आगामी मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा सहभागी हुने राजनीतिक दलहरुले उम्मेदवार छनोटदेखि चुनाव प्रचारप्रसार नै थालिसकेका छन् । साना–ठुला सबै राजनीतिक दलको ध्यान संघीय राजधानी काठमाडौंको कीर्तिपुर नगरपालिकामा केन्द्रित भएको छ ।
आगामी मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको केन्द्रबिन्दु भने काठमाडौंको कीर्तिपुर नगरपालिका हुने निश्चित प्राय छ । संघीय राजधानी काठमाडौंको कीर्तिपुर नगरपालिका सबै राजनीतिक दलहरुको चासो र चुनावी प्रतिष्ठाको थलो बनेको छ । चुनाव कति प्रतिस्पर्धात्मक हुँदैछ भन्ने कुरा दलहरुले प्रस्तुत गरेका हेभिवेट उम्मेदवारहरुलाई नियाले पुग्छ ।
केन्द्रमा सत्ता साझेदार रहेका नेपाली कांग्रेस र नेकपा एमाले स्थानीय तहको उपनिर्वाचनमा एक्लाएक्लै भिड्ने भएका छन् । नेकपा एमालेले केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा निर्वाचन क्षेत्र १० का अध्यक्ष डाक्टर सुरेन्द्र मानन्धरलाई उम्मेदवारमा प्रस्ताव गरेको छ । पार्टीको स्थानीय कमिटीले उम्मेदवारका लागि सिफारिस गरेका मानन्धर एक्लो प्रत्यासी हुन् । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय मानन्धर २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा राजेन्द्र (राजन) केसीसँग चुनाव लडेका पात्र हुन् । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत उनी चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । त्यतिबेला केसीले जित्दा मानन्धर दोस्रो र दाहाल तेस्रो भएका थिए ।
२०५४ र २०७४ सालको स्थानीय निर्वाचनमा कीर्तिपुरमा एमालेले जितेको थियो । २०५४ सालको पहिलो नगर निर्वाचनमा एमालेका हीराकाजी महर्जन नगर प्रमुखमा निर्वाचित भएका थिए भने २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेकै रमेश महर्जन ७ हजार ३ सय ६० मतसहित विजय हुँदा कांग्रेसका राजकुमार नकर्मीले ६ हजार ६ सय १५ मत ल्याएका थिए । २०७९ सालको स्थानीय तह निर्वाचनमा भने कांग्रेसका राजकुमार नकर्मीले बाजी मारेका थिए । एमालेका केशरत्न बज्राचार्यलाई ५ सय ३६ मतले पछि पार्दै नकर्मी नगर प्रमुखमा निर्वाचित भए ।
नकर्मीले ९ हजार ४३ मत प्राप्त गर्दा बज्राचार्यले ५ हजार ५ सय ७ मत प्राप्त गरेका थिए । नगर प्रमुख नकर्मीको निधन भएपछि रिक्त पद पुर्तिका लागि मंसिर १६ मा उपनिर्वाचन हुन लागेको हो । २०८१ साल साउन १० गते राति उपचारको क्रममा वीर अस्पतालमा निधन भएको थियो । कीर्तिपुरको उपनिर्वाचनमा एमालेले आफ्नो गुमेको विरासत फर्काउला ? २०७४ मा चुनाव जितेको एमालेले २०७९ को चुनावमा भारी मतान्तरले कांग्रेससँग हार व्यहोरेको थियो । अहिले संघीय सरकारको नेतृत्वमा रहेको एमालेले केन्द्रीय सत्ताको जोडबलमा उपचुनाव जित्ला ? कसरी अगाडि बढ्दै छ त एमाले ? के भन्छन् नगरप्रमुख पदका दावेदार मानन्धर ?
कीर्तिपुरमा नेकपा एमाले यो पटक कसैगरी आफ्नो विरासत फर्काउने दाउमा रहँदा सत्तारुढ अर्को घटक नेपाली कांग्रेस पनि आफ्नो विरासत जोगाउने ध्याउन्नमा छ । गत चुनावमा कीर्तिपुर नगरपालिकामा कांग्रेसले क्लिन स्विप नै गरेको थियो । वडा नम्बर ४ बाहेक १ देखि १० नम्बर वडासम्मै कांग्रेसले जितेको थियो ।
वडा नम्बर ४ मा कांग्रेसकै बागी उम्मेदवारले जितेका थिए । अन्य दल उम्मेदवार घोषणा गरेर चुनाव प्रचारमा लाग्दासमेत कांग्रेस भने उम्मेदवार छनोटको छलफलमै छ । प्रतिस्पर्धी उम्मेदवार पर्खन कांग्रेस घनीभूत छलफलमा जुटेको हो । ११ जना आकांक्षीको सूची केन्द्रीय समितिमा पुगिसकेको छ । तीन–तीन पटक नगर सभापति भएर काम गरिसकेका कृष्णमान डंगोल सिफारिसको पहिलो नम्बरमा छन् । यस्तै, तल्लो तहले गरेको उम्मेदवार सिफारिसमा नगर प्रमुख स्वर्गीय नकर्मीकी पत्नी जमुना नकर्मीको नामसमेत चौथो नम्बरमा छ ।
सभापति देउवा निकट भएकाले डंगोलले नै टिकट पाउने सम्भावना बलियो छ । यद्यपि, नकर्मीकी पत्नी जमुनाले पनि टिकट पाउने प्रबल सम्भावना रहेकाले डंगोल र जमुना मध्ये एकले टिकट पाउने निश्चित जस्तै छ । नेकपा माओवादी केन्द्रले भने प्राध्यापक डाक्टर शिवशरण मर्हजनलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । माओवादी केन्द्रले २०७९ को स्थानीय तह निर्वाचनमा ४ हजार ९० मत ल्याउँदै तेस्रो बनेका महर्जनलाई नै उम्मेदवार बनाएको हो । कांग्रेस एमालेको दवदबा रहेको कीर्तिपुरमा माओवादी केन्द्र एक्लै चुनाव लड्ने निर्णयमा पुगेको छ । यद्यपि, माओवादीले एमाले–कांग्रेस बाहेक एकीकृत समाजवादी पार्टी र रास्वपा सहितका दलहरुसँग सहकार्य गर्ने ढोका भने खुला राखेको छ ।
स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने निर्णय गरे पनि सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने हिरासतमा पुगेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने उम्मेदवार घोषणा गर्न सकेको छैन । स्वतन्त्र उम्मेदवार उठाउने र पार्टीले समर्थन मात्र गर्ने वा उम्मेदवार नै उठाउने भन्नेबारे रास्वपा मन्थनमा रहेको बुझिएको छ । यसमा रास्वपाबाट काठमाडौं जिल्लाका पार्टी सभापति प्रदिप विष्टको नाम चर्चामा छ । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले इन्जिनियर ध्रुव महर्जनलाई उम्मेदवार बनाउने भएको छ ।
महर्जन लामो समय कांगे्रस निकट रहेर राजनीति गरेका व्यक्ति हुन् । राजनीतिक दलहरुले कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि उठाउन लागेका अधिकांश उम्मेदवारहरु नेवार समुदायका छन् । नेवार समुदायको बाक्लो बस्ती रहेको कीर्तिपुरमा दलहरुले त्यही समुदायलाई प्रतिनिधित्व गर्ने व्यक्तिलाई उम्मेदवार बनाएर समुदायको भोट तान्ने रणनीतिसमेत बनाएको देखिन्छ । यद्यपि, अहिलेसम्मको अवस्थालाई हेर्दा कीर्तिपुरमा सत्तारुढ दल कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यसबीचमा कुनै चमत्कार भए रास्वपा र स्वतन्त्र उम्मेदवारको समेत सम्भावनालाई नकार्न सकिन्न ।।
प्रतिक्रिया