Breaking

दशैं तिहारमा पौने १२ करोडको तास नेपाल भित्रियो


काठमाडौँ— तिहारअघि नेपालमा पौने १२ करोडको तास भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो तीन महिना (साउन, भदौ र असोज)मा उक्त रकम बराबरको तास नेपालले आयात गरेको हो ।

२०८१ को साउन, भदौ र असोज महिनामा ११ करोड ७७ लाख ५३ हजार रुपैयाँको तास नेपाल भित्रिएको विभागको तथ्यांकले देखाउँछ । उक्त मूल्यमा ३९ लाख ८५ हजार ६०३ प्याकेट तास नेपाल भित्रिएको छ । बितेको तीन महिनामा तासबाट ६ करोड ९५ लाख १७ हजार रुपैयाँ राजस्व सरकारले उठाएको छ ।

नेपालमा चीन, भारत, बेलायत र अमेरिकाबाट तार आउने गरेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा चीनबाट १० करोड ६३ लाख ९८ हजार रुपैयाँ र भारतबाट एक करोड १३ लाख ५० हजार रुपैयाँको तास नेपाल भित्रिएको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ को सोही अवधि (साउन, भदौ र असोज)मा नेपालले विभिन्न देशबाट १४ करोड ४९ लाख ३२ हजार रुपैयाँको तास आयात गरेको थियो । उक्त मूल्यमा ५२ लाख ४७ हजार ४८० प्याकेट तास नेपाल भित्रिदा सरकारले आठ करोड ७१ लाख ५६ हजार रुपैयाँ राजस्व उठाएको थियो ।

गत आर्थिक वर्षको तुलनामा यस वर्ष दुई करोड ७१ लाख ७९ हजार रुपैयाँ कमको तास नेपालले आयात गरेको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा नेपालले ३२ करोड १८ लाख ८७ हजार रुपैयाँमा एक करोड ११ लाख ७२ हजार ३३७ प्याकेट तास आयात गरेको थियो ।