लेबनानस्थित लडाकु समूह हिजबुल्लाहले उपमहासचिव नइम कासिमलाई समूहको नयाँ प्रमुख घोषणा गरेको छ । उनको आगमनसँगै गाजाबारेको अडानलाई समर्थन कायम राख्ने बताएका छन् । यसले पनि मध्यपूर्व तत्काल युद्धविराम तर्फ नजाने संकेत मिलेको छ ।
इजरायलले सेप्टेम्बर २७ मा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहलाई मारेपछि हिजबुल्लाहले उपमहासचिव नइम कासिमलाई नयाँ प्रमुख घोषणा गरेको छ । हिजबुल्लाह समूहले एक विज्ञप्ति निकाल्दै ७१ वर्षीय कासिमलाई नयाँ प्रमुख चुनेको हो । नसरल्लाहपछि प्रमुख हुने ठानिएका वरिष्ठ नेता हशिम सफिइद्दिनको पनि चार साताअघि मात्रै इजरायलले हत्या गरेको थियो । इजराइलले अक्टोबर २२ मा विज्ञप्ति निकाल्दै सफिइद्दिन मारिएको पुष्टि गरेको थियो ।
उक्त हमलामा सफिइद्दिनसहित हिजबुल्लाह समूहको गुप्तचर शाखा प्रमुख अलि हुसेन हजिमा लगायत २५ जना नेता र लडाकूहरू मारिएको दाबी इजरायलले गरेको थियो । सफिइद्दिन पनि मारिएपछि सार्वजनिक रूपमा देखिने हिजबुल्लाहका जीवित नेतामध्ये सबभन्दा वरिष्ठ उपमहासचिव नइम कासिमलाई नयाँ प्रमुख बनाइएको हो ।
इजरायलले लगातार आक्रमण गरेर प्रायः सबै वरिष्ठ नेता र कमान्डर मारेको र हतियार भण्डार तहसनहस बनाएका बेला हिजबुल्लाहको नेतृत्व उनका लागि आफैँमा चुनौतीपूर्ण हो । हिजबुल्लाहले कासिमलाई प्रमुख बनाएको घोषणा गर्नेबित्तिकै इजरायलले उनको पनि हत्या गर्ने धम्की दिइसकेको छ ।
इसराइली रक्षामन्त्री योआभ ग्याल्यान्टले सामाजिक सञ्जाल ’एक्स’मा पोस्ट गर्दै उनको नियुक्ति अस्थायी भएको र लामो समय नरहने चेतावनी दिएका छन् । यता नइम कासिमले गाजा मोर्चालाई समर्थन गर्दै अपनाएको युद्ध रणनीति जारी राख्ने बताएका छन् ।
आफ्नो कार्यक्रम राजनीतिक, जिहादी, सामाजिक र सांस्कृतिक सबै क्षेत्रहरूमा सैयद हसन नसरल्लाहको कार्यक्रमको निरन्तरता रहेको बताएका छन् ।
कासिमले हिजबुल्लाहको नयाँ महासचिवको रूपमा आफ्नो नियुक्तिपछि आफ्नो पहिलो टेलिभिजन भाषणमा उक्त टिप्पणी गरेका हुन् ।
कासिमले गाजा क्षेत्रमा इजरायलले निम्त्याएको खतराको सामना गर्न गाजालाई समर्थन गर्न आवश्यक रहेकोमा जोड दिएका छन् । कासिमको यो भनाइले पनि हिजबुल्लाह र इजरायलबीच युद्धविराम हुने सम्बाभना देखिदैन । यस्ले मध्यपूर्वको अबस्था गम्भिर र भयानक हुने सम्वना बढाइदिएको छ ।
प्रतिक्रिया