पुराना राजनीतिक दल र नयाँ स्वतन्त्रहरुबीच एकले अर्कालाई सिध्याउन हदैसम्म लागेको देखिन्छ । सामाजिक सञ्जालमा कटाक्ष गर्नेदेखि सार्वजनिक रुपमै एकले अर्काविरुद्ध कडा अभिव्यक्ति दिँदै आगो ओकल्नेसम्मका गतिविधि देखिन्छ । जसका कारण पछिल्लो समय आमनागरिक पनि दुई ध्रुवमा बाडिएका छन् ।
‘जुन जोगी आए पनि कानै चिरेका’ भने झै पछिल्लो समय पुराना राजनीतिक दल र पुरानाको विकल्पका रुपमा उदाएका नयाँ दल तथा व्यक्तिहरु एकपछि अर्को काण्ड र विवादमा मुछिन थालेका छन् । नयाँ भनिएकाहरुबाटै धोका पाएपछि नागरिकमा विस्तारै उनीहरुप्रतिको विश्वासमा समेत संकट देखिन थालेको छ ।
लामो समय सञ्चारकर्ममार्फत खरो खबरदारी गर्दै लोकप्रियता कमाएका, जनताले आशा र भरोसा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्वगृहमन्त्री रवि लामिछाने बारम्बार विभिन्न विवाद र काण्डमा मुछिदा नयाँ पार्टीप्रति नै नागरिक निराश बन्न थालेका छन् । स्थानीय तहमा निर्वाचित स्वतन्त्र जनप्रतिनिधिहरु पनि कामभन्दा बढी स्टण्ड र चर्चाको पछि लाग्दा नागरिकको आशा विस्तारै निराशामा परिणत हुँदै गएको छ ।
उदण्ड हर्कत र हुकुमी शैलीमा प्रस्तुत हुने प्रवृत्ति हाबी हुँदा स्वतन्त्र जनप्रतिनिधिहरुसमेत विवादरहित बन्न सकेका छैनन् । यद्यपि, निरासाको बादलबीच जनतामा छाएका एक मात्र आशाको किरण काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) देखिन्छन ।
उनी अहिलेसम्म एक मात्र यस्तो पात्र हुन् गैरकानुनी विवाद र काण्डमा प्रत्यक्ष रुपमा मुछिएका छैनन् । उनीमाथि सिंगो देशका युवा र स्वतन्त्र नागरिकको विश्वास बर्करार देखिन्छ । यही कारण रास्वपा सभापति लामिछाने विभिन्न विवादमा मुछिदा बालेन भने हौसिएका छन् । बालेनले नयाँ राजनीतिक दल खोल्न सक्नेसम्मको आकलन हुन थालेको छ । उनले दल बनाएर रास्वपाले गरेका गल्तीलाई सच्चाएको खण्डमा पुनः नेपाली नागरिकमा पुरानाको विकल्पका रुपमो नयाँ शक्तिमाथिको आकर्षणलाई बढावा दिने देखिन्छ । तर, के बालेन दल गठन गर्दै रास्वपाका कारण गिरेको विरासतलाई उठाउन सफल होलान् ? प्रश्न उठ्न थालेको छ ।
पुराना र स्थापित दल तथा तिनका नेता र स्वतन्त्र रुपमा उदाएका व्यक्तिहरु बिच एक प्रकारको टसल नै देखिन्छ । पुरानाले नयाँलाई अनाडी र सामाजिक सञ्जालबाट भाग्यले उदाएको पात्रका रुपमा चित्रण गरेको देखिन्छ भने नयाँहरुले जनमतद्धारा निर्वाचित नयाँ युगको नेतृत्वको रुपमा आफूलाई स्थापित गर्न खोजिरहेको देखिन्छ । जसले गर्दा नयाँले पुरानालाई अपमान गरिरहेको आरोप लाग्ने गरेको छ ।
पुराना नेतालाई नयाँले नटेर्ने गरेको समेत आरोप छ । यसै कारण नयाँ उदाएका राजनीतिक व्यक्तित्व र पुराना नेताबीच हुने झगडा सार्वजनिक रुपमै छताछुल्ल हुने गरेको छ । नयाँ र पुरानाको भिडन्तको कुरा गर्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेनबीचको झगडा अग्रस्थानमा देखिन्छ । प्रधानमन्त्री ओली नयाँ र स्वतन्त्रहरुलाई सकाउने रणनीतिमै देखिन्छन् । लाग्छ उनलाई स्वतन्त्र शब्ददेखि नै एलर्जी छ । यतिसम्म कि नयाँ र स्वतन्त्रविरुद्ध प्रधानमन्त्री ओलीले निर्मम र तल्लो स्तरमै झरेर अभिव्यक्ति दिने गरेका छन् ।
सार्वजनिक रुपमा खासै बोल्न नरुचाउने काठमाडौं महानगरपालिकाका मेयर बालेनले बुधबार राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी दिवस एवं सिंहदरबार वैद्यखाना विकास समितिको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने सम्भावना बोकेको संस्था अहिले आफैँ थला पर्नु सोचनीय विषय भएको बताए । सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै सरकारप्रति घुमाउरो कटाक्ष गरे ।
(अहिले देश किन र कसरी डुब्यो, समस्या के हो भन्ने हेर्न मन भए सिंहदरबार वैद्यखाना हेरे पुग्छ’) यो बाइटमा राख्ने ।
२०७९ को स्थानीय तह निर्वाचनमा देखिएको स्वतन्त्रको झिल्को २०८४ सालमा ज्वालाको रुपमा उठ्ने आकलन राजनीतिक वृत्तमा भए पनि पछिल्लो घटनाक्रमले भने यसमा शंशय पैदा गरेको छ ।
जनताले कम समयमा विश्वास र भरोसा गरेका नयाँ अनुहारहरु नै बारम्बार विवाद र काण्डमा मुछिदा जनतामा नयाँ प्रतिको नैराश्यता छाएको देखिन्छ । तथापि, स्वतन्त्र रुपमा उदाएका बालेन शाह, हर्क साम्पाङ, गोपी हमालहरुले भने केही मात्रामा भए पनि जनतामा आशा जगाएका छन् । तर उनीहरुले नयाँ दलको विरासत धान्न सक्छन् या सक्दैनन् ? त्यो भने अझै अग्निपरीक्षामै रहेको छ ।
प्रतिक्रिया