Breaking

सुनचाँदी किन्नेकै होडबाजी, टक्सारमा थामिनसक्नु भिड, धातुका भाँडावर्तन किन किन्ने ?


नेपालीहरुको दोस्रो ठूलो सांस्कृतिक पर्व तिहार अर्थात यमपञ्चक आजदेखि सुरु भएको छ । बिहान ११ बजेर १ मिनेट पछि कार्तिक कृष्ण त्रयोदशी लागेकाले आजैदेखि यमपञ्चक सुरु भएको हो । यमपञ्चक अन्तर्गत आज धन्तेरस मनाइएको छ । धनतेरसको अवसरमा नेपाल राष्ट्र बैंकको टक्सार विभागमा चाँदीको सिक्का, सुनको असर्फी किन्नेको भिड र सुनचाँदी तथा भाँडाकुँडा पसलमा सर्वसाधरणको घुँइचोले पनि यसको महत्वलाई दर्शाउँछ ।

यो दृश्य नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखा मुद्रा व्यवस्थापन विभाग परिसरको हो । थेग्नै नसक्ने यो भिड र लामो लाइन धनतेरसका अवसरमा चाँदीको सिक्का र सुनको असर्फी किन्न टक्सार महाशाखामा पुगेका सर्वसाधरणको हो । आ–आफ्नो गच्छे अनुसार कोही सुन त कोही चाँदीको सिक्का लिन टक्सार महाशाखाको कार्यालय बबरमहल पुगेका थिए । सर्वसाधरणको भिड सम्हाल्न र सेवा प्रवाह गर्न टक्सार महाशाखालाई हम्मेहम्मे परेको देखिन्थ्यो । असर्फी किन्नका लागि बिहान ६ बजेदेखि सर्वसाधारणहरु लाइन लागेका थिए । सुन चाँदीको सिक्का खरिद गर्न घण्टौँ लाइनमा बसेका सर्वसाधरण सहज सेवा नपाएको भन्दै आक्रोशित देखिन्थे ।

तिहारमा धनतेरसको दिन धातु, सुनका गहरगना, भाँडाकँुडा किन्ने प्रचलन छ । यस दिन धातुका भाँडावर्तन, सुनचाँदीका गरगहना किनमेल गरे लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक विश्वास रहीआएकाले पनि यस्ता सामग्री खरिद गर्नेको भिड लाग्ने गरेको छ । बजारमा भन्दा केही सस्तो मूल्यमा सुन चाँदीका सिक्का पाइने भएकाले टक्सार महाशाखामा सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ । थाम्नै मुस्किल पर्ने भिडका कारण सुनचाँदीका सिक्का किन्नेहरुले सास्ती व्यर्होनु परेको थियो । तर पनि घण्टौँ लाइन बसेर असर्फी किन्न उनीहरु तयार थिए ।

सर्वसाधरणको माग अधिक भए पनि राष्ट्र बैंकले भने मंगलबार एक दिन मात्र दिउँसो ४ बजेसम्म २.५ ग्राम तौलको सुनको सिक्का बिक्री गरेको छ । मंगलबारको सुनको बजार मूल्यका आधारमा सुनको सिक्काको मूल्य निर्धारण गरिएको थियो । एक व्यक्तिलाई एक थानका दरले पहिले आउनेलाई प्राथमिकता दिई असर्फी बिक्री गरिएको टक्कार महाशाखाले जनाएको छ ।

आकासिएको सुनको मूल्य र सुनको अभावसमेत रहेकाले राष्ट्र बैंकले यसअघिको मौज्दात सिक्का मात्र बिक्री गरेको जनाएको छ । १० र २५ ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित चाँदीको सिक्का बिक्री गरिरहेको महाशाखाले चाँदीको सिक्का भने बुधवार पनि बिक्री हुने जनाएको छ । त्यस्तै, १० तथा २५ ग्रामको चाँदीको सिक्का भने सोमबारदेखि नै बिक्री सुरु भएको छ । यसको मूल्य तौल र डिजाइन अनुसार २२०० रुपैयाँदेखि ८,५७५ रुपैयाँसम्म तोकिएको छ ।

चाँदीको सिक्का र सुनको असर्फी खरिद गर्न टक्सार महाशाखामा जति भिड थियो, त्यस्तै काठमाडौंको मुख्य व्यापारिक क्षेत्र न्युरोड, असन लगायतका बजारमा पनि सर्वसाधारणको घुइँचो देखिन्थ्यो । सुनभन्दा पनि चाँदीका गरगहना पाइने पसल तथा भाँडाकुँडाका पसलहरुमा सर्वसाधरणको घुँइचो बढी देखिन्थ्यो ।

धनतेरसका दिन खरिद गरेर ल्याइएको भाँडाकुँडा राखी कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दु धार्मिक विश्वास छ । धार्मिक विश्वासकै कारण मंगलबार भाँडाकुँडा एवं गरगहना किन्ने चलन रही आएको छ । कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस धन त्रयोदशी, भाण्ड त्रयोदशी जस्ता नामले समेत चिनिन्छ । सांस्कृतिक चाड तिहारमा धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआराधना हुने भएकाले यो पर्वलाई धन सम्पत्तिकी प्रतीक लक्ष्मी भित्र्याउने पर्वको रुपमा मनाइने हुँदा तिहारको रौनक धनतेरसबाटै सुरु भइसकेको छ ।