राजनीति

राष्ट्रपतिको गाई पूजा आलोचित, प्रचण्डको देउसी डान्स, बाबुराम फिल्म हेर्दै


तिहारले सबै क्षेत्रलाई छोएको छ । धेरै कर्मथलो छाडेर गाउँघर गएका छन् । तर, शहरहरु पनि दशैँजस्तो सुनसान भने छैनन् । तिहारको झिलिमिलीसँगै उल्लास पनि त्यत्तिकै छ । नेपालीहरुको दशैँपछि दोस्रो ठूलो चाड हो तिहार । अहिले सरकारी निजी कार्यालयदेखि राजनीति गतिविधि समेत ठप्प छन् । दिनैपिच्छे आन्दोलन, आरोप–प्रत्यारोप र निराशाको राजनीतिक केही दिनका लागि भए पनि शान्त छ । आँखिर तिहारमा राजनीतिज्ञहरु के गर्दैछन् त ?

समय समयमा लभ एण्ड हेटको सम्बन्ध बनाइरहने धेरै नेताहरुको जमघट सिस्नुपानी देउसीले गराइदियो । बिहीबार प्रज्ञा भवन कमलादीमा हातै मिलाउने र अंकमाल नै गर्ने माहोल नबनेपछि स्वर्ग नर्क गंगै जाने वाचा गरी धोका दिएका देखि देख्दै मुख कुल्ला गर्न मन लाग्नेहरुले समेत एकै मञ्च सेयर गरे । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, राजेन्द्र लिङदेन, सोविता गौतम, डा. भीम रावल, झलनाथ खनाल लगायत नेताहरु सहभागी थिए । जहाँ कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी एक अर्काको व्यंग्य सुन्न पाउँदा निकै हर्षित देखिन्थे । तर, आफ्नो बोल्ने पालो आउँदा प्रधानमन्त्री ओली सिस्नुपानीले चसक्क बिझाएपछि छट्पटिएका देखिन्थे ।

राष्ट्रपति रामचन्द्र पौडेल शीतलनिवासमै तिहार मनाउँदैछन् । शनिबार मात्रै पौडेलले गाइपूजा गरेको तस्बिर सार्वजनिक भएको छ । तर, सँगै रहेका पण्डितले खालि खुट्टा गाइको पूजा गरिरहदा पौडेलले भने जुत्तै लगाएरै पूजा गरेको दृश्य ट्रोल र आलोचित बनेको छ । यसवर्ष तिहारमै नेपाल संवत्समेत परेकाले नेताहरु सो समाहरोहमा समेत देखिए । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । यसअघि शुक्रबार मात्रै ओली तिहार विदाको सदुपयोग गर्दै चन्दागिरी पुगेका थिए । केबलकार चढेर भालेश्वर महादेव मन्दिर समेत पुगेर एकाएक काव्यिक भावमा पूस्तुत भएका ओलीले केही रचना लेखेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा पनि भक्तपुरमा नेपाल संवत्कै कार्यक्रममा सहभागी भए । आफ्नो प्रधानमन्त्रीबारे दिन गन्दै बसेका ओलीलाई देउवाले ढुक्क हुनुस् भन्दै थप्थप्याए ।

प्रचण्डले त लक्ष्मीपूजाकै दिन आफ्नो निसामै देउसी खेलेका छन् । गतवर्ष पत्नी सीता दाहालको निधन भएकाले उनको तिहार थिएन । हुन त प्रचण्डले परिवारका सदस्यलाई मनाउन सहयोग गर्ने भए पनि आफैँ भने उत्साही नहुने बताउँदै आएका छन् । हुन त भैँसी पुजेको आरोप लाग्ने र नास्तिक भनेर गेरुवश्त्र लगाउने प्रचण्ड आफैँ यस्ता गतिविधिले आलोचित छन् । तर, देउसीमा भने प्रचण्ड छमछमी नाचे ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई सिस्नुपानी धाउनेदेखि फिल्म हेरेर तिहार मनाइरहेका छन् । भट्टराईले शुक्रबार मात्रै नेपाली चलचित्र पूर्णबहादुरको सारंगी चलचित्र हेरेका छन् । जहाँ भट्टराईले ‘ऐतिहासिक रूपले नेपाली समाजमा गीतसंगीत क्षेत्रका अगुवा तर उल्टै सबभन्दा उत्पीडित र अपहेलित गन्धर्भ (गाइने) परिवारको मार्मिक संघर्षको कथामा आधारित यो फिल्म सबै सहृदयी मनहरूले हेर्नैपर्छ ।’ भनेका छन् ।

यही बीचमा पूर्व प्रधानमन्त्री तथा एकीर्कत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने भेनेजुएला भ्रमणमा निस्किएका छन् । भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा अध्यक्ष नेपाल नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो । फोरमले यही कात्तिक १९ र २० गते गर्न लागेको सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्नेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तिहार हिरासतमै हुने भएको छ । सहकारीको रकम ठगीको आरोपमा उनी कास्की प्रहरीको हिरासतमा छन् । तिहार बिदा सुरु भएकै अघिल्लो रात वयान सकिए पनि अदालत बनद भएकाले उनको तिहार हिरासतमै हुुनेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन तिहार मनाउन गृहजिल्ला झापा पुुगेका छन् । त्यहाका स्थानीय कार्यक्रमहरुमै रमाएका छन् । हल्दीबारीस्थित घरमा गाइपूजा मनाएको भिडियो लिङदेनले सार्वजनिक गरेका छन् ।

यता कांग्रेसका महामन्त्री गगन थापाको तिहार काठमाडौंमै छ । केही दिनअघि मात्रै थापाले कुकुर तिहार स–परिवार मनाएको तस्बिर सार्वजनिक गरेका थिए । अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने झापामा छन् । उनले पनि स–परिवार कुुकुर तिहारको तस्बिर सार्वजनिक गरेका छन् ।