सातौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि बङ्गलादेशले चुमेको छ । घरेलु टोली नेपाललाई स्तब्ध बनाउँदै बङ्गलादेशलेल लतागार दोस्रो पटक उपाधि उचालेको हो ।
भनिन्छ फुटबलमा इतिहास दोहोरिन्छ । नभन्दै दुर्ई वर्षपछि बुधबार फेरि त्यही पुरानो इतिहास दोहोरियो । सन् २०२२ पनि हजारौं नेपाली दर्शकलाई निराश बनाउँदै दशरथ रङ्गशालामा पहिलो पटक साफको उपाधि उचालेको बङ्गलादेशले बुधबार फेरि त्यही इतिहास दोहो¥याएको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा बङ्गलादेशले घरेलु टोली नेपाललाई २–१ ले स्तब्ध पार्दै लगातार दोहोरो पटक साफको उपाधि चुम्यो । २४ वर्ष देखिको उपाधि जित्ने नेपालको सपना फेरि दुई वर्षका लागि सपनामै सीमित भएको छ ।
दक्षिण एसियाली फुटबल महासङ्घको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगितामा नेपालको उपाधिको खडेरी तोडिने धेरैको आशा र अपेक्षा भए पनि त्यो सफल हुन सकेन । घरेलु मैदानमा नै नेपालका हार्नुका धेरै छन् । गोलका लागि सावित्रा भण्डारी साम्बाकै मात्र भर पर्दा ‘प्लान बी’ रणनीति देखिएन । बल होल्ड गरेर खेल्न नसकेका खेलाडीहरू बल भेट्नासाथ साम्बासम्म पु¥याउनमा नै आतुर थिए । जसमा साम्बालाई विपक्षीका तीन जनाले मार्क गर्दा नेपालको साम्बा रणनीति सफल हुन सकेन । त्यस्तै नेपाली टिममा सशक्त मिडफिल्डरको पनि कमी देखियो ।
भएका खेलाडीहरू पनि पूर्ण रुपमा फिट नहुँदा त्यसबाट निस्किएको पीडादायी नतिजाको साक्षी दर्शक बत्र पुगे । गलत रणनीति, अनावश्यक दबाव, गोल आएपछि गुमेको आत्मविश्वास नै हारको कारक बन्यो । यसका बाबजुद व्यवस्थापकीय पक्ष त मुख्य कारक छदैछ । अभिभावक संस्था अखिल नेपाल फुटबल सङ्घ पनि हारको जिम्मेवार हो । प्रतियोगिता हुनु अघि नेपालले एक खेल पनि अरु देशसँग अभ्यास गर्न पाएन । जसका कारण सीमित खेलाडीमा प्रतियोगिता खेल्नु प¥यो ।
फुटबलको बलियो आधार महिला लिगको अस्तव्यस्तता र घरेलु टुर्नामेण्टहरू लथालिङ्ग र भताभुङ हुँदाको असर नै साफ फाइनलमा देखियो ।
प्रशिक्षक र खेलाडीको आफ्नै मेहनत र बलबुतामात्र फाइनलसम्मको यात्रा तय गरेको नेपाली टिम वास्तवमा कसैको प्राथमिकतामा नै परेको छैन । वर्षमा एक÷दुई वटा अन्तरर्राष्ट्रिय खेल खेलाउने र प्रतियोगिताअघि महिना दिन बन्द प्रशिक्षणमा राखेकै भरमा उपाधिको आश गर्नुपनरेको छ । बिहीबार मात्रै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले उपविजेता टोलीसँग भेटघाट गर्दै तिहारलगत्तै जनही तीन तीन लाख दिने घोषणा गरे । भेटघाटमा खेलाडीसँगको कुराकानीमा ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट पारेका थिए । तर, खेलाडीहरूले भने आफूहरूले राज्यबाट पाउनु पर्ने सेवा सुविधा पाउन नसकेको दुःखेसो पोखेका छन् । आफूहरूको खुशीयालीमा मात्र सरकारले उपस्थिति जनाउने र आवश्यक पर्दा राज्य गायब हुने गरेको खेलाडीको गुनासो छ । साथै, खेलाडीहरूले खेलको बारेमा मात्रै सोच्ने माहोल बनाईदिन समेत आग्रह गरेका छन् ।
राज्यको उधारो पुरस्कारकै भरमा खेलाडीहरूले देशको शिर राख्न मेहनत गरिरहनुपरेको छ । खेलाडी उत्पादनमा सम्बन्धित निकायको ध्यान अझै जान सकेको छैन । नेपाली फुटबल भगवान् भरोसामा चलिरहेको जानकारहरुको बुझाइ छ । विभागीय टिमले उत्पादन गरिदिएको खेलाडीकै भरमा एन्फाले राजनीति गर्न पाएको उनीहरु बताउँछन् ।
एन्फाको नेतृत्वकर्ताहरुको भिजनमै प्रश्न उठाउँदै पूर्व राष्ट्रिय खेलाडी सुन्दर थापा फुटबल र खेलाडीको विकास भन्दा पनि पैसा कमाउनका लागि मात्रै आएको बताउँछन् ।
समग्रमा नेपालले जे जति पनि फुटबलमा सफलता हात पारेको छ त्यो नितान्त खेलाडी र प्रशिक्षककै मेहनतले भन्दा फरक पर्दैन । खेलाडीले विभित्र समस्याकै बिच खेल्नु पर्दा सोचे अनुसारको खेल प्रदर्शन गर्न सक्दैनन् । दर्शकको सबैभन्दा बढी माया पाएको खेल बन्दा बन्दै पनि खेलाडीहरू यो क्षेत्रमा आफ्नो भविष्य नदेखेर विदेशीन बाध्य बनेका कैयन उदाहरण छन् । उचित लगानी र फुटबलको विकासप्रति एन्फाको स्पष्ट रोडम्याप नहुँदा खेलाडीले खेल खेलेरै आफ्नो र परिवारको जिवनयापन गर्न नसक्ने अवस्थामा नेपालका खेलाडीहरू छन् ।
प्रतिक्रिया