काठमाडौं उपत्यकासहित तराई÷मधेसमा छठपर्वको तयारी शुरु भएको छ । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न श्रद्धालु भक्तजन व्यस्त देखिएका छन् ।।
तिहार सकिएसँगै काठमाडौं उपत्यकासहित तराई÷मधेसमा छठपर्वको तयारी शुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ । लक्ष्मीपूजाको चार दिनपछि अर्थात कात्तिक शुक्लपक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत रूपमा आरम्भ हुन्छ ।
नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त देखिएका छन् । बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर किनमेल गर्न यतिबेला श्रद्धालु भक्तजन व्यस्त छन् । काठमाडौंको कमलपोखरी, गौरीघाट लगायत तराईका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई सजाउने कार्यसमेत तीव्र रुपमा भइरहेको छ ।
यही समयमा तराई मधेसका डोम समुदायलाई भने छठका लागि चाहिने बासका सामग्री बनाउन भ्याइ नभ्याइ छ । छठका समयमा राम्रो आम्दानी हुने भएकाले डोम समुदाय यतिबेला उत्साहित देखिन्छन् । यस्तै घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका काम पनि धमाधम भइरहँदा घाट व्यवस्थापकहरुको व्यस्तता बढेको छ ।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ । यस वर्षको छठको मुख्य दिन २२ गते बिहीबार परेको छ ।
प्रतिक्रिया