अन्तर्राष्ट्रिय

हतियारको होडमा किमको छलाङ, सात हजार कि.मि हान्ने क्षेप्यास्त्र


उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको आशङ्का गरिएको छ । दक्षिण कोरियाली सेनाका अनुसार उत्तरले अन्तर महादेशीय ब्यालेष्टिक मिसाइल हानेको छ । दुई कोरियाली देशबिच सम्बन्ध बिग्रिएकै समयमा उक्त क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।

अन्तर्राष्ट्रिय समूदायको निन्दाका बीच पूर्वी एशियाली राष्ट्र उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरिरहन्छ । केहीले गतिविधिले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को प्रस्ताव उल्लङ्घन गरेकाले उत्तर कोरियामाथि कडा प्रतिबन्धहरू समेत लगाइएको छ । तर पनि उ आफ्नो कदममा टसमस भएको देखिदैन । हालसालै उत्तर कोरियाले पुनः क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । बिहीबार सबैभन्दा नयाँ र शक्तिशालीमध्ये एक क्षेप्यास्त्रको परीक्षण गरेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले रूसमा सैनिक पठाएको आरोप लगापछि यो पहिलो हतियार परीक्षण हो । उत्तर कोरियाले आगामी हप्ता हुने अमेरिकी चुनावअघि अर्को अन्तर–महाद्वीपीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसिबिएम) को परीक्षण वा परमाणु परीक्षणसमेत गर्नसक्ने चेतावनी दिएको थियो । यो प्रक्षेपण अमेरिकी र दक्षिण कोरियाली रक्षा प्रमुखहरूले प्योङयाङलाई आफ्ना सैनिकहरूलाई रूसबाट फिर्ता बोलाउन आह्वान गरेको केही घण्टापछि भएको हो । उनीहरूले उत्तर कोरियाली सैनिकहरू रूसी बर्दीमा युक्रेनविरुद्ध सम्भावित कारबाहीका लागि तैनाथ गरिएको चेतावनी दिएका थिए ।

‘अहिलेसम्मको प्रारम्भिक मूल्याङ्कनअनुसार प्योङयाङले नयाँ ठोस लामो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको हुनसक्छ’, दक्षिण कोरियाली सेनाले भनेको छ । क्षेप्यास्त्र करिब सात हजार किलोमिटर माथि उडेको थियो । प्रक्षेपण गर्न छिटो र पत्ता लगाउन तथा पहिले नै नष्ट गर्न कठिन उन्नत क्षेप्यास्त्रहरूको विकास किमको लामो समयदेखिको लक्ष्य रहेको छ । उत्तर कोरियाले प्रतिबन्ध विपरीत प्रक्षेपणको बचाउ गर्दै यसलाई ‘आफ्नो प्रतिक्रियाबारे प्रतिद्वन्द्वीहरूलाई सूचित गर्ने उद्देश्य पूरा गर्ने एउटा उपयुक्त सैन्य कार्य’ भनेको किमलाई सरकारी सञ्चारमाध्यमले जनाएका छन् । परीक्षणले उत्तर कोरियाको ‘रणनीतिक क्षेप्यास्त्र क्षमताको हालैका रेकर्डहरू अपडेट गरेको’ बताइएको छ । किमले ‘आफ्नो परमाणु शक्तिहरू बलियो बनाउने आफ्नो लाइन कहिल्यै परिवर्तन नगर्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै जापानले ‘आइसिबिएम वर्गको’ क्षेप्यास्त्र उत्तरले पहिले परीक्षण गरेको सबैभन्दा लामो समयसम्म उडेको बताएको छ । यो करिब ८६ मिनेट हावामा रहेको र सात हजार किलोमिटरको उचाइसम्म पुगेको थियो । ‘यसको उडान उचाइ हामीले देखेको सबैभन्दा उच्च थियो भन्ने हामीले अनुमान गरेका छौँ’, जापानी रक्षामन्त्री जेन नाकातानीले भनेका छन् । अमेरिकाले प्रक्षेपणलाई ‘संयुक्त राष्ट्रसङ्घीय सुरक्षापरिषद्का धेरै प्रस्तावको स्पष्ट उल्लङ्घन’ भनेर निन्दा गरेको छ ।

यता दक्षिण कोरियाले भने अमेरिका र जापानले अमेरिकी रणनीतिक सम्पत्ति समावेश गरेर संयुक्त सैन्य अभ्यासद्वारा जवाफ दिने बताएको छ । दक्षिण कोरियाली राष्ट्रपति युक सुक योलले पनि देशले उत्तर कोरियामाथि ‘नयाँ स्वतन्त्र प्रतिबन्धहरू लगाउने’ र साझेदार तथा संयुक्त राष्ट्रसङ्घसँग मिलेर प्योङयाङलाई दण्डित गर्न काम गर्ने बताएका छन् । लामो समयसम्म चुप लागेर बसेको उत्तर कोरिया मिसाइल प्रक्षेपणसँगै फेरि चर्चामा आएको छ ।