सातौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि भिडन्तका लागि भोलि नेपाल र बङ्गलादेश आमनेसामने हुँदैछन् । साविकको विजेता बङ्गलादेश र पाँच पटकको उपविजेता नेपालको तुलना गर्दा को कति बलिया छन् त ?
सन् २०२२ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामै भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र बङ्गलादेश भिडेका थिए । त्यसको दुई वर्षपछि एक पटक फेरि त्यही इतिहास दोहो¥याउँदै गत संस्करणकै फाइनलिस्टहरू बुधबार उपाधि उचाल्न मैदानमा उत्रिँदै छन् । नेपालले सेमिफाइनलमा पाँच पटकको विजेता भारतको चुनौतीलाई पेनाल्टी सुट आउटमार्फत पार लगाउँदै छैटौं पटक साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्दा भुटानलाई ७–१ ले पाखा लगाएको बङ्गलादेशसँगको भेट पक्का गरेको हो । नेपाल र बङ्गलादेशको राष्ट्रिय महिला फुटबल टोली अहिलेसम्म ११ पटक एकअर्कासँग भिडेका छन् ।
जसमा बङ्गलादेशले एक खेलमात्रै जित्दा पाँच खेलको नतिजा नेपालले आफ्नो पक्षमा पारेको छ । यसले बंगलादेशविरुद्ध नेपाल हाबी भएको इतिहास छ । बंगलादेशको एक मात्र जित गत संस्करणको फाइनलमा आएको थियो । उक्त खेलमा नेपाललाई ३–१ ले स्तब्ध पार्दै बंगलादेशले उपाधि रक्षा गरेको थियो । साफ च्याम्पियनसिपमा तीन पटक मात्रै भिड्दा नेपालको नाममा दुई जित छ भने बङ्गलादेशले एक जित दर्ज गरेको हो ।
नेपालले यसअघि भएको भेटमा सुखद् नतिजा निकाल्न नसके पनि बुधबार हुने फाइनल खेलमा भने उक्त नतिजालाई उल्टाउने लक्ष्य लिएको छ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बा आफ्नो टिमको ब्रण्डिङ राम्रो भएकाले बंगलादेश विरुद्धको फाइनल जित्ने अवसर पनि अनुकूल रहेको बताउँछिन् । अहिले पनि यो टिमले प्रतियोगिता नजिते अर्काे ५÷१० वर्षसम्म जित्न नसक्ने उनको भनाइ छ । नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पनि उपाधि जित्न एक कदम बाँकी रहेको र टिमको अर्जुन दृष्टि नै सोही भएको हुँदा फाइनलका लागि आफूहरु तयार रहेको बताए ।
दक्षिण एसियामा बंगलादेश नयाँ शक्ति बनेर उदाएको छ, जसलाई बङ्गलादेशले पछिल्लो एकै संस्करणमा भारतलाई ३–० र फाइनलमा नेपाललाई ३–१ ले हराएर प्रमाणित गरिसकेको छ । पाँच पटक उपाधि जितेर साफको सर्वाधिक सफल टोली बनेको भारतपछि बङ्गलादेशमात्र अर्काे टोली हो जसले उपाधि उचालेको छ ।
साविक विजेता बङ्गलादेश तेस्रो पटक साफ महिला फुटबलको फाइनलमा प्रवेश गरेको हो । यसै प्रतियोगिताको समूह चरणमा पनि भारतलाई ३–१ ले स्तब्ध पार्दै समूह विजेता बनेको थियो भने बङ्गलादेशले तीन गोल खाँदा विपक्षीको पोष्टमा ११ गोल गरेको छ । बेलायती प्रशिक्षक पिटर बटलरले सम्हालेको टोलीमा युवा र सिनियर खेलाडीको मिश्रण त छ नै अहिले लयमा समेत देखिएको छ ।
बङ्गलादेशसँग भेट पक्का गरेको नेपालले समूह चरणको पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेल्दा दोस्रो खेलमा माल्दिभ्सविरुद्ध ११–० को जित हात पारेको थियो । त्यस्तै श्रीलंकालाई ६–० ले पराजित गर्दै समूह विजेता बनेको थियो भने सेमिफाइनलमा निर्धारित समयसम्म १–१ को बराबरी खेलेको भारतलाई पेनाल्टीमा हराएर फाइनल प्रवेश गरेको हो । नेपालले खेल चार खेल खेल्दा एक गोल खाएर १८ गोल गर्न सफल भएको छ ।
तर, नेपाली टोलीमा खेलाडीहरू चोटग्रस्त भएका कारण चुनौती थपिएको छ । धेरै खेलाडी घाइते हुँदा खेलाडी व्यवस्थापनमा समस्या देखिँदै आएको छ भने त्यसको प्रभाव खेलमा समेत पर्ने छ । यसमाथि फरवार्ड रेखा पौडेलसमेत टिम बाहिर रहने भएकी छन् । भारतविरुद्धको सेमिफाइनलमा दोहोरो पहेँलो कार्डसहित रेड कार्ड पाएकी उनले फाइनल गुमाउने भएकी हुन् । यद्यपि, टिममा १९÷२० को मात्र फरक भएको हुँदा नेपाल उपाधि जित्न सक्षम रहेको फुटबलका जानकारको बुझाइ छ ।
यसैबीच कात्तिक ११ गते नेपाल र भारतबीचको सेमिफाइनलमा आफूहरूसँगको सम्झौता विपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै एन्फाले माउन्ट एभरेस्ट स्पोट्र्स एन्ड इभेन्ट्स प्रालिसँगको टिकट बिक्री सम्झौता रद्द गरेको छ । जसका कारण अनलाइन टिकट बुकिङसमेत रद्द भएको छ भने यसअघि फाइनलका लागि काटिएका टिकटको रकम फिर्ता हुने भएको छ । फाइनल खेलकै दिन बुधबार मात्र टिकट बिक्री गर्ने एन्फाले निर्णय गरेको छ । यो निर्णयले फाइनल खेल हेर्न चाहने दर्शकले रंगशालामै पुगेर टिकट लिनु पर्ने बाध्यता आइपरेको छ । अनलाइन टिकट बिक्रीसम्बन्धी सम्झौता खारेज गरे पनि एन्फाले सो सुविधा कटौतीभन्दा पनि आवश्यक विकल्प रोज्नु पर्नेमा त्यसो हुन नसक्दा नेपाली फुटबलप्रेमी निराश बनेका छन् ।।
प्रतिक्रिया