Breaking

प्रजापतीको पुख्र्यौली पेसा संकटमा, व्यापार भए पनि माटै नपाएको गुनासो


तिहार शुरु भएसँगै यतिबेला भक्तपुरका प्रजापती समुदाय माटोका भाँडा बनाउन व्यस्त छन् । माटोका पालादेखि कलश लगायत भाँडा बनाउन प्रजापती समुदायलाई भ्याइनभ्याइ छ । तिहारमा माटोका भाँडाको माग बढी हुने भए पनि भाँडा बनाउने माटो पाउन समस्या हुने गरेको उनीहरुको गुनासो छ ।


नेपालीहरुको दोस्रो ठूलो सांस्कृतिक पर्व तिहार सुरु भइसकेको छ । तिहार सुरु हुँदै गर्दा भक्तपुरका प्रजापती समुदायलाई भने माटोका भाँडा बनाउन भ्याइ नभ्याइ छ । अन्य समयभन्दा तिहारमा माटोका भाँडाको धेरै माग हुने भएकाले प्रजापती समुदाय निकै व्यस्त देखिन्छन् । यद्यपि, माटोका भाँडाको माग प्रत्येक वर्ष बढ्दै गइरहे पनि भाँडा बनाउने माटो प्राप्त गर्न भने कठिन हुँदै गएको प्रजापती समुदायको भनाइ छ । केही वर्ष अघिसम्म जता गएपनि माटो खनेर ल्याउन पाइने तर अहिले प्लटिङका कारण माटो पाउन मुस्किल भएको गुनासो प्रजापती समुदायको छ ।

भक्तपुरका गणेशकुमार प्रजापती आफूले सानैदेखि माटोको भाँडो बनाउने काम गरेको र माग पनि राम्रो भएको बताउँछन् । उनले पालाको मूल्य पहिला पनि दुई रुपैयाँ र अहिले पनि सोही मूल्यमा बिक्री गरिरहेको जानकारी दिए । विगतको दाँजोमा माग केही घटेको भएपनि संकटको अवस्था नरहेको बताए । पहिला भक्तपुरकै विभिन्न ठाउँबाट माटो खनेर ल्याउन पाउने भएपनि अहिले साँखु लगायत काभ्रेपलाञ्चोकका विभिन्न ठाउँबाट किनेर ल्याउनुपरेको उनले सुनाए ।

माटोका भाँडा बनाउनमाटो पेल्न, मुस्न, सुक्न र पाक्न समय लाग्ने गर्छ । माटो एक दिनमै सुक्ने भएपनि सबै काम सक्नका लागि १५ दिनको समय लाग्ने प्रजापतीको भनाइ छ । पहिला काग तिहार आएपछि बेच्न जानुपर्ने भएपनि अहिले माटोका भाँडा लिन घरमै ग्राहक आउने गरेका छन् । यसले उनीहरुलाई केही सहज भएको छ । सामानहरु बनाइराख्दा जहिले पनि बिक्री गर्न असहज नभएको उनी बताउँछन् ।

पहिला आफूले पैसाको कमी हुँदा लसुन, सागसँग माटोका भाँडा साट्ने गरेको सम्झछन् हरिओम प्रजापती । अहिले माटो पाउन कठिन रहेको उनले पनि गुनासो गरे । सरकारले माटोका लागि व्यवस्था गरि दिने हो भने मात्रै आफूहरुको पेशा संकटमा नपर्ने उनी बताउँछन् ।

अर्का स्थानीय एवं माटोका भाँडा व्यापारी विनोदकुमार प्रजापती पुर्खादेखिको पेशा भएकाले चट्टै छोड्न नमिल्ने सुनाउँछन् । उनले पुख्र्यौली पेशा भएकाले माटोका भाँडा बनाउने काम गर्दै आएको बताए । पुरानै मूल्यमा भाँडा बेच्नुपर्दा उनलाई लागत मूल्य नै नउठ्ने चिन्ता भने छ । तिहारमा विशेष गरी पाला मात्रै बिक्ने उनले बताए । अरु बेला सिजनअनुसारले सामानहरु बिक्री हुने बताउँदै खुत्रुके, धुपाउरो जस्ता सामानहरु भने सदावहार रुपमा बिक्री हुने गरेको उनले जानकारी दिए । माटो पकाउनका लागि इन्धन (दाउरा)को अभाव रहेको उनले बताए ।

यस्तै, माटोको भाँडा बनाउँदै आएका रोशन प्रजापतीको गुनासो पनि माटोको अभाव नै रहेको छ । ३५ वर्षदेखि माटोका भाँडाहरु बनाउँदै आएका उनले गत वर्षभन्दा यसवर्ष माटोका भाँडाको माग घटेको बताए । अहिलेको आर्थिक अवस्थाले गर्दा पनि माग घटेको हुनसक्ने उनको अनुमान छ ।

प्रजापती परिवारले नै गर्ने काम भएकाले कामलाई निरन्तरता दिएको र गुजारा चलिरहेको उनीहरुको भनाइ छ । माटोका भाँडा बनाउने प्रजापती समुदायलाई अहिले सरकारले माटोको व्यवस्थापन गरिदिए हुन्थ्यो भन्ने लागेको छ । माटो पाउन मुस्किल हुँदै गएपछि आफ्नो पुस्तौंदेखिको पेशा संकटमा त पर्ने होइन भन्ने चिन्ता प्रजापती समुदायलाई छ ।