Uncategorized

कांग्रेसले टुंग्यायो ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवार


काठमाडौँ – मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेस मोरङ संसदीय समितिको बैठकले सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बिहीबार बसेको समितिको बैठकले पालिकाको अध्यक्षमा सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका जिल्ला उपसभापति भक्तिनाथ माझीले जानकारी दिए ।

टिकटको टुंगो लगाउन कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूको संयोजकत्वमा १३ सदस्यीय संसदीय समिति बनाइएको थियो । अध्यक्षका लागि १३ जना आकांक्षी थिए ।
माओवादी केन्द्रले भने यसअघि नै पूर्ववडाध्यक्ष नमोनारायण माझीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । माझी कांग्रेस छाडेर माओवादी प्रवेश गरेका हुन् । नेकपा एमालेले भने उम्मेदवारको टुङ्गो लगाएको छैन ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार ग्रामथानको अध्यक्ष निर्वाचिन भएका थिए । गत असार ३ गते उनको निधन भएको थियो ।