Breaking

ट्रम्पलाई आछुआछु पार्दै कमला, किन फेरियो प्रक्षेपण


संयुक्त राज्य अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति चुनाव हुँदैछ । रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि मैदानमा छन् भने उनलाई चुनौती दिन डेमोक्य्राटिक पार्टीका तर्फबाट उपराष्ट्रपति कमला ह्यारिस चुनावी अभियानमा छिन् । अहिलेसम्मको चुनावी सर्वेक्षण र लोकप्रियतालाई हेर्दा दुर्व उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

अमेरिकी नागरिकले यो वर्षको ५ नोभेम्बर २०२४ मा आफ्नो नयाँ राष्ट्रपति चयन गर्न मतदान गर्दैछन् । यो मतदानले विश्वको ध्यान तान्ने निश्चित छ । रिपब्लिकन पार्टीको तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् भने डेमोक्र्याटिक पार्टीको तर्फबाट उपराष्ट्रपति कमला ह्यारिस चुनावी प्रतिस्पर्धामा छिन् । मतदानको दिन नजिकिँदै गर्दा कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा टक्कर हुने देखिँदैछ । निर्वाचनमा सहभागी भएका दलमध्ये रिपब्लिकन र डेमोक्र्याट उम्मेदवारबीच एक अर्कामाथि आरोपप्रत्यारोप गर्ने क्रम तीव्र रूपमा अघि बढेको छ । उक्त निर्वाचनमा कसले बाजी मार्लान् ? अहिले नै भन्न कठिन देखिएको छ ।

चुनावमा ट्रम्प र ह्यारिसबीच तीव्र प्रतिस्पर्धा हुने मत सर्वेक्षणहरुले देखाएका छन् ।
चुनाव प्रचारका क्रममा ह्यारिसभन्दा ट्रम्प गालीगलौजमा तल्लो स्तरमा उत्रिएर मतदातालाई आफूप्रति आकर्षित गर्ने प्रयास गरिरहेका छन् ।

आफ्ना एजेन्डाभन्दा पनि विपक्षी उम्मेदवारका बारेमा गरिएको टिप्पणीले चुनावमा ट्रम्प पराजित हुने संकेतका रुपमा विश्लेषकहरूले लिएका छन् । यसअघिको निर्वाचनमा राष्ट्रपतिका उम्मेदवारबीचको मतअन्तर १० प्रतिशत र सोभन्दा बढी हुने गरेकोमा यसपटक भने दुवै उम्मेदवारबीचको मतान्तर लगभग हाराहारीमा रहने पूर्वानुमानले चुनावी परिणाम अनिश्चित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विश्लेषण गर्दै आएका छन् । यता कमला ह्यारिसलाई साथ दिन राष्ट्रपति जो बाइडेन पनि मैदानमै छन् ।

उनले पनि ट्रम्पमाथि विभिन्न आरोपहरु लगाइरहेका छन् । यसैबीच उनले डोनाल्ड ट्रम्पका समर्थकहरूलाई “फोहोर“ भनेर सम्बोधन गरेका छन् । ह्वाइट हाउसले यसलाई पोर्टो रिकन्स विरुद्ध प्रयोग गरिएको घृणापूर्ण बयानबाजीलाई संकेत गरेको थियो, तर रिपब्लिकन र ट्रम्पको अभियानले राष्ट्रपतिको निन्दा गरेको छ । ट्रम्पले पनि बाइडेनलाई हाँस्य कलाकार तथा “फोहोरमा तैरिरहेको टापु“ सँग तुलना गरेका छन् ।

चुनाव नजिएसंगै चुनावी ¥याली तथा सभामा पनि दुई समूहबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ भने यसपटकको राष्ट्रपति निर्वाचन विगतको भन्दा फरक हुन सक्ने टिकाटिप्पणी हुन थालेको छ । यद्यपि, मतदानको अन्तिम नतिजा नआएसम्म यसै भन्न सकिने अवस्था नरहेकाले कसको पोल्टामा नतिजा जाने हो त्यो भने हेर्न बाँकी छ ।