काठमाडौँ – नेपाल बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ ।
सन् २०१० मा बंगलादेशबाट सुरूआत भएको साफ च्याम्पियनसिपमा नेपाल ५ पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बंगलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विगतका गल्ती नदोहोर्याइ फाइनल खेल जसरी भए आफ्नो पक्षमा पार्ने लक्ष्य रहेको बताए ।
प्रशिक्षक तामाङले बंगलादेश बलियो टोली भएको टिप्पणी गर्दै आफ्नो टोलीमा घरेलु समर्थकको साथ भएकाले उपाधि जित्नेमा विश्वास व्यक्त गरे । यसअघिका छमध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चार पटक र बंगलादेशसँग एकपटक पराजित हुन पुग्यो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।
बंगलादेशमा भएको पहिलो संस्करणमा नेपाल उपविजेता बनेको थियो । तत्कालीन समयमा फाइनलमा नेपाल भारतसँग ०-१ गोलअन्तरले पराजित भएको थियो । सन् २०१२ मा श्रीलङ्कामा आयोजना भएको दोस्रो संस्करणमा पनि नेपाल फाइनलमा भारतसँग ३-१ गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा रह्यो ।
प्रतिक्रिया