पछिल्लो केही समययता कांग्रेसमा सभापति शेरबहादुर देउवाको विरोधी संस्थापन इतर खेमा कमजोर देखिएको छ । महामन्त्री गगन थापा र सभापति देउवाको क्यामेस्ट्री मिल्दा यस्तो भएको धेरैको बुझाई छ । त्यसमाथि कांग्रेसको उत्तराधिकारीको दौडमा अहिलेका महामन्त्री थापासमेत रहेकाले देउवाकै पक्षमा माहोल देखिएको बुझ्न समस्या छैन ।
कांग्रेस सभापति शेरबहादुर देउवाको यो अभिव्यक्ति । जसले देउवा र गगन थापाको क्यामेस्ट्री नै बदलिदिएको छ । हुन त सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम जोडिएयता छानबिनको माग गर्ने मुख्य भूमिकामा देउवाले गगनलाई नै राखेका थिए ।
अहिले रवि पक्राउ परेपछि देउवा गगन निकै नजिकिएका छन् । फलतः अहिले इतर समूहका शेखर कोइराला मात्रै सरकारको विरोधमा रहँदा गगन भने हिजो कीर्तेप्रसाद भन्ने केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री मानेर प्रतिरक्षामा प्रस्तुत भइरहेका छन् । पूर्वप्रधानमन्त्रीको क्लबबाट देशलाई बाहिर निकाल्नुपर्ने गगन नै देउवा प्रधानमन्त्री बन्ने दिन गन्दै बसेका छन् । यसले कांग्रेसमा देउवाविरुद्धको स्वर ह्वात्तै घटाइदिएको छ । बरु विरोधी खेमाका नेतालाई कारबाही गर्न प्रतिपक्षभन्दा हतारो गगनलाई नै छ ।
आरोप लागेपछि जो कोहीमाथि पनि छानबिन हुनुपर्ने हो । यसमा गगनको माग अन्यथा छैन । तर, आफ्नै उपसभापति धनराज गुरुङको नामै किटेर अनुसन्धानको माग गर्नुले धेरै ठूलो राजनीतिक अर्थ राख्छ । किन कि संसदीय दलको नेतामा इतर पक्षकै भएर पनि गगनलाई धोका दिएको आरोप धनराजमाथि लाग्ने गरेको छ । इतर पक्षलाई गगन–शेखर नभई शेखर पक्षमात्रै भन्नुपर्ने पक्षमा धनराज छन् । अर्थात गगनको नाममै एलर्जी देख्ने धनराजमाथि गगनले सार्वजनिक मञ्चबाटै छानबिनको माग गरेका हुन् ।
जबकी यो माग गगनले पार्टीका बैठक बोलाएर समेत गर्न सक्थे । पार्टीका अरु गतिविधि खासै चलायमान नभए पनि विभागहरुमा धमाधम भइरहेको मनोनयनले समेत देउवा आलोचनामुक्त रहेको संकेतका रुपमा बुझ्न सकिन्छ । यतिमात्र नभई गगन थापाको भारत भ्रमणका क्रममा विजय चौथावाइलेसँग भेटघाटको मेसो मिलाइनुले पनि देउवा–गगन नजिकिएको संकेत गर्छ । यतिमात्र नभई पार्टीका एक्जिट पोलेसीदेखि गठबन्धन सम्मका एजेण्डामा अर्का महामन्त्री विश्वप्रकाश शर्मासमेत अहिले गगनले अर्को बाटो तताउँदा एक्लिएका छन् ।
देउवा आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न पाउँदैनन् । यसैकारण देउवा एक भरपर्दो उत्तराधिकारीको खोजीमा छन् । देउवाले उत्तराधिकारी बनाउन खोजका केही नेताहरु गम्भीर आरोपमा डामिनु र केहीसँग अहिले पनि मनमुटाव जारी रहेकाले नयाँ विकल्पको खोजीमा छन् । त्यसमाथि पत्नी आरजु राणा देउवालाई स्थापित गर्नु उनको अर्को ध्यय हो । र यही उत्तराधिकारीको दौडमा अहिले पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र शशांक कोइरालालगायत रहँदा गगन थापाले गुट फेर्ने संकेत गरेपछि शेखर पक्ष शशंकित बनेको छ । किन कि गगनले संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्दा १५ औँ महाधिवेशनमा शेखरलाई सभापति बनाउने सहमति नै भएको दाबी गरिएको थियो ।
शेखरले पनि देउवाको उत्तराधिकारी बन्नेगरी यसअघि थुप्रै प्रयास गरेका हुन् । उनलाई पार्टीको वरिष्ठ नेता बनाउनेसम्मका बिषयसमेत सतहमा आए । तर, सफल हुन सकेन । अहिले देउवा अढेस लाग्ने ठाउँको खोजीमा रहँदा गगन पनि देउवासँग भिडेरभन्दा मिलेरै गए फाइदा हुने निचोडमा पुगेका छन् । आन्तरिक रुपमा देउवा आरजुलाई फाइदा हुनेगरी गगनलाई नै उत्तराधिकारी बनाउनु ठिक हुनसक्ने मनसायमा रहेको बुझिन्छ । पार्टीका नेताहरु समेत गगनको सक्रियता र देउवाको सदासयतालाई अन्यथा मान्दैनन् ।
गगन थापा छठपछि संकल्प यात्राको तयारीमा रहेको बुझिन्छ । तर, एक वर्ष पहिल्यै १५ औँ महाधिवेशनको तयारी थालिसकेको शेखर समूहले गगनभन्दा पहिले कार्तिक २३ गतेदेखि मेची महाकाली युवा संकल्प यात्रा घोषणा नै गरिसकेको छ । यसले पनि देउवा–गगन मिलापले शेखर झस्किएको देखिन्छ । पछिल्लो समय गगनको निकटताले पूर्णबहादुर खड्का र प्रकाशशरण महत लगायत संस्थापनको कोर टिमसमेत झस्किएको नेताहरु नै बताउँछन् । त्यसमाथि प्रतिनिधिसभामा संसदीय दलको उपनेता अहिलेसम्म कांग्रेसले चयन गर्न सकेको छैन । देउवाले चाहेकै समयमा उपनेता चुन्न पनि सकिन्छ । तर, आफ्नो आगामी उत्तराधिकारीको झलक उपनेताबाटै दिने तयारीमा रहेका देउवा तत्कालका लागि गगनलाई हातमा लिँदै दोस्रो तहका अरु नेताहरुको नाडी छामिरहेको स्पष्ट देखिन्छ ।
प्रतिक्रिया