रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा विगत ११ दिनदेखि कास्की जिल्ला प्रहरीको हिरासतमा छन् । हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई कुनै विशेष सुविधा दिइएको छैन । त्यसो त उनी आफैंले पनि छुट्टै सुविधा माग गरेका छैनन् ।लामिछानेकोहिरासत बसाइँ कस्तो छ त ?
अमेरिकाको बिलासी जीवन हुँदै देशको उपप्रधानसहित गृहमन्त्रीसमेत भइसकेका रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा विगत ११ दिनदेखि प्रहरी हिरासतमा छन् । लामिछाने अन्य थुनुवा सरह कास्की जिल्ला प्रहरीको हिरासतमा छन् ।गृहमन्त्रीसमेत भइसकेका उनलाई हिरासतमा कुनै विशेष सुविधा दिइएको छैन ।
त्यसो त उनी आफैंले पनि छुट्टै सुविधा माग गरेका छैनन् ।हाई प्रोफाइल व्यक्ति पक्राउ पर्दा स्वास्थ्य उपचारको नाममा महंगो अस्पतालकोबाताअनुकुलित क्याबिनमा बसेर म्याद गुजार्ने पुरानो परम्परालाई लामिछानेले भने हालसम्म प्रयोग गरेका छैनन् । उनी अन्य थुनुवा जस्तै प्रहरी प्रशासनको नियममा बसेर अनुसन्धानलाई सघाइरहेको देखिन्छन् ।हिरासत कक्षमा खटिएका एक प्रहरी अधिकारीका अनुसार उनी बिहान साढे ५ देखि ६ बजेको बीचमा उठिसक्छन् । नुहाइधुवाइ सकेर एक कप कालो चिया पिउँछन् ।उनले हिरासत कक्षमै पत्रपत्रिका मगाएर पढ्ने गरेका छन् । लामिछानेले अध्ययन गर्ने भन्दै केही पुस्तक पनि साथमा राखेका छन् ।
जसमा केही उपन्यास र केही राजनीतिक विषयका पुस्तक समावेश छन् ।हिरासतको सुरक्षामा खटिएका प्रहरीका अनुसार धेरै जसो समय लामिछाने पुस्तक पढेर समय बिताउने गरेका छन् । बेलाबेला डायरीमा केही लेख्ने गर्ने गर्छन् । साथै समय समयमा उनले आफूले कुनै गल्ती नगरेको भन्दै प्रहरीहरूलाई प्रस्टीकरण दिनेसमेत गरेको प्रहरी अधिकारी बताउछन् । ‘मैले केही गडबडी गरेको छैन । ठूलो अपराध गरेर आएको पनि होइन ।
तपाईंहरूलाई निर्देशन होला, म पनि अरूजस्तै सामान्य व्यक्ति नै हुँ,’ भन्दै समय समय गुनासो गर्ने गरेका छन् ।उनले आफूलाई मात्रै नभएर अन्य थुनुवालाई पनि राम्रो व्यवहार गर्न हिरासतमा खटिएका प्रहरीलाई आग्रह गर्ने गरेका छन् ।रविपत्नी निकिता पौडेल श्रीमान् पक्राउ परेको दिनदेखि पोखरामै छिन् । उनी दिनमा एकपटक रविलाई भेट्न हिरासतमा पुग्छिन् । बिहान ७ बजेदेखि ९ बजेसम्म र दिउँसो १ बजेदेखि ३ बजेसम्म हिरासतमा राखिएका थुनुवासँग भेट्ने समय तोकिएको छ । त्यही बेला निकिता र रास्वपा नेता÷कार्यकर्ताले लामिछानेलाई भेट्न पुग्ने गर्दछन् ।
भेटमा लामिछानेले नेता कार्यकर्तालाई अदालतबाट आफूले सफाइ पाउने बताउँदै आएका छन् ।‘ममाथि राजनीतिक प्रतिशोध साँधिएको हो । न्यायाधीशले मिसिल राम्रोसँग अध्ययन गर्नुभयो भने मलाई थुन्ने प्रमाण पुग्दैन,’ रविले आफ्ना नेतालाई सम्झाउँदै भन्ने गरेका छन्, ‘दुःख दिने उद्देश्यले अन्य केही प्रहरी कार्यालयमा पनि मलाई पठाउन सक्छन् । यो केसबाट उम्किएँ भने हामी राजनीतिमा थप अगाडि बढ्छौं ।’ भन्दै भेट्न आएका कार्यकर्ता शुभेक्षुकहरुलाई आशा जगाउने गरेका छन् ।कास्की जिल्ला अदालतले लामिछानेमाथि अनुसन्धान गर्न पछिल्लोपटक ७ दिनको म्याद थपेको छ ।
उनलाई प्रहरीले असोज १४ गतेसम्म हिरासतमै राखेर अनुसन्धान गर्न पाउँनेछ । १५ गतेदेखि तिहार बिदा शुरू हुने भएकालेउनको तिहार हिरासतमै बित्ने निश्चित जस्तो देखिन्छ । रविको रिहाइको माग गर्दै पोखराबाट काठमाडौं केन्द्रित आन्दोलनमा रहेका रास्वपाका नेता कार्यकर्ताले आफ्नो सभापतिमाथि प्रतिशोध साँधिएको आरोप लगाउँदै आएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा समितिका सदस्य एवं रास्वपाका सांसद डा. चन्दा कार्कीले पार्टी सभापति लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरेकी छन् ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी बञ्जाडे अहिले कास्की प्रहरीको हिरासतमा छन् ।सूर्यदर्शनलगायत ५ वटा सहकारीबाट गोर्खा मिडियामा ६५ करोड ५४ लाख रुपैयाँ आएको संसदीय छानबिन समितिको प्रतिवेदनले औँल्याएको छ । प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेले उक्त रकम खर्चिन करोडौंको चेक काटेका थिए ।प्रारम्भिक रूपमा सहकारीबाट रविले सिधै ऋण लिएको नदेखिए पनि उनले गोर्खा मिडियामा पदीय हैसियतमा रहँदा संस्थाको नाफाभन्दा बढी रकमको चेक काटेको आरोप छ ।सहकारीको रकम आफू सञ्चालक रहेको मिडियामा आएको जान्दाजान्दै लामिछानेले त्यसको अपचलन गरेको पीडित पक्षको आरोप छ ।
लामिछानेका पार्टनर एवं गोर्खा मिडियाका अध्यक्ष जीबी राई हाल फरार छन् । जीबी विभिन्न सहकारीको अध्यक्ष रहेको विषयमा लामिछाने जानकार थिए ।कास्की प्रहरीका अनुसार रविको बयान सकिएको छैन । सरकारी वकिल कार्यालयमा बयान प्रमाणित गराएपछि उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाउने तयारी प्रहरीको छ ।रुपन्देहीको सुप्रिम सहकारीबाट पनि गोर्खा मिडियामा करोडौं पैसा आएको देखिएको छ ।जसका कारण लामिछाने केही समय फनफनी विभिन्न जिल्लामा बयानका क्रममा घुम्ने निश्चित छ ।
प्रतिक्रिया