रास्वपाका सभापति रवि लामिछाने पक्राउको आज ११ दिन पनि रास्वपाले सरकार विरोधी प्रदर्शन गरेको छ । सभापति लामिछानेलाई हिरासत मुक्त गर्न दबाब दिँदै रास्वपाले काठमाडौंको बालुवाटारमा विरोध प्रदर्शन गरेको हो । यसक्रममा प्रहरीले हस्तक्षेप गर्दै रास्वपाका केही नेता तथा कार्यकतालाई नियन्त्रणमा लिएको छ ।
देशको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने पक्राउ विरुद्ध मंगलबार काठमाडौंको बालुवाटारमा विरोध प्रदर्शन ग¥यो ।सरकार विरोधी प्रदर्शनमा सरकारले प्रहरी प्रयोग गरी चलाखीपूर्ण तवरले आन्दोलनलाई दमन गरेको देखिन्थ्यो । आन्दोलनका लागि तय भएको स्थानबालुवाटारस्थित नेपाल हाउस क्षेत्रमा प्रवेश गर्ने ठाउँहरुमै प्रहरीले अवरोध गरेको थियो । प्रहरीले पर्चा पम्प्लेट बोकेका तथा समूहमा आएका रास्वपा नेता कार्यकर्तालाई आन्दोलन स्थल पुग्नै नदिएर बाटोबाटै फर्काएको देखिन्थ्यो ।
आन्दोलनमाथि हस्तक्षेप गर्ने रणनीतिसहितप्रहरीले कार्यक्रम सुरुहुनु अगावै रास्वपाकानेता तथा सांसदहरुलाई नियन्त्रणमा लिएको थियो ।प्रहरीले रास्वपा सांसद अशोक कुमार चौधरी, रास्वपाका ताप्लेजुङ जिल्ला सभापति वीरेन्द्र कुमार श्रेष्ठ, काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल, सवि खड्का लगायतलाई नियन्त्रणमा लिएको थियो । विरोध कार्यक्रम स्थलबाट आफूहरु निस्किँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको रास्वपाका नेताहरुले बताएका छन् ।
रास्वपाका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले शान्तिपूर्ण आन्दोलनमा प्रहरी देखाएको बहादुरीप्रति खेद प्रकट गरे । उनले विरोध प्रदर्शन सुरु हुनुभन्दा पहिला नै प्रहरीले बाटोमा हिँडिरहेका केही नेता, सांसद तथा कार्यकर्तालाई पक्राउ गरेको भन्दैसरकारको निन्दा गरेका छन् ।आन्दोलनमा सहभागी हुन आएका समर्थकहरुलाई सरकारले प्रहरी प्रयोग गरेर आन्दोलन प्रभावित बनाउन खोजेको उनको आरोप छ ।
आन्दोलनमा सहभागी हुन आएका केही नेता कार्यकर्तालाई कार्यक्रम अवधिभर प्रहरीले गाडीमा थुनेर राखेको र कार्यक्रम सकिए पछि मात्र छोडेको भन्दै रास्वपा कार्यकर्ताहरु प्रहरीप्रति आक्रोशित देखिन्थे ।उनीहरुले पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई यथाशीघ्र रिहाइ गर्न पनि सरकारसंग माग गरेका छन् ।
यसैबीच बालुवाटारमा मंगलबार भएको विरोध प्रदर्शनमा पक्राउ परेका रास्वपाका ५१ जना नेता कार्यकर्ता केही घण्टा पछि छुटिसकेका छन् । लामिछाने पक्राउपछि निरन्तर विरोध प्रदर्शन गर्दै आएको रास्वपाले आफूहरुको आन्दोलनमा सरकारले दमन गरेको आरोप लगाएको छ । प्रहरीले भने निषेधित क्षेत्रमा विरोध प्रदर्शन हुन नदिन रोकेको दाबी गरेको छ । आफूहरुको मागमा सरकार गम्भीर नभएकाले थप ध्यानाकर्षण गराउन बालुवाटारमा विरोध प्रदर्शन गरिएको रास्वपाको भनाइ छ ।
रास्वपाका नेता कार्यकर्ताले सभापतिलाई हिरासत मुक्त नगरेसम्म आन्दोलन जारी राख्ने उद्घोष गरेका छन् । यो पहिलो चरणको आन्दोलन भए पनि अब थप शसक्त रुपमा आन्दोलनमा प्रस्तुत हुने उनीहरुले चेतावनी दिएका छन् ।
मंगलबारको विरोध प्रदर्शनमा नारा, गीत, कविता, ब्यंग्य, मन्तव्य प्रस्तुत गरिएकोे थियो । कार्यक्रमलाई उपसभापति डा.स्वर्णिम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार र सांसद सोविता गौतमलगायतले सम्बोधन गरेका थिए ।
रास्वपा निरन्तर सडक संघर्षमा रहेर सभापति लामिछानेलाई रिहाइको माग गरिरहँदा सरकार भने उनीविरुद्धको मुद्दामा दिनप्रति दिन निर्मम् रुपमा प्रस्तुत हुँदै गएको छ । पछिल्लो समय रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा रकम आएको ५ वटै सहकारीमाथि गहन र मिहिन ढंगले अनुुसन्धान थालेको देखिन्छ । सरकार जसरी पनि लामिछानेलाई जेल मै सडाउने रणनीतिमा देखिन्छ भने रास्वपाका नेता कार्यकता जसरी पनि सभापतिलाई हिरासत मुक्त गरेर छाड्ने मनसायमा देखिन्छन् ।
रास्वपा सडकदेखि गृहमन्त्री, प्रधानमन्त्री र सत्तारुढ घटक दलका नेतासंग भेट्ने र सभापति लामिछानेलाई रिहाइ गरिदिन गुहार माग्नेसम्मको गतिविधिमा सक्रिय देखिन्छ ।आन्दोलन जारी राख्ने रणनीतिमा रास्वपा देखिए पनि आन्दोलनबाट मात्रै समस्याको निकास ननिस्कने देखेपछि रास्वपाले विकल्पबारे समेत सोच्न थालेको छ । विरोधसँगै सत्ता पक्षकै नेताहरुसँगको भेटवार्तामा सक्रिय रास्वपाको आन्दोलन कुन रुपमा टुंगिन्छ ? अहिले नै यसै भन्न सकिने अवस्था नरहे पनि सत्ताको अगाडि रास्वपा झुक्ने र राजनीतिक सौदाबाजी गर्न सक्ने सम्भावना भने प्रबल बन्दै गएको छ ।
प्रतिक्रिया