राजनीति

विदेशमा मन्त्रीको मोज, १६ मन्त्रीको सूची हेरौँ, आरजुको रेकड


केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरुको समेत विदेश सयर रोकिएको छैन । तीन महिनाको अवधिमा १६ मन्त्रीले २४ पटक विदेश भ्रमण गर्दा ६ मन्त्री भने विदेश जान पाएका छैनन् । यस अवधिमा सबैभन्दा धेरै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भ्रमण गर्दा कांग्रेसका धेरै मन्त्रीको रोजाइ भारत परेको छ । जुन सरकार भए पनि मन्त्रीहरु देशभन्दा बढी विदेशमा घुम्न रुचाउने प्रचलन पुरानै हो । दुई ठूला दल मिलेर बनेको सरकारकासमेत अधिकांश मन्त्रीले विदेश भ्रमण भ्याएका छन् । तीन महिनाकै अवधिमा धेरैले तीन देशसम्मको भ्रमण गरेका छन् ।


प्रधानमन्त्री ओली (१० दिन) १ पटक
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो भ्रमण अमेरिकाबाट सुरु गरेका थिए । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज चार गते अमेरिका गएका ओली १४ गते स्वदेश फर्किएका थिए । यही बीचमा उनी कतारको दोहा समेत पुगेका थिए । तर बिभिन्न कार्यक्रममा जाँदा लखेटिनुपर्ने अवस्था आयो भने देशमा बाढी पहिरो गइरहेका समय ओली अमेरिकामा शिलालेख उद्घाटन र डिनरमा ब्यस्त थिए । भारतीय प्रधानमन्त्रीसँग भेट गर्दा पनि भारतले भ्रमणको निम्तो नदिएपछि ओली मंसिर १७ गते चीन जाँदैछन् ।
विष्णु पौडेल ( २ भ्रमण १५ दिन )
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल प्रधानमन्त्री ओली अमेरिकामै रहेका समय असोज ७ गते चीन गएर १२ गते स्वदेश फर्किएका थिए । लगत्तै कात्तिक पाँच गते अमेरिका पुगेका पौडेल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा भाग लिएर कात्तिक १५ मा स्वदेश फर्किएका थिए ।
प्रकाशमान सिंह – ( १ पटक ६ दिन )
उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गरेका छन् । कात्तिक १८ गते वल्र्ड अर्बान फोरममा सहभागी हुन त्यहाँ गएका सिंह २४ गते स्वदेश फर्किनेछन् ।
शरतसिंह भण्डारी
श्रममन्त्री शरदसिंह भण्डारी असोज १ गते जापान गएका थिए । उनी त्यहाँ जापान–नेपाल रोजगार सम्मेलनमा सहभागी भएका थिए ।
डा. आरजु राणा देउवा (४ भ्रमण, २२ दिन ) दिल्ली
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सबैभन्दा बढी विदेश भ्रमण गर्ने मन्त्रीमा परेकी छन् । यो बीचमा उनले चार देशको भ्रमणमा २२ दिन बिताएकी छन् । मन्त्री बनेलगत्तै भदौ २ गते दिल्ली उडेकी राणा ६ गते स्वदेश फर्किएकी थिइन् । त्यस समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै भेट दिएपछि राजनीति गर्मिएको थियो । त्यसपछि महिला परराष्ट्रमन्त्रीको बैठकमा भाग लिन भदौ ३१ गते क्यानडा गएकी आरजु असोज ६ गते अमेरिका र १७ गते कतारको दोहा हुँदै १८ गते स्वदेश फर्किएकी थिइन् ।
प्रदीप यादव (१, ४ दिन )
खानेपानीमन्त्री प्रदीप यादव असोज १० गते ओरिका प्रस्थान गरेका थिए । ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी भएर उनी १४ गते फर्किएका थिए ।
बलराम अधिकारी ( १ पटक)
भूमि व्यवस्था सहकारीमन्त्री बलराम अधिकारी अघिल्लो सरकारबाट बैशाख ४ देखि १८ गतेसम्म जोर्डन भ्रमणमा गएका थिए । वर्तमान सरकारमा पनि उनी सोही मन्त्रालयमा दोहोरिदा पछिल्लो पटक भने भ्रमण गरेको विवरण भेटिएन ।
दामोदर भण्डारी (१ पटक)
उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारी तीन दिने भारत भ्रमणमा गएका छन् । साउन २२ गते नयाँ दिल्ली गएका भण्डारी विमस्टेक ब्यापार सम्मेलनमा सहभागिता जनाएर २४ गते स्वदेश फर्किएका थिए ।
नवलकिशोर साह सुडी (१ पटक)
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी परिवारसम्बन्धी सम्मेलनमा सहभागी हुन कतारको दोहा गएका थिए ।
देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात (१ पटक)
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल कतार गएका छन् । उनी सडक सुरक्षाबारे अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन कात्तिक १६ गते त्यहाँ गएका थिए ।
तेजुलाल चौधरी ( २ पटक )
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले साउनमा तीन दिन फ्रान्सको भ्रमण गरेका छन् । साउन १० देखि १२ गतेसम्म चौधरी गृष्मकालीन ओलम्पिकमा सहभागी हुन गएका थिए ।
मन्त्री चौधरी कात्तिक १ देखि ३ गतेसम्म रसिया गएका थिए ।
बद्रीप्रसाद पाण्डे ( २ पटक) भारत
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे भदौ ६ गते भारत गएका थिए । ९ गतेसम्म चलेको धर्म–धम्म सम्मेलनमा भाग लिन दिल्ली पुगेका थिए ।
भदौ २५ देखि २८ गतेसम्म फेरि एसिया प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन भारत गएका थिए ।
प्रदीप पौडेल, स्वास्थ्य तथा जनसंख्या ( तीन देश)
स्वस्थ्यमन्त्री प्रदीप पौडेलले पनि यो बीचमा तीन भ्रमण गरेका छन् । असोज ८ देखि १० गतेसम्म स्वास्थ्य मन्त्रीहरुको सम्मेलनमा भाग लिन इन्डोनेसियाको जाकार्ता पुगेका थिए । असोज २१ देखि २३ गतेसम्म दिल्लीमा विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाली क्षेत्रीय बैठकमा सहभागी भएका थिए । त्यसलगत्तै पौडेल असोज २७ गते विश्व स्वास्थ्य शिखर सम्मेलनमा सहभागी हुन जर्मनीको बर्लिन पुगेका थिए ।
रामनाथ अधिकारी, कृषि तथा पशुपन्छी विकास (१ पटक)
कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन असोज २७ गते इटलीको रोम प्रस्थान गरेका थिए ।
दिपक खड्का, उर्जा, जलस्रोत तथा सिंचाइ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का आइतबार मात्रै भारत गएका छन् । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिएर खड्का केही दित उतै रहनेछन् ।
ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कोलम्बियाको भ्रमण गरेका छन् । जैविक विविधता महासन्धिसम्बन्धी १६ औँ अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन कात्तिक ११ गते त्यहाँ गएका शाही १८ गते स्वदेश फर्किएका हुन् ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, कानुनमन्त्री अजय चौरसिया, शिक्षामन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानवीर राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विदेश भ्रमण गरेको तथ्यांक भेटिएन । मन्त्रीहरुले विदेश भ्रमण गर्नुलाई मात्रै अन्यथा मान्न मिल्दैन । कतिपय फोरममा मन्त्रीकै अनिवार्य सहभागिता आवश्यक पनि हुन्छ । कतिपय भने कर्मचारी पठाए हुने कार्यक्रममा समेत मन्त्री नै अघि सर्ने गरेका छन् । त्यसमाथि दुई दिन मात्रै चल्ने कार्यक्रमका लागि समेत १० दिन भ्रमण स्वीकृत गराउने प्रवृत्तिले मन्त्रीहरु घुम्न मात्रै तम्सिने गरेको पुष्टि हुन्छ । त्यसमाथि विदेश भ्रमणका क्रममा देखाइने उपलब्धिमा नतिजा नदेखिँदा धरै भ्रमणको औचित्यमै प्रश्न उठ्ने गरेको छ ।