अन्तर्राष्ट्रिय

ट्रम्पको उदयले विश्वमा उथलपुथल ? मोदी थप शक्तिशाली बन्ने संकेत, नेपालमा कस्तो प्रभाव ?


काठमाडौँ— अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जबरदस्त पुनरागमनले विश्व समुदायको ध्यान खिचेको छ । विश्व शक्ति राष्ट्र अमेरिकामा ट्रम्पको आगामी कार्यकालको निर्णयले विश्वकै भूराजनीतिदेखि व्यापारसम्ममा प्रभाव पार्नेछ । ट्रम्पको पुनरागमनपछि कुन क्षेत्रमा कस्तो प्रभाव पर्न सक्छ त ?

डोनाल्ड ट्रम्प पुनः अमेरिकाको शक्तिशाली राष्ट्रपतिका रुपमा उदाएका छन् । सन् २०१६ मा हिलारी क्लिन्टनलाई पराजित गरे पनि लोकप्रिय मत गुमाएका ट्रम्पले यसपटक भने लोकप्रिय मतसहित चुनाव जितेका छन् । यतिमात्र नभई त्यहाँको सिनेटमासमेत ट्रम्पको दल रिपब्लिकनले बहुमत ल्याएको छ । यसले महत्वपूर्ण नियुक्तिको अनुमोदन र बाह्य मुलुकसँग गरिने सन्धि सम्झौताको अनुुमोदनमा ट्रम्पलाई सहजता थप्नेछ । यतिमात्र नभई ट्रम्पले १३२ वर्ष पुरानो इतिहास दोहो¥याएका छन् । ट्रम्प एक कार्यकालको ग्यापमा फेरि राष्ट्रपति बनेका हुन् । यसअघि सन् १८९२ मा राष्ट्रपति बनेका ग्रोभर क्लिभलेन्डले यस्तो रेकर्ड बनाएका थिए । जितसँगै ट्रम्पले एक सम्बोधका क्रममा अब अमेरिकामा स्वर्ण युग सुरु हुने बताएका छन् ।
प्रत्येक नागरिक, म यहाँहरुका लागि, यहाँहरुको परिवार र यहाँहरुको भविष्यको लागि लड्नेछु । हरेक दिन म यहाँहरुकै लागि लागि लडिरहनेछु । मेरो हरेक सास यहाँहरुका लागि लड्नेछु । बलियो, सुरक्षित र समृद्ध अमेरिका नबनाएसम्म आराम लिने छैन । यहाँका बच्चाहरू योग्य छन् । तपाईंहरु योग्य हुनुहुन्छ । यो साँच्चै अमेरिकाको स्वर्ण युग हुनेछ । अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ । ज्ञ।द्धट(द्दस्ज्ञघ
ट्रम्पको जितसँगै विश्व राजनीतिका विभिन्न पक्षमा पार्ने प्रभावबारे समेत चासो बढेको छ ।
मध्यपूर्व र रुस–युक्रेन युद्ध
ट्रम्पको जितसँगै मध्यपूर्व र रुस युक्रेनबीच जारी युद्ध के हुन्छ भन्ने चासो बढेको छ । चुनावी अभियानका क्रममा ट्रम्पले २४ घण्टाभित्र रुस–युक्रेन युद्ध अन्त्य गर्ने घोषणा गरेका थिए । त्यस क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गरेका ट्रम्पले कसरी युद्ध रोक्ने भन्नेबारे केही खुलाएका त थिएनन् । तर वर्तमान राष्ट्रपति जो बाइडेनको आडमा युद्ध लडिरहेको युक्रेन र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ठूलो धक्का खाने देखिन्छ । यसले युक्रेनको विवादित भूमि रुसलाई नै सुम्पिन दबाब दिने चिन्ता बढाएको छ । ट्रम्पले इजरायललाई निरन्तर समर्थन राख्ने छन् । तर, हमासविरुद्ध सुरु गरेको आक्रमणको विपक्षमा रहेका कारण समर्थन इजरायलकै गरे पनि युद्ध अन्त्य हुनसक्ने अपेक्षा गरिएको छ । यही अपेक्षाकै कारण मुस्लिम समुदायको भोटसमेत ट्रम्पले पाएको विश्लेषणकाबीच मध्यपूर्व शान्त बन्न सक्ने अपेक्षा गर्न सकिन्छ । जितपछि ट्रम्प स्वयंले कुनै युद्ध नहुनेमा आश्वस्त पारेका छन् ।

(यो थाहा छ । हामीसँग कुनै युद्ध छैन, चार वर्ष, हामीले कुनै युद्धको अपेक्षा गरेका थिएनौं । हामीले आईएसलाई पराजित गर्यौं र हामीसँग कुनै युद्ध थिएन । उनीहरूले युद्ध सुरु गर्ने बताए । म युद्ध सुरु गर्दिनँ । म युद्धहरू रोक्न जाँदैछु, यो लोकतन्त्र र स्वतन्त्रताका लागि ठूलो विजय पनि हो।)
आप्रवासन नीतिमा प्रभाव
निर्वाचनअघि दुबै उम्मेदवारले आप्रवासन नीतिलाई समेत ठूलो मुद्दा बनाएका थिए । ट्रम्पको जितले कानुनी आप्रवासनमा समेत असर पर्न सक्नेछ । वार्षिक आप्रवासन कोटा घटाउने र विदेशी नागरिक अमेरिकामा बस्न पाउने नीतिहरुमा थप कठोर बन्न सक्नेछन् । आप्रवासीविरुद्ध कदम चालिऐ अवस्थाले अर्कै रुप लिने र त्यो हिंसात्मक समेत हुनसक्ने चिन्ता व्यक्त गरिएको छ । ट्रम्प जन्मसिद्ध नागरिकताको अन्त्य गर्न चाहने भएकाले झण्डै साढे एक करोड गैरकानुनी आप्रवासी आफ्नो देश फर्किन बाध्य हुनेछन् । तर, यस्तो कदम संविधानसँग बाझिन सक्ने सम्भावना पनि छ ।
नेपाल नीति कस्तो ?
नेपालीका लागि प्रत्यक्ष रुपमा आप्रवासनको नीतिले प्रभाव पार्न सक्ने छ । यसबाहेक छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र ट्रम्पको सम्बन्ध निकै नजिक छ । अहिले बाइडेनको नेतृत्वले नेपालमा प्रत्यक्ष प्रभाव पर्ने भए पनि भारतले पार्ने प्रभाव नै अमेरिकी समर्थनप्रभावित हुने भएकाले मोदी र ट्रम्पले हेर्ने नेपाल दृष्टिकोण एउटै हुनसक्ने विश्लेषण भइरहेको छ ।
अरु शक्ति राष्ट्रहरुसँगको सम्बन्ध
अघिल्लो कार्यकालमा कट्टर विरोधीसँगसमेत सम्बन्ध सुधारको प्रयास थालेका ट्रम्पको व्यक्तिगत रुपमा नरेन्द्र मोदी, भ्लादमिर पुटिन र किम जोङ उनसँग समेत नजिकको सम्बन्ध छ । तर, चीनका राष्ट्रपति सी जिनफिङसँग त्यति सुमधुर सम्बन्ध छैन । बाइडेनको चार वर्षे कार्यकालकै समयमा चीन, रुस र भारत लगायत देशहरुले ब्रिक्समार्फत अमेरिकाविरुद्धको गुटबन्दीको रणनीति लिएका छन् । अब मोदी र पुुटिनले सी रोज्ने वा ट्रम्प ? यसले ठूलो अर्थ राख्नेछ । यता इरानसँग पुटिन र मोदीको राम्रो सम्बन्ध रहँदा ट्रम्पको सम्बन्ध राम्रो छैन । यस्तो अवस्थामा बाइडेनको नीतिबाट अमेरिकालाई एक्ल्याएर धु्रविकृत भएका राष्ट्रसँग कस्तो व्यवहार गर्छन् त्यसमै भर पर्ने छ ।
अर्थतन्त्र र व्यापार
अमेरिकाको अर्थतन्त्र अहिले ठिकठाक अवस्थामा छैन । चुनावको प्रमुख मुद्दा मध्ये अर्थतन्त्र पनि एक हो । खासमा कर तिरेको पैसा विश्वभर हतियार बाँडेर सकाएको आरोप बाइडेन प्रशासनमाथि लाग्ने गरेको छ । तर ट्रम्पले घोषणा गरेको कर कटौतीदेखि ओभर टाइम काम गर्नेहरुबाट कर नलिने र अनुदान नदिने नीतिले अर्थतन्त्रको भविष्य निर्धारण गर्नेछ । केही दिनअघि मात्रै रुसलाई सहयोग गरेको भन्दै अमेरिकाले १९ भारतीय कम्पनीलाई प्रतिबन्ध लगाएको थियो । रुस र अमेरिकाबीच प्रतिबन्धको प्रतिस्पर्धा नै चलेको थियो । व्यापारिक पक्षबाट चीनसँगको टकराव ट्रम्पको अघिल्लो कार्यकालले नै छरपस्ट पार्दा ट्रम्पले कुन व्यापारको नीति लिन्छन् ? त्यसमा भर पर्नेछ ।