेको छ ।
यसबाट ट्रम्प राष्ट्रपति बनेलगत्तै इरानको समस्या झन बढ्ने संकेत गरेको छ । आर्थिक रुपमा समेत दबाबमा रहेको इरानलाई छाड्न नहुने भनेर ट्रम्पले दिएको अभिव्यक्तिले समेत यसमा भूमिका खेलेको देखिन्छ । विश्वका केही स्थानमा युद्ध र अनिश्चिता छाइरहेको अवस्थामा ट्रम्पको विदेश नीतिमा ठूलो परिवर्तन आउन सक्ने र त्यसले ती देशहरुमा चिन्ता बढ्ने आकलन भइरहेको छ । चुनावी अभियानकै क्रममा ट्रम्पले आफ्नो नीतिमा व्यापक परिवर्तनको संकेत गरेका थिए । यता इजरायली प्रधानमन्त्री नेतान्याहुले ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिँदै सबैभन्दा धेरै तारिफ गरेका छन् । यसो हुनुको पछाडि हमास, हिजबुल्लाहलगायतका विद्रोही समूहका साथै तिनीहरुलाई सहयोग गरिरहेको इरानविरुद्धको युद्धमा अमेरिकाले गरिरहेको सहयोगलाई निरन्तरता दिन नेतान्याहुले ट्रम्पलाई रिझाउन चाहेको भित्री चाहना लुकेको देख्न सकिन्छ । इरानलाई त्यसै छाड्न नहुने ट्रम्पको अभिव्यक्ति र इरानविरुद्ध लडाइँ छेडिरहेका नेतान्याहुबीच समान धारणा हुनुले ट्रम्पको आगमनले इरानलाई थप समस्यामा पार्ने निश्चित जस्तै देखिन्छ । यता प्यालेस्टिनी प्राधिकरणका प्रमुख महमुद अब्बासले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकामा डोनाल्ड ट्रम्पलाई बधाई दिँदै सफलताको कामना गरेका छन् । अब्बासले यस क्षेत्रमा शान्ति र सुरक्षाका लागि ट्रम्पसँग काम गर्ने आशा व्यक्त गरेका छन् । ट्रम्पको आगमनसंगै विश्व समुदायले विश्वमा जारी युद्ध अन्त्य हुने आशा लिएका छन् । यद्यपि, केही देशविरुद्ध ट्रम्प प्रशासनले चाल्ने रणनीतिका कारण विश्वमा जारी युद्ध सहज रुपमै अन्त्य हुनेमा भने विश्वस्त हुने सक्ने अवस्था छैन ।
प्रतिक्रिया