नेपालमा भएको साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणले नेपाली खेलाडी र खेलप्रेमीमाझ जुन उत्साह र हौसला ल्यायो त्यति नै विवादित पनि बन्न पुग्यो । नेपाली महिला फुटबल खेलाडीहरुको प्रर्दशनले पनि राम्रै प्रशंसा बटुली रहेको छ । घरेलु मैदानमा दर्शकको जबरजस्त समर्थनले खेलाडी र सिंगो खेल क्षेत्र उत्साहित छ । तर बिडम्बना साफ महिला च्याम्पियनसिप आयोजक एन्फा भने फेरि एकपटक उदाङ्गिएको छ ।
पहिलो दृश्य भद्रकाली आर्मी गेट परिसर, दोस्रो दृश्य एन्फा कम्प्लेक्स सातदोबाटो र तेस्रो दृश्य जावलाखेल फुटबल मैदान परिसरको हो । यो भिड नेपाली फुटबल समर्थकहरुको हो । बुधबार साँझ साढे ६ बजे सुरु हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्नकै लागि टिकट लिन फुटबलप्रेमी नेपाली समर्थकहरु कोही भद्रकालीस्थित सेनाको जंगीअड्डाको गेट परिसर, कोही एन्फा कम्प्लेक्स सातदोबाटो त कोही जावलाखेल फुटबल मैदान परिसरमा पुगेका थिए । अखिल नेपाल फुटबल संघ एन्फाले बिहान ८ बजेदेखि टिकट बिक्री गर्ने भने पनि टिकट नपाउने डरले समर्थकहरु बिहान पाँच बजे नै टिकट काउन्टर पुगेका थिए ।
गत आइतबार भएको सेमिफाइनलमा भारतलाई हराउँदै फाइनलमा प्रवेश गरेको नेपालले बुधबार बंगलादेशसँग फाइनल खेल खेल्ने भएपछि टिकट काट्ने दर्शकको घुइँचो हुनु स्वभाविक थियो । यसअघिका खेल हेर्न अनलाइनबाट टिकट काट्ने व्यवस्था गरेको एन्फाले नेपाल र भारतबीचको सेमिफाइनलमा दशरथ रंगशालाको क्षमताभन्दा बढी टिकट बेचेको भन्दै अनलाइन टिकट बिक्री रोकेको थियो ।
टिकट बिक्रीको जिम्मा पाएको माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट प्रालिले हेलचेक्राइँ गरेको र सत्यतथ्य बुझ्ने कार्य भइरहेको भन्दै टिकट बिक्री रोक्न भनेको थियो । एन्फाको यो निर्णयसँगै दर्शकले भौतिक रुपमै उपस्थित भइ टिकट काट्नु पर्ने बाध्यता आएपछि टिकट बिक्री स्थलमा बिहानैदेखि टिकट लिने खेलप्रेमीहरुको घुइँचो लागेको हो । एन्फाको फितालो व्यवस्थापनका कारण दर्शकले अनलाइनमार्फत सहज रुपमा टिकट पाउन नसक्दा घण्टौँ लाइनमा बस्नु पर्ने सास्ती व्यर्होन पुगे । ठूलो संख्यामा सर्वसाधारण टिकट लिन बिक्री स्थल पुगेपछि व्यवस्थापन मिलाउनसमेत सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । टिकट वितरण अपारदर्शी भएको भन्दै दर्शकले विरोध गर्दा पटक पटक प्रहरीसँग झडपको अवस्थासमेत बनेको थियो । हजारौंको संख्यामा उपस्थित दर्शकले टिकट काट्न नपाएपछि होहल्ला गरेका थिए । टिकट काट्न सास्ती खेपेका खेलप्रेमीहरु एन्फाविरुद्ध नाराबाजीमै उत्रिएका थिए । टिकट बिक्रीमा व्यापक ब्ल्याकमेलिङ भएको उनीहरुको आरोप छ । एन्फा मात्र नभइ सरकारसमेत फुटबलप्रेमीको निशानामा प¥यो । टिकट नपाएपछि आक्रोशित सर्वसाधरणले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरे ।
एन्फाले टिकटका लागि सम्झौता गरेको कम्पनीबाट टिकट बिक्रीको जिम्मा खोसेर आफैँले टिकट बिक्री गर्दा यो अवस्था उत्पन्न भएको हो । जसका कारण समर्थकले प्रहरीको हस्तक्षेप खेप्नु प¥यो भने अनलाइनमा टिकट काटेर ढुक्क बसेकाहरुले पनि अन्तिम समयमा धोका बेहोर्नु प¥यो । अनलाइन टिकट बिक्रीको जिम्मा खोसिएपछि एन्फाले फास्ट ट्रयाकमार्फत अनलाइनमार्फत नै टिकट बिक्रीको वैकल्पिक व्यवस्था गर्नु पर्ने थियो । तर, त्यसतर्फ ध्यान नदिएर भौतिक रुपमै आफैँले टिकट बिक्री गर्न एन्फा अगाडि बढ्दा विवाद र आलोचनाको घेराबन्दीमा परेको छ । योसँगै नेपालसँगको सेमिफाइनल खेल दर्शककै कारण एक घण्टाभन्दा बढी समय अवरुद्ध भएको विषयमा भारतले साफमा उजुरी नै गर्ने भएको छ । भारतीय फुटबल महासंघ (एआईएफए) ले नेपालविरुद्ध साफमा उजुरी गर्ने तयारी गरेको हो । यसले देशकै प्रतिष्ठामाथि प्रश्न उठ्ने देखिएको छ भने एन्फाको फितलो व्यवस्थापनलाई उदाङ्गो बनाएको छ ।
त्यसो त देशभित्र अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन भइरहेको र त्यसको जिम्मेवारी लिएको एन्फा जस्तो जिम्मेवार निकायकै नेतृत्व यतिबेला विदेश भ्रमणमा छन् । नेतृत्वको जिम्मेवारीमा रहेको अन्तर्राष्ट्रिय खेलमा त्यसै अनुरुपको भूमिका र उपस्थिति देखिनु पर्ने हो । तर, एन्फा अध्यक्ष पञ्कजविक्रम नेम्वाङसहित केही पदाधिकारी दक्षिण कोरियामा छन् । एन्फाले प्राप्त गरेको एएफसी मेम्बर एसोसिएसन अफ दि ईयर अवार्ड थाप्न नेम्वाङसहितको टोली दक्षिण कोरिया पुगेको हो । प्रतियोगिता सञ्चालन भइरहेको अवस्थामा देखिएका कमीकमजोरी र फितलो व्यवस्थापनमा नेतृत्वको अनुपस्थितिले पनि भूमिका खेलेको आरोप लागिरहेको छ ।
कुनै पनि प्रतियोगिता सञ्चालनमा छिटफुट कमीकमजोरी, गुनासा, आलोचना हुनु अन्यथा नहोला तर देशको प्रतिष्ठासँग जोडिएको महत्वपूर्ण प्रतियोगितामा एन्फाको फितलो व्यवस्थापनलाई सामान्य रुपमा लिनु गम्भीर त्रुटि ठहरिने छ । यसकिसिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु जित र हारमा मात्र सीमित रहँदैन । खेलसँगै राष्ट्रियताको भावना पनि जोडिने भएकाले जित वा हारले समर्थकहरुको ठूलो समूहलाई खुसी र दुःखी बनाउँछ । दशरथ रंगशालामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका हार–जितलाई प्यारापिटमा बसेका मात्र नभई घरघरबाट खेललाई नियाली रहेका समर्थकका लागिसमेत महत्वपूर्ण रहन्छ ।
प्रतिक्रिया