Breaking

रवि छुटाउन ओली र लेखकको पाउँमा रास्वपा


आन्दोलनबाट सभापति छुटाउने योजना सफल हुने नदेखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बार्गेनिङमा लागेको छ । यसका लागि केन्द्रीय स्तरकै नेताहरु प्रधानमन्त्री, गृहमन्त्रीसँग भेट गर्नेदेखि अनेकन विकल्प खोज्न थालेका छन् ।

केही दिनयतादेखि सडकमा ‘केपी ओली मुर्दाबाद’को नारा रास्वपाका हरेक नेताको मुखमुखमा झुण्डिएको छ । भिड उचालेर अदालतमा विचाराधीन मुद्दामा अनावश्यक दबाब बढाइरहेको छ । यतिसम्म कि आन्दोलनबाटै आफ्ना सभापति रवि लामिछानेलाई छुटाउने योजना थियो । तर, यसले पनि दाल नगल्ने भएपछि रास्वपाले अर्को नीति लिएको छ । त्यो हो– केपी ओली र शेरबहादुर देउवासँग ‘त्वम् शरणम्’ गर्ने । अहिले उसको आन्दोलन सहकारी पीडितको न्यायभन्दा बढी सभापति लामिछानेको रिहाइ हो । त्यसका लागि बाहिर भ्रष्ट र नालायक करार गरिएका ओली र देउवा लगायतसँगै घुँडा टेक्नसम्म पनि बाध्य बन्दैछ ।

१. बन्दीप्रत्यक्षीकरण रिटको सहारा
लामिछानेलाई छुटाउन बन्दी प्रत्यक्षीकरण रिटको सहारा लिने तयारी छ । त्यसका लागि लामिछानेपत्नी निकिता पौडेल काठमाडौं आएकी छन् । कसैलाई गैरकानुनी थुनामा राखेको लागेमा यस्तो रिट दिन सकिन्छ । तर, सहकारी ठगीकै मुद्दामा अनुसन्धानका क्रममा रहेका छविलाल जोशीले पनि यस्तो रिट दिएका थिए । तर, अजोज १६ गते न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र अब्दुल अजिज मुसलमानको इजलासले दसैँ विदा सुरु हुन लागेकाले धरौटी वा तारेखमा छोड्न सकिनेबारे प्रहरीलाई सोच्न भनेको थियो । अदालतले थुनामुक्त नै गर्नु नभने पनि हिरासतबाहिर राखेरसमेत अनुसन्धान गर्न सकिने संकेत गरेको थियो । तर, प्रहरीले छविलाललाई छोड्न मानेन ।
२. केपी ओलीसँग भेट
रवि छुटाउनकै लागि सडकमा ओली मुर्दाबादको नारा लगाए पनि रास्वपाका नेताहरुले प्रधानमन्त्री ओलीसँग भेट गरेका छन् । सोमबार राति ११ ः ४५ मा बालुवाटार पसेर उपसभापति डीपी अर्याल र सांसद शिशिर खनाल ओलीसँग भेट गरी बिहान १ बजे निस्किएका थिए । जहाँ डीपीले हिरासतबाट रविको सन्देश भन्दै ओलीसँग सहयोग मागेका थिए । प्रधानमन्त्री ओलीलाई भेटेर रविलाई बचाउन हारगुहार गरेको बिषय एमाले नेता विष्णु रिजालले नै सार्वजनिक गरेका छन् । सो भेटमा रिजाल पनि सहभागी थिए । यसरी कडा शैलीमा प्रस्तुत हुनुभन्दा नेतृत्वसँग घुँडा टेक्दा नै फलिफाप हुने मनसायमा रास्वपा देखिन्छ ।
३. देउवासँग भेटको प्रयत्न, गृहमन्त्रीसँग बातचित


यसै विषयलाई लिएर सोमबार साँझ उपसभापति डीपी अर्याल र गृहमन्त्री रमेश लेखकबीच पनि भेट भएको छ । भेटमा रविको रिहाइबारे छलफल भएको स्रोत बताउँछ । तर, अर्यालले भने बालुवाटारको प्रदर्शनमा शान्ति सुरक्षाको चाजोपाजो र गृहमन्त्रीलाई शुभकामना दिन गएको भनेका छन् । पोखरामा प्रदर्शन गर्दा सुरक्षा नमाग्ने र तीन महिनापछि बल्ल मन्त्री बनेकोमा बधाई दिन गएको भन्ने तर्क आफैँमा शंकास्पद र हाँस्यास्पद हो । खासमा डीपी कांग्रेस सभापति शेरबहादुुर देउवालाई भेट्न चाहन्थे । तर, मुद्दा दर्ता नभएसम्म भेट् गर्नुले गलत अर्थ लाग्ने भन्दै देउवाले भेट्न अस्वीकार गरेका छन् । देउवाले आफू सम्बन्धित मानिस पनि नभएकाले प्रधानमन्त्री र गृहमन्त्रीलाई नै भेट्न सुझाएका थिए । यी दुवै भेटमा रास्वपाले प्रतिशोध नलिई अनुसन्धान कमजोर पारिदिन आग्रह गरेको थियो ।

४. गगन र आरजुसँग मध्यस्तता गर्न छुट्टै टिम
यसबाहेक रास्वपाले कांग्रेस महामन्त्री गगन थापा र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग मध्यस्थता गर्न छुट्टै टिम खटाएको छ । यो टिममा पूर्वकांग्रेसी रास्वपा नेता एवं उपसभापति डा. स्वर्णिम वाग्ले र कार्यवाहक प्रवक्ता मनिष झा रहेका छन् । तर, उनीहरुले अहिलेसम्म गगन र आरजुसँग भेट नपाएको बुझिएको छ ।

अहिले काठमाडौंमा सत्तारुढ नेताहरुसँग छलफल गर्ने र पोखरामा रहेका कोषाध्यक्ष दीपक बोहरालाई ब्रिफिङ गर्ने दैनिकी रास्वपा नेताहरुको बनेको छ । अनि बोहराले रविलाई हिरासतमै पुगेर गतिविधि सुनाउने गरेका छन् । सुरुमा सडकबाट मुद्दा कमजोर बनाउन खोजेको रास्वपा अहिले प्रहरीले एकपछि अर्को अनुसन्धानमा सभापतिलाई तान्न थालेपछि सरकारसँग घुँडा टेकेरै राजनीतिक सौदाबाजीमा लागेको हो । रवि पक्राउ पर्न अघि पनि कांग्रेस सभापति देउवालाई भेट्न चाहेको विषय सार्वजनिक भएको थियो । तर, कार्यकर्तालाई देखाउनकै लागि भए पनि उसले आन्दोलन भने अन्त्य गर्न सकेको छैन । दिनभर सत्तालाई गाली गर्ने र रातभर त्यही सत्तासँग हारगुहार गर्ने रास्वपाको डबल स्ट्यान्डर्ड जनतालाई भुलभुलैयामा पार्ने र विकल्पका नाममा सेन्टिमेन्टको राजनीति गर्ने अर्को अस्त्र हो ।