मधुमास सकिएलगत्तै सरकारले उपलब्धिका फेहरिस्त सुनाए पनि केही मन्त्री यसपटकसमेत गुमनाम रहे । स्वयं प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो पार्टीकै मन्त्रीप्रति सकारात्मक छैनन् । को को मन्त्री छन् त रेड जोनमा ?
सोचेजस्तो नतिजा नआएपछि सरकार मन्त्री फेर्ने मनसायमा पुगेको छ । अघिल्लो सरकारकै काम देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिनको फेहरिस्त सुनाए पनि मन्त्रीको काममा स्वयं ओली नै सन्तुुष्ट छैनन् । हुन त सरकार बनेकै समय ओली निकै सक्रिय देखिए पनि तीनपटक माग्दासमेत मन्त्रीहरुले योजना दिएका थिएनन् । त्यसपछि भदौ २७ गते मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री ओलीले कात्तिक ६ गते, माघ १७ गते र चालु आर्थिक वर्षको अन्त्यसम्म गरी तीन भागमा हासिल गर्ने कामको सम्झौता गरिएको थियो । तर, समीक्षाको पहिलो अवधिमा नै केही मन्त्रीहरुको रिपोर्ट कार्ड निकै कमजोर देखिएको छ ।
कात्तिक ४ गते प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुुर देउवाबीच भएको भेटमा समेत यसबारे सामान्य छलफल भएको बुझिएको छ । जहाँ ओली र देउवाले आफ्नै पार्टीका केही मन्त्रीहरुसँगै असन्तुष्टि जनाएका छन् । अब एक्सन लिने मुडमा ओली देखिन्छन् । कार्यसम्पादन सम्झौताकै क्रममा ओलीले चिनियाँ भिक्षुको कथा सुनाउँदै रिपोर्ट कार्ड कमजोर भएका मन्त्रीलाई ठाउँ ओगटेर मात्रै नबस्न भनेका थिए ।
मन्त्री अहिल्यै फेरिहाल्ने वा केही समय कुर्ने भन्नेबारे टुंगो लागी नसके पनि चाँडै नै रिपोर्ट कार्डको लेखाजोखा गरेर निर्णय लिने बुझिएको छ ।
ओली–देउवाको रेड जोनमा परेका मन्त्रीहरु :
१. बद्री पाण्डे, संस्कृति तथा पर्यटनमन्त्री
मन्त्री पाण्डेका केही गतिविधि छन्, जसले समग्र सरकारकै आलोचना भएको थियो । विपद्को समयमै हवाई भाडा बढाउने निर्णयले सरकारको निकै आलोचना भएको बुझाइमा ओली–देउवा छन् । यस्तै गौशालास्थित पशुपति धर्मशाला काठमाडौं महानगरपालिकाको जिम्मा लगाउन गरेको हतारोमासमेत गठबन्धन सन्तुष्ट छैन । महानगरको जिम्मा लगाइसकेपछि ब्याक भएर सबै काम रोक्न लगाउने डबल स्ट्याण्डर्डले पाण्डेलाई रेड जोनमा पारेको छ ।
२. पृथ्वीसुब्बा गुरुङ, सञ्चारमन्त्री
आफ्नो मन्त्रालयमा सम्झनलायक काम नगरेका मन्त्री गुरुङ सरकारका प्रवक्तासमेत हुन् । यतिका विवाद आउँदा सरकारप्रति रक्षात्मक हुन नसकेको र आफ्नो मन्त्रालयमासमेत अपेक्षित प्रगति गर्न नसकेका गुरुङ रेड जोनमा छन् ।
३. रमेश लेखक, गृहमन्त्री
खासमा विपद्का समयमा गैरजिम्मेवार भएको भन्दै पार्टीमै आलोचना भएको थियो । यसबाहेक प्रहरी संगठन लथालिंग पारेको, दुई तिहाइको बलियो सरकारका प्रधानमन्त्रीको नक्कली शवको यात्रा गराउँदासम्म लेखकले एक्सन लिन नसक्नु र प्रहरी हिरासतमै रहेका समय पूर्वगृहमन्त्री रवि लामिछानेलाई सरकारविरुद्ध बोल्न दिइएपछि ओली असन्तुष्ट छन् । पछिल्लो समय रविको पक्राउपछि उनको पद सम्हालिन सक्ने देखिए पनि पार्टीकै सभापति देउवा र एनपी साउँद समूह उनलाई हटाउन सक्रिय रहेको बुझिन्छ ।
४. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकासमन्त्री
मन्त्री सिंह सरकारमा कांग्रेसकै नेतृत्व गरेर गए पनि त्यसअनुसार काम गर्न नसकेको बुझाइमा स्वयं देउवा नै देखिएका छन् । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा हुँदा उनले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लागेको थियो । यसबाहेक सिंहलाई देउवाले पार्टीको १४ औँ महाधिवेशनमा आफूलाई सभापतिमा सहयोग गरेको गुन तिर्नका लागि मन्त्री उपहार दिएको चर्चा हुने गरेको छ । यसबाहेक सिंह अहिले पनि स्वास्थ्य उपचार गराइरहेकाले उनलाई आराम दिनुपर्ने बुझाइमा गठबन्धन छ ।
एमालेमै पनि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री दामोदर भण्डारीबाहेक अरु मन्त्रीहरु रेड जोनमा रहेको बताइन्छ । पौडेलले भने अर्थतन्त्र उकास्नमा नतिजा देखाएको र अहिले पनि विदेशी लगानी भित्र्याउन लागिपरेकाले उनी भने तत्काल संकटमा छैनन् । यसबारे सरकारैपिच्छे मन्त्रीको अफर पाइरहने उद्योगमन्त्री दामोदर भण्डारी भने भूगोलका कारणसमेत आफ्नो पद सुरक्षित राख्ने देखिन्छ । शिक्षामन्त्री विद्या भट्टराईको त गृहमन्त्रालयसँगै टसल देखिएको थियो । यसबाहेक एमालेका मन्त्री खासै सक्रिय पनि छैनन् भने विवादित पनि बनेका छैनन् ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाउने विषयमा उर्जामन्त्री दीपक खड्कासँग ओलीको तालमेल मिलेको छैन । यसैकारण ओलीले आइतबार व्यवसायीको छलफलमा समेत खड्कासँगै उद्योगमन्त्री भण्डारीलाई पनि पठाएका थिए । यसबाहेक जीवनभर मन्त्रीको बक्सिस थापिरहेका श्रममन्त्री शरदसिंह भण्डारी पछिल्लो पटक मन्त्री बनेदेखि नै पार्टीमै विरोध भइरहेको छ । अब मन्त्री फेरबदल हुँदा उनलाई समेत फिर्ता बोलाउनुपर्ने मत पार्टीमै बलियो बन्दा सत्तापक्षमै रहेर प्रतिपक्षीजस्तो बनेका उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई समेत मन्त्री दिनुपर्ने मुडमा ओली देखिन्छन् ।
प्रतिक्रिया