राजनीति

आरजुलाई बाइपास गरेर विष्णुपौडेलले मिलाए ओलीको चीन भ्रमण


प्रधानमन्त्री केपी शर्मा ओली र भारतको सम्बन्धलाई लिएर सरकारको आयुबारे नै प्रश्न उठ्दा उनले चीन भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारत हुने परम्पराजस्तै रहँदा यो अलिक फरक देखिएको छ । विगतमा समेत यो अभ्यासले तत्कालीन सरकार नै अफ्ठ्यारोमा परेको उदाहरणका बीच कति त यसलाई ओलीले चीन कार्ड खेलेकै रुपमा अथ्र्याएका छन् ।

भारतीय निम्तोसँग वर्तमान सरकारको आयु जोडेर विश्लेषण भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन् । भारतबाट निमन्त्रणा नआएपछि प्रधानमन्त्री ओलीले कुटनीतिक च्यानलमार्फत रुचि प्रकट गरेपछि चीनबाट निमन्त्रणा आएको हो । भ्रमणको गृहकार्य पूरा गरेर अब बस्ने मन्त्रिपरिषद् बैठकले कार्यतालिका अनुमोदन गर्ने भएपनि चीनले मंसिर १७ देखि २० सम्म मिति तय गरेर औपचारिक भ्रमणको निमन्त्रणा पठाएको छ ।

ओलीले भने यसपटक सत्ता सम्हालेको केही दिनमा नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। त्यस्तै मोदीलाई निम्तो गर्ने प्रयोजनसहित उनले आफ्नी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई दिल्ली पठाए भने भारतले दिएको उच्चस्तरको स्वागतले चर्चामा रहेकी आरजुले पनि मोदीले नेपालको निम्तो स्वीकार गरेको बताएकी थिइन्। तर ओलीलाई भने भारतले भ्रमणको निम्तो दिएन । त्यसपछि ओली स्वयंले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जाँदा असोज ७ गते भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गरेका थिए। त्यो समयमा समेत उनले भारत भ्रमणको निम्तो पाएनन् ।

फलतः उनले चीनतर्फ चासो बढाएका थिए । अहिलेपनि भारतले निम्तो दिए उतै पहिलो भ्रमण गर्ने आशामा देखिएका ओलीको यो कदमलाई कतिपयले भारतविरुद्ध चीन कार्ड खेलेकै रुपमा विश्लेषण गरेका छन् । यता चीन भ्रमणको चाजोपाँजो मिलेको समेत मोदीले निम्तो नदिएपछि नै हो । ओलीको अमेरिका भ्रमणमा रहेकै बेला अर्थमन्त्री विष्णु पौडेल चीन गएका थिए । उता राष्ट्रसङ्घको महासभाकै अवसरमा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरे। सोही भेटमा नै चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति सी चिनफिङसँग भ्रमणबारे कुरा गरेर निमन्त्रणा पठाउने बताएका थिए । प्रधानमन्त्रीको चीन भ्रमणबारे कुराकानी हुँदा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सहभागी भएकी थिइन् ।फलतः यो ओलीको मात्र निर्णय नभएको रुपमा विश्लेषण गरिँदा मोदीसँग कै भेटपछि उनी पहिलो औपचारिक राजकीय भ्रमण चीनबाट गर्दा पनि हुने विश्वासमा पुगेको विश्लेषणसमेत छ । जहाँ एमाले नेताहरु त कुनै देशले निमन्त्रणा नपठाउनु र कुन देशमा प्रधानमन्त्रीको भ्रमण हुन्छ भन्ने विषय नै बहसको विषय नभएको तर्क गर्छन् । कसैले निम्तो नदिँदैमा तर्सिनु नेपालीको लघुताभासको उपज भएको उनीहरुको तर्क छ । अर्थात भारत जानैपर्छ भन्ने भाष्य तोड्नै ओलीले चीन रोजेको उनीहरुको दाबी छ ।

तर यो विषय यति हल्काफुल्का भने होइन । किनभने प्रधानमन्त्रीलाई निम्तो आएपनि परराष्ट्रमन्त्री आरजुलाई चीनले बेवास्ता नै गरेको देखिन्छ । त्यस्तै ओलीले चीनमा राष्ट्रपति सी चिनफिङसँग भेट गर्नेछन् । यस्तो भेटमा बीआरआई आयोजना अगाडि बढाउने, चीनसँगको हिल्सा, कोरोला, किमाथांका नाका पुनः खुलाउने, सिगात्से–केरुङ–काठमाडौं रेलमार्ग बनाउने, नेपालमा चीनले बनाइदिएको एयरपोर्टको ऋण मिनाहाका लागि प्रस्ताव गर्ने लगायतका विषय एजेन्डा बन्न सक्ने देखिन्छ । अर्थात बीआरआई अघि बढाउने र भारतलाई टक्कर दिने गरी उत्तरी नाका सक्रिय पार्ने उनको तयारी देखिन्छ । जसले भूराजनीतिक रुपमा भारतविरुद्ध चीन प्रयोग गर्ने ओलीको विगतकै प्रवृत्तिको नयाँ रुप हुने केही भूराजनीतिक मामलाका जानकारहरुको तर्क छ ।

यसैपनिओलीलाई भारतमा सत्ताधारी दलकै कतिपयले “चीन पक्षधर“ नेताका रूपमा चित्रण गर्ने गरेका छन्।भारतीय मिडियाहरुले नेपाली सय रुपैयामा चुच्चे नक्सा छाप्ने निर्णय र त्यो पनि चीनले ठेक्का पाएको विषयलाई नै पनि अहिले मसला बनाइरहेका छन् । अर्थात चुच्चे नक्सायुक्त एक सय रुपैयाँका नोट छपाउने, बीआरआई कार्यान्वयन गर्नेबारे ओलीले निरन्तर दिएको अभिव्यक्तिपछि नै भारतसँग ओलीको सम्बन्ध सुधारिन नसकेको विश्लेषणकाबीच उनले चाल्न लागेको कदम संयोगमात्र मान्न सकिने अवस्था छैन । जुन सन्तुलनभन्दा अर्कोलाई देखाइदिने नियतबाट प्रभावित भए देशका लागि ठिक नहुने भूराजनीतिक मामिलाका जानकाहरुको तर्क छ ।

हुन त नेपालको अद्यावधिक नक्सा देखिने नोट चीनमा छापिनु स्वाभाविक नै हो । संयोग कै कुरा गर्ने हो भने त चीनमा छापिने ती नोट भारतकै बाटो भएर नेपाल आउने छन् । तर यो ठेक्का प्रक्रियामा भारतीय कम्पनीसमेत सहभागी भएको खबर बाहिरिँदा चीन छानिनुलाई भारतले स्वभाविक नमानेको पक्का छ । जहाँ आफू नेतृत्वको सरकारलाई भारतले रुचाएको छैन भन्ने सन्देश जानेगरी अभिव्यक्ति नदिन आफ्ना नेता कार्यकर्तालाई दिएको निर्देशनदेखि जाली छिमेकी नचाहिने भन्दै फेरिएको उनको बोलीसम्मको दृश्यसमेत स्वभाविक छैन । त्यसैमा अहिले विकसित घटनाक्रमले ओलीको बाटो प्रष्ट हुँदा खुला कुटनीतिको आवरणले मात्र यसलाई छोप्न सकिने अवस्था छैन ।