सूर्यदर्शन सहकारीको रकम अपचलन र संगठित अपराध कसुरमा गत कात्तिक दुई गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध थप चार वटा सहकारीको रकम अपचलनमा पनि अनुसन्धान थालिएको छ । गोर्खा मिडिया प्रालिमा रकम भित्रिएका सहकारी संस्थाहरुको रकम हिनामिना सम्बन्धमा मिहिन ढंगले प्रहरीले अनुसन्धान थालेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पोखराको सूर्यदर्शनसहित ५ वटा सहकारीको रकम हिनामिना प्रकरणमा अनुसन्धान अगाडि बढेको छ । गत कार्तिक दुई गते सूर्यदर्शन सहकारीको रकम अपचलन र संगठित अपराधको कसुरमा पार्टी कार्यालय बनस्थलीबाट पक्राउ परेका लामिछानेमाथिथप चार सहकारी संस्थाबाट गोर्खा मिडियामा रकम आएको आधारमा अनुसन्धान थालिएको हो ।प्रहरी स्रोतकाअनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीमा भएको अनुसन्धान सकिएलगत्तै उनलाई अन्यत्रका सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान गर्ने तयारी गरिएको छ ।
त्यसका लागि सम्बन्धित जिल्लाहरुलाई तयारी थाल्न निर्देशन दिइसकिएको छ ।अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, सूर्यदर्शनपछि उनीमाथि काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, वीरगञ्जको सानो पाइला र नेपालगञ्जको समानता सहकारी संस्थाको रकम अनियमिततामा अनुसन्धान अगाडि बढ्ने छ ।
ती सहकारीबाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ सहकारीमा लगानी गरिएको देखिएको नेकपा एमालेका सांसद् सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । थप ४३ करोड ७ लाख ७४ हजार ५३८ रुपैयाँ भने विभिन्न व्यक्तिका नाममा ऋण देखाएर गोर्खा मिडिया नेटवर्कमा लगिएको तथ्य भेटिएको थियो ।
समितिले सहकारीको रकम निजी कम्पनीमा लैजानु नै गैरकानुनी भएको निष्कर्ष निकालेको छ । सुरुमा पोखराको सूर्यदर्शन सहकारीको मात्र चर्चा भए पनि त्योभन्दा बढी रकम अन्य सहकारीबाट अपचलन भएको देखिएको छ ।रवि संलग्न अन्य सहकारीको अनुसन्धान अगाडि बढाउने क्रममा रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा प्रहरीले अदालतबाट उनीविरुद्ध पक्राउ अनुमति लिइसकेको छ ।
जिल्ला अदालत, रुपन्देहीले कात्तिक ८ गते उनलाई ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको हो ।गोर्खा मिडिया प्रालिको एमडीको हैसियतमा सहकारीबाट आएको रकम अपचलन गरेको आरोपमा रविमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । जुन संस्थामा अनियमित तवरले हालसम्म पाँच सहकारी संस्थाबाट रकम आएको अनुसन्धानले देखाएको छ । तर रास्वपाका नेता, कार्यकर्ताले भने सभापति लामिछानेमाथि राजनैतिक प्रतिशोध साँधिएको आरोप लगाउँदै सरकारविरुद्ध आन्दोलन गर्दै आएका छन् ।
रुपन्देहीको सुप्रिम सहकारीमा १ हजार ८३१ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ अनियमितता भएको पाइएको छ। सुप्रिम सहकारीबाट मात्र १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडियामा आएको अनुसन्धानले देखाएको छ ।त्योमध्ये लामिछानेको नाममा गैरकानुनी रुपमा २ करोड रुपैयाँ व्यापार कर्जा स्वीकृत गरेको भेटिएको अभियोग पत्रमा उल्लेख छ।जिल्ला प्रहरी परिसर, काठमाडौंले जीबी राई अध्यक्ष रहेको कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अनियमितताबारे पनि अनुसन्धान थालेको छ । सहकारीको करिब १ अर्ब रुपैयाँ अनियमितता गरेको भन्दै प्रहरीमा ५ सय २८ जनाले २०८१ को वैशाखमा जाहेरी दिएका थिए । बागमती प्रदेशको सहकारी रजिष्ट्रारको कार्यालयले पनि स्वर्णलक्ष्मी सहकारीबारे छानबिन गर्न भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंलाई पत्र पठाएको थियो । अनुसन्धानका क्रममा स्वर्णलक्ष्मी सहकारीको दुईवटा बहिखातामा लामिछानेले ४६÷४६ लाख रुपैयाँ ऋण लिएको देखिन्छ ।
प्रहरीले त्यसबेला केही व्यक्तिसँग सोधपुछ समेत गरेको थियो, त्यसक्रममा त्यो ऋण लिन रवि पत्नी निकिता पौडेल आफैं सहकारी पुगेको खुलेको थियो ।प्रहरी अधिकारीहरुका अनुसार, स्वर्णलक्ष्मी सहकारीबाट लिइएको ऋणबाट रविले गाडी खरिद गरेको बयानका क्रममा खुलेको थियो । बयानबाट गाडी किनेकोखुले पनि हालसम्म प्राप्त कागजमा गाडी खरिद गर्न ऋण लिएको नभेटिएको प्रहरी अनुसन्धानमा देखिएको छ । लामिछानेमाथि मात्रै नभएर सहकारी ठगी प्रकरणका सबै घटनामा सरकार निर्मम् रुपमा अगाडि बढेको देखिन्छ । तर, लामिछानेसँगै अरु व्यक्तिमाथि पनि अनुसन्धान भइरहे पनि लामिछानेलाई मात्र फसाउन खोजिएको भाष्य उनको पार्टी रास्वपाले निमार्ण गरिरहेको देखिन्छ । संसदीय छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयन थालेको सरकारले सहकारी ठगी प्रकरणको अनुसन्धानलाई तीव्रता दिएको छ ।
पोखरादेखि नेपालगञ्ज, चितवन, रुपन्देही, विरगञ्जसम्मको सहकारी संस्थासम्ममा लामिछानेमाथि छानबिन हुने भएपछि अनुसन्धानमा सहयोग गर्न प्रहरी प्रधान कार्यालयले सम्बन्धित जिल्लामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि खटाएको छ ।सीआईबीबाट डीएसपी सुन्दर तिवारीको नेतृत्वमा प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षक गरी तीन जनाको टोली पोखरा पुगेर अनुसन्धान थालेको छ । प्रहरी र अदालतले मध्यरातसम्म लामिछानेमाथि बयान लिने गरेको छ । लामिछानेविरुद्धसहकारीको रकम अपचलनसम्बन्धमा उजुरी र अनुसन्धान खप्टिँदै जाँदा उनको हिरासत बसाइँसमेत लम्बिने देखिएको छ
प्रतिक्रिया