Breaking

ओलीको क्रेज खतम, रंगशालामै ‘देश छोड’को नारा


साफ महिला फुटबलमा नेपाल उपविजेतामा सीमित हुँदा स्तब्ध भएका नेपाली समर्थक एकैछिमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खनिए । रंगशालामा उनीविरुद्ध नारा त लाग्यो लाग्यो सामाजिक सञ्जालमा समेत ओलीले खेल हेरेकै कारण नेपालले हारेकोजस्ता निम्न स्तरका टिप्पणीहरु सार्वजनिक भइरहेका छन् ।

साफ महिला फुटबलको फाइनलमा नेपालले बंगलादेशसंग हारेपछि एकैछिन रंगशाला नै शुनशान बन्यो । बंगलादेशले विजयोत्सव मनाइरहदा नेपाली समर्थक स्तब्ध थिए । तर, केही समय बित्न नपाउँदै एकाएक होलल्ला बढ्यो । तर, त्यो होहल्ला बंगलादेशलाई बधाई वा नेपाललाई हौसला दिन नभइ नेपालले हारेको रिस देशका प्रधानमन्त्रीविरुद्ध पोखिएको थियो । एक भीडले आपत्तिजनक शब्दोच्चारण सहित प्रधानमन्त्रीविरुद्ध ‘देश छोडको नारा लगायो ।

यहाँ एक युवाले देश छोडको नारा लगाइरहदा उनीसँगै बसेका केही चुपचाप देखिन्छन् भने पछाडीपट्टी रहेको एक समूह यस्तो नारा लगाउन पुरै जाँगर चलाइरहेको देखिन्छ । नाराको आगो झोसिदिएपछि रंगशाला नै ‘देश छोड’को नाराले गुञ्जिन्छ । अनि यी नरा लगाउने व्यक्ति खुशी मुद्रामा देखिन्छन् । मुहारमा चमक देखाउँदै ‘अँ अब ठिक छ’ भनेको सुनिन्छ । त्यसपछि एकाएक शान्त बनेको रंगशाला असान्दर्भिक गतिबिधिले तात्छ । प्रधानमन्त्रीको सत्तोसराप गर्दै केही उनीहरु रंगशालाबाट बाहिरिएको देखिन्छ ।

जबकी खेल हार्नुमा प्रधानमन्त्रीको कुनै भूमिका नै छैन । तर, सामाजिक सञ्जाल यसरी रंग्याइएको छ कि ओलीकै कारण खेल हारियो । स्वयं प्रधानमन्त्रीकै फेसबुक मात्रै हेर्ने हो भने पनि गालीको ओइरो र खेल हार्नुको कारण नै ओलीलाई मानिएको छ । सभा, कार्यक्रमको ओझ र व्यक्तिभन्दा बढी देशको कार्यकारी पदको सम्मान गर्न नसक्ने भीडका कारण अराजकता बढ्दै गएको जानकारहरु बताउँछन् । पुराना नेताले जति काम गर्न सक्नुपथ्र्यो त्यती गर्न नसकेको सत्य भए पनि अन्र्तराष्ट्रिय समुदायबाट समेत मूल्यांकन हुने सभाहरुमै यसरी प्रधानमन्त्रीविरुद्ध नारावाजी गर्नु अराजकताको हद हो ।

प्रहरी स्रोतका अनुसार यो समूहले प्रधानमन्त्री त्यहा जाने थाहा पाए लगत्तै नारावाजीको योजना बनाएको थियो । खासमा अहिले बिहान सडक आन्दोलन गरेर साँझ सत्तारुढ नेताहरुसँग आफ्ना सभापति रवि लामिछाने रिहाईको हारगुुहार गर्ने रास्वपा प्रधानमन्त्रीविरुद्ध खनिएको छ ।

बालुवाटारमा भेट्ना जाँदा पनि उल्टै हपारेको रास्वपाले आफ्ना ग्रुपहरुमार्फत पहिल्यै सर्कुलर गरी टिकट काट्न लगाएको र त्यही समुहले नाराबाजी गरेको बुझिएको छ । त्यसको भान नदिन यतिसम्म जुुक्ति लगाइएको छ कि बालेन शाहको पक्षमा हुटिङ गरे उनकै समर्थक हुन् भन्ने पर्ने भएकाले केपी ओली देश छोडसँगै बालेन शाह जिन्दावाद पनि भनेको सुनिन्छ । सम्भावित गतिविधिबारे जानकार रहेको प्रहरीले हरेक क्षेत्रमा सादा पोशाकका प्रहरी परिचालन गरेको थियो । अहिले भिडियो हेरेर समेत नाराबाजी गर्नेहरुको पहिचान भइरहेको छ ।

तर, ओलीविरुद्धको यो आक्रोश यहाँ मात्र देखिएको भने होइन । ओली प्रधानमन्त्री बनेकै दिनदेखि उनको लोकप्रियताको ग्राफ निरन्तर खस्किदो छ । कार्यकर्ता र नागरिक तहबाटै केपी ओली आइ लभ यूको नारासहित सम्मान पाउने ओली अहिले हेट यूको सिकार बनिरहेका छन् । र, यसको धेरै ठूलो कारण पनि छैन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग अनावश्यक पंगा र हिजो पल्पुल्याएर राखेका पूर्वगृहमन्त्री रवि लामिछानेको गिरफ्तारी कारक देखिन्छ । यसबाहेक विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग जाइलाग्न थालेपछि ओलीविरुद्ध जनलहर खनिएको देखिन्छ । इन्द्रजात्रामा ओलीविरुद्ध नाराबाजीको डर, संविधान दिवसमा भएको नाराबाजीदेखि अमेरिकामा समेत सुुरक्षा चुनौती थपिएको थियो । तर पनि देशमा केही भएकै छैन भन्ने ओली दृष्टिका कारण उनी दिनप्रतिदिन अलोकप्रिय हुँदै गइरहेका छन् ।

खेलकुदका क्रममा देशको कार्यकारी व्यक्तिमाथि नाराबाजी भएको यो मात्रै पहिलो पटक भने होइन । यसअघि पुष्पकाल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका समय क्रिकेट हेर्न गएका बेला समेत नाराबाजी र सामाजिक सञ्जालमा कटाक्ष हुने गरेको थियो । नेता खतम भए त्यसमा दुईमत छैन । तर, कुन हदसम्मको अराजकता सह्य वा सान्दभिक हुन्छ यसमा सचेत जनताले पनि सोच्नुपर्ने होइन र ?