पार्टीभित्रको विभित्र आन्तरिक चुनौतीलाई पार लगाउँदै पहिलो पटक मन्त्री बनेका नेपाली कांग्रेसका बद्री पाण्डे विवादै विवादमा मुछिएका छन् । युवा जोशको कामबाट प्रमाणित गर्ने आशा र अपेक्षा गरे पनि उनी आफैँ रनभुल्लमा पर्दा पर्यटन मन्त्रालय नै सम्हाल्न नसक्ने अवस्थामा पुगेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हाकिरहेका बद्री पाण्डे फेरि एक पटक विवादमा तानिएका छन् । सरकारले यही कार्तिक २३ गतेदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गर्ने निर्णय गरेपछि मन्त्री भएदेखि नै विवादलाई सँगै लिएर हिँडिरहेका पाण्डे थप आलोचित बन्न पुगेका हुन् । धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वे’ लगायतको काम गर्नुपर्ने भन्दै विमानस्थल बन्द गर्नु पर्ने निर्णय कार्यान्वयनमा आउन नपाउँदै विवाद सुरु भएको हो ।
विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि पाँच महिना अर्थात् चैत १८ गतेसम्म राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान बन्द गर्दा करिब २ अर्ब नोक्शान पर्ने तथ्याङ्कले देखाउँछ । टीआईएले विमानस्थल सञ्चालनको समय घटाउँदा अन्तरराष्ट्रिय भाडादरमासमेत वृद्धि भएपछि पार्टी पंक्तिबाट नै यसको विरोध भइरहेको छ ।
कांग्रेसका सांसद् उदयशम्शेर जबराले विगतमा पनि रन–वे बनाउँदा रातिको समयमा ५÷७ घण्टा मात्रै विमानस्थल बन्द भएको उल्लेख गर्दै अहिले भने १०÷१० घण्टासम्म बन्द गर्नुलाई आफ्नो कमजोरी लुकाउन खोजेको दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि रणनीतिक रूपमा लिइएको यो निर्णयलाई स्वभाविक मात्र नसकिने र यसले शशंय पैदा गरेको उनको भनाइ छ । तर, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसमेत रहेका इञ्जिनियर प्रदीप अधिकारी भने यो कुनै रणनीतिक वा राजनीतिक निर्णय भन्दा पनि विशुद्ध व्यवसायिक भएको जिकिर गर्छन् ।
पार्टीभित्र ठूलो सङ्घर्ष गरेर पहिलो पटक मन्त्री भएका पाण्डेसँग धेरैले आश गरेका थिए । नेपाली कांग्रेसको निर्वाचित सहमहामन्त्रीसमेत रहेका कारण पदाधिकारीबाट नेतृत्व गर्दै मन्त्रिपरिषद्मा सामेल हुँदा उनले आफू र पार्टी पंक्तिलाई पनि प्रमाणित गर्ने विश्वास थियो ।
तर, पार्टीकै अर्का सहमहामन्त्री जीवन परियारको मुखैमा आइसकेको मन्त्री पद खोसेर मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएका पाण्डे कामभन्दा बढी विवादित बन्दै गएका छन् । युवा जोशले भरिएका नयाँ मन्त्रीको चार महिना बित्नै लाग्दा उनको काम कारबाहीले मन्त्रिपरिषद्को नेतृत्वदेखि पार्टी नेतृत्व नै पनि असन्तुष्ट बनेका छन् ।
असोज ११ र १२ गते गएको बाढी पहिरोका कारण सडकमार्ग अवरुद्ध हुँदा अचाक्ली बढेको हवाई उडानको भाडा नियन्त्रण गर्न नसकेको भन्दै उनले पार्टी नेतृत्वबाटै चर्काे आलोचना खेपेका थिए । साथै मन्त्रीबाटै फिर्ता बोलाउनेसम्मको धम्की उनले पाएका थिए । पाण्डेले मन्त्री भइसकेपछि दुई विमान दुर्घटना भएका थिए । यसपछि हवाई दुर्घटना न्यूनीकरण गर्न कार्ययोजना तयार गर्छु भनेका उनले त्यो काम अझै पूरा गर्न सकेको छैनन् । अहिले फेरि टीआईएमा हुने उडानको समयावधी घटाएर निर्माण कार्य अघि बढाउने निर्णय विवादमा पर्दा सरकारको नियतमाथि नै प्रश्न उठेको जानकारको तर्क छ ।
यस्तै प्रधानमन्त्री ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनबीचको सम्बन्ध तिक्ततापूर्ण रहेको थाहा पाउँदा पाउँदै मन्त्री पाण्डे नै अध्यक्ष रहेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले गौशाला धर्मशालाको नौ रोपनी जग्गा भोग चलनका लागि महानगरलाई जिम्म दिने निर्णय ग¥यो । जसका कारण महानगरले जग्गा खाली गराउन खोज्दा आफ्नो मोहियानी हक रहेको दाबी गर्दै आएको मारवाडी सेवा समितिबीच भिडन्त नै परेको थियो ।
तर, १० दिन पनि बित्न नपाउँदै पुनः पाण्डेको निर्देशनमा मन्त्रालयले कोषलाई पत्र लेखेर धर्मशाला खाली नगर्न निर्देशन दिएको थियो । कांग्रेसको निर्वाचित सहमहामन्त्री त्यसमाथि पनि युवा भएका कारण उनीमाथिको अपेक्षा ठूलो थियो । तर, अहिले आफै रनभुल्लमा परेका उनी आफ्नो क्षेत्राधिकारमा अलमलिएका छन् । केही समय अघि मन्त्री फेर्नेसम्मको चर्चा हुँदा रेड जोनमा परेका पाण्डेले चार महिना हुँनै लाग्दा सोचे जस्तो काम गरेर देखाउन नसक्दा मन्त्रालय नै सम्हाल्न नसक्ने अवस्थामा पुगेका छन् ।
प्रतिक्रिया