काठमाडौँ – काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द गर्न लागिएको छ ।
धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वेलगायत काम गर्नुपर्ने भएकाले आजदेखि पाँच महिनासम्म दैनिक १० घण्टासम्म विमानस्थल बन्द गर्न लागिएको हो ।
विमानस्थल कार्यालयका अनुसार २३ कात्तिकदेखि १८ चैतसम्म राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल बन्द हुने छ । हाल काठमाडौं विमानस्थल बिहान ६ बजेदेखि राति २ बजेसम्म खुल्ने गरेको छ ।
गर्मीयाममा काम गर्न नसकिने, त्यसैबेला वर्षा पनि हुने भएकाले अहिले कात्तिक महिनादेखि नै विमानस्थल स्तरोन्नतीको काम सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।
इन्जिनियर अधिकारीका अनुसार रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउन लागिएको हो ।
प्राधिकरणका अनुसार तीन निर्माण व्यवसायीले धावनमार्गको उतर–दक्षिणतर्फ जोडिएका चारवटा ट्याक्सी–वे भत्काउने, पुनर्निर्माण गर्ने, धावनमार्गसँग जोड्ने, स्तरोन्नति गर्ने, नयाँ एप्रोनसँग जोड्नेलगायत काम गर्नेछन् । विमानस्थलको गुरुयोजनाअनुसार स्तरोन्नतिका लागि हाल १५ अर्ब रुपैयाँ लागतमा तीनवटा फरक–फरक विदेशी निर्माण व्यवसायीहरूले काम गर्दै आएका छन् ।
प्रतिक्रिया