प्रदर्शनीको पहिलो दिन तुलनात्मक रुपमा धेरै शो नपाएको नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले अहिले भने प्रत्येक हलमा उत्साहपूर्ण व्यापार गरिरहेको छ । नेपाली चलचित्रलाई मात्रै नभएर भारतीय ठूला ब्यानरका चलचित्रलाई समेत पछार्दै ‘पूर्ण बहादुरको सारङ्गी’ले ‘वर्ड अफ माउथ’पाउँदा अनपेक्षित रूपमा दर्शकको साथ पाएको छ ।
उपेक्षा जतिसुकै किन नहोस् एउटा सफलता नै ती सबै उपेक्षालाई झुकाउन काफी हुन्छ । हो ठ्याक्कै त्यस्तै भएको छ, अहिले देशभरका ठूला मल्टिप्लेक्स हलहरूमा लागिरहेको चलचित्र पूर्ण बहादुरको सारङ्गीको स्थिति । सुरुमा हल व्यवसायीहरूको तिरस्कारमा परेर एक÷दुई शो पाएको पूर्ण बहादुरको सारङ्गीले अहिले एउटै हलमा सात शोसम्म पाइरहेको छ भने, अझै यो संख्या बढ्ने सङ्केत पनि गरेको छ ।
कार्तिक १५ गते बिहीबार लक्ष्मी पूजाको दिनदेखि प्रदर्शनमा आएको पूर्ण बहादुरको सारङ्गीले हलहरूमा करिब ५६ शो मात्र पाएको थियो । जुन तेस्रो हप्तामा पुगेको १२ गाउँको भन्दा कम थियो । त्यस्तै शुक्रबार मात्रै दुई भारतीय चलचित्र प्रदर्शनमा आउँदा त्यसको मार पूर्णबहादुरको सारङ्गीले खेप्नु प¥यो । तर, दमदार कथावस्तु भएको चलचित्र पूर्ण बहादुरको सारङ्गीले सोमबारमात्रै क्युएफएक्सका देशका विभित्र हलमा एक सय २६ वटा शो पाएको थियो । रातिकै शो भए पनि दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ ।
चलचित्रको कथानककै भरमा पूर्ण बहादरको सारङ्गीले आफूलाई प्रमाणित गर्दै हलसम्म दर्शकलाई तात्र सफल हुँदा हल व्यवसायीहरू पनि अरु चलचित्रलाई उतारेरै यो चलचित्रको शो थप्न बाध्य बनेका छन् । हलवालाले सुरुवाती चरणमा नपत्याइरहेको अवस्थामा दर्शकहरू पूर्ण बहादुरको सारङ्गीको सहारा बन्दै माउथ पब्लिसिटी भएपछि चलचित्रको ग्राफलाई माथि उकास्न मद्दत ग¥यो । पहिले नै स्थापित दुई बलिउड चलचित्र सिङ्घम अगेन र भुलभुलैया ३ लाई पन्छाउँदै माउथ पब्लिसिटीकै भरमा नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गीले आफ्नो झण्डा गाढ्न सफल भएको छ । बालकदेखि वृद्धसम्म यो चलचित्र हेर्न हामा पुगिरहेका छन् ।
अरु चलचित्रहरूले पहिले चर्चा बटुलेर चल्दा यो चलचित्र भने हलमा लागिसकेपछि मात्र चर्चित भएको हो । सुरुवातमा चलचित्रको प्रदर्शन मितिलाई लिएर निर्माण पक्षबीच नै मनमुटाव भएको थियो । पूर्णबहादुरको सारङ्गीका नायक प्रकाश सपुत आफ्नै लगानीमा निर्माण हुन लागेको ‘बसन्त’ चलचित्रभन्दा पहिले यो फिल्म हलमा जाने भए पछि असन्तुष्ट बनेका थिए ।
असन्तुष्टि यतिसम्म बढेको थियो कि चलचित्रका मुख्य कलाकार मध्येका एक सपुत यस फिल्मको प्रमोसन र प्रचारमा अनुपस्थित रहे । कुनै टिजर र ट्रेलर समेत शेयर नगरेका उनलाई निर्माण पक्षले आग्रह गर्दा पनि बेवास्ता गर्दै आएका थिए । तर, अहिले फिल्मले सफलताको उचाई चुमिरहँदा भने सपुत पनि हलमा पुग्ने र दर्शकसँग भेट गर्ने गतिविधिमा सक्रिय हुन थालेका छन् ।
चलचित्र चर्चामा आउनुको कारण भनेको यसले उठान गरेको कथानक अहिले ठ्याक्कै नेपाली समाजसँग मेल खानु नै हो । बाबु छोराको सम्बन्धलाई लिएर बनेको चलचित्रमा कलाकारहरूका अभिनयले पनि दर्शकलाई भावुक बनाउँदा चलचित्रले हाइप पाएको हो । अधिकांश कलाकारहरू थिएटरबाट आएको हुँदा उनीहरूले गरेको जीवन्त अभिनयले चलचित्रलाई उचाईमा पु¥याएको छ । कलाकारदेखि नेतासम्मले चलचित्रले नेपाली माटोको कथा बोलेको प्रतिक्रिया दिएका छन् ।
स्वदेशमा उत्कृष्ट कमाइ गरिरहँदा अब भने यो फिल्म अन्तरराष्ट्रिय बजारमा रिलिज हुने भएको छ । मङ्गलबार टोकियोबाट फिल्मले अन्तरराष्ट्रिय यात्रा थाल्दैछ । आउँदो बिहीबार अष्ट्रेलिया र मध्यपूर्व, शुक्रबारदेखि अमेरिका र बेलायतमा प्रदर्शनको टुङ्गो लागेको छ । केही महिना अघिसम्म भारतीय चलचित्रले उठ्नै नसक्ने गरि थिचिरहेको नेपाली चलचित्रहरू अहिले भने विस्तारे तग्रिंदै छन् ।
बलिउडका दुई ठूला चलचित्रलाई पनि पछारेको पूर्ण बहादुरको सारङ्गीले देशैभरका हलमा आफ्नो कब्जा जमाउँदै गर्दा निर्मातासमेत मुनाफातर्फ लम्किरहेका छन् भने उत्साही बनेका छन् । लामो समय हलमा नेपाली चलचित्रले आफ्नो उपस्थिति देखाउन नसकेको अवस्थामा दशैं अगाडि र दशैंको छेकोमा प्रदर्शनमा आएका चलचित्रबाट सुरु भएको यो यात्रा पूर्णबहादुरको सारंगीसम्म आइपुग्दा दर्शकको आकर्षण बढ्नु पक्कै पनि सुखद पक्ष हो । स्तरीय चलचित्र बन्ने र यसरी नै दर्शकलाई तानिराख्न सक्ने हो भने आगामी दिनमा चलचित्रकर्मीहरु निराश बन्नु नपर्ने देखिन्छ । तर, दर्शकको साथ सहयोग पाइरहने स्तरीय चलचित्र निर्माणमा भने चलचित्रकर्मीको ध्यान जान जरुरी देखिन्छ । तब मात्रै नेपाली चलचित्र उद्योगले नयाँ फड्को मार्न सक्नेछन् ।
प्रतिक्रिया