रुस र युक्रेनबीच लडाइँ भएको दुई वर्ष नाघेको छ । लडाइँ तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा यो तत्कालै टुंगिने कुनै संकेत देखिँदैन । बरु दुई देशको युद्धमा अन्य देशसमेत मिसिन सक्ने संकेत उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले गरेको छ ।
रूसले युक्रेनमा आक्रमण सुरु गरेको २ वर्षभन्दा धेरै भइसकेको छ । आक्रमण थालेको छोटो समयमै रुसले युक्रेनमाथि कब्जा जमाएर आफू अनुकूलको शासन सत्ता स्थापित गर्ने ठानिएको थियो । सैनिक संख्या, हातहतियार र प्रविधिका आधारमा विश्वकै दोस्रो शक्तिशाली देश रुससामु १८ औं स्थानको युक्रेन लामो समय टिक्ने अनुमान कसैको पनि थिएन । तर पछिल्लो अवस्थालाई झट्ट हेर्दा रुस–युक्रेन युद्ध विश्लेषण गरिएको भन्दा निकै फरक देखिएको छ । युद्ध प्रारम्भमा आक्रामक अवस्थामा थियो भने अहिले आएर यो रक्षात्मक अवस्थामा परिणत हुँदै गएको छ । यता उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठाएपछि विभिन्न खाले टिकाटिप्पणी भइरहेको छ ।
यसले केही हप्तामै युक्रेनविरुद्ध लड्ने सम्भावना रहेको सोलले चेतावनी दिँदै यो तीव्र तैनाथीले ‘महत्त्वपूर्ण सुरक्षा खतरा’ उत्पन्न गरेको बताएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले गत जुन महिनामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेपछि प्योङयाङले ठूलो सङ्ख्यामा सैनिक तैनाथ गर्न थालेको सोलको आरोप छ ।
यो विषयमा नेटोले पनि पहिलो पटक आफ्नो धारणा राखेको छ । नेटो प्रमुख मार्क रुटेले युक्रेनमा रुसको युद्ध प्रयासलाई बलियो बनाउन उत्तर कोरियाली सैनिकको तैनाथीलाई द्वन्द्वको खतरनाक विस्तार भनेका छन् । उनले यसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘बढ्दो निराशा’ लाई संकेत गरेको बताएका छन् ।
दक्षिण कोरियाली गुप्तचर अधिकारीहरूसँगको ब्रिफिङपछि उनले उत्तर कोरियाली सैन्य एकाइ रुसको पश्चिमी कुस्र्क क्षेत्रमा पठाइएको पुष्टि गरेका छन् । “रुस र उत्तर कोरियाबीचको बढ्दो सैन्य सहयोग इन्डो–प्यासिफिक र युरो–एटलान्टिक दुवै सुरक्षाका लागि खतरा हो”, रुटेले पत्रकार सम्मेलनमा भने, “कुस्र्कमा उत्तर कोरियाली सैनिकको तैनाथी पुटिनको बढ्दो निराशाको संकेत पनि हो ।’ रुटेका अनुसार द्वन्द्व सुरु भएयता ६ लाखभन्दा बढी रुसी सैनिक मारिएका वा घाइते भएका छन् र क्रेमलिन विदेशी समर्थन बिना आक्रमण जारी राख्न असमर्थ छ ।
पुटिनले पश्चिम विरोधी गठबन्धन निर्माण गर्ने प्रयास जारी राखेकाले मस्को र प्योङयाङबीच बढ्दो सैन्य सम्बन्ध अमेरिका र युरोपेली संघ (ईयू) का लागि ठूलो चिन्ताको विषय रहेकोसमेत उनले बताएका छन् । अहिले युक्रेन वा रुस तथा तिनका सहयोगीहरूले शान्ति सम्झौताका लागि कुनै आधार फेला पारेका छैनन् । किएभले आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनस्र्थापित हुनुपर्ने माग राख्दै रुसी सेनालाई जुनसुकै हालतमा बाहिर निकाल्ने बताउँदै आएको छ ।
मस्को चाहिँ युक्रेन पूर्ण रूपमा राष्ट्र नभएको र आफ्नो लक्ष्य प्राप्त नभएसम्म पछि नहट्ने अडानमा छ । लामो समयदेखिको युद्ध जारी रहनु र अझै युद्ध रोकिने संकेत नदेखिनुले आगामी दिनमा यसले कस्तो रुप लिन्छ भन्नेबारे विश्लेषण गर्न कठिन भइरहेको छ । यद्यपि, सुरक्षाविदहरुले यो युद्धले ठूलो रुप लिएको खण्डमा तेस्रो विश्व युद्ध हुन सक्ने संकेत भने गर्दै आएका छन् ।
प्रतिक्रिया