Breaking

तनाव र दबाबकाबीच पुनरागमन गरेको नेपाल


साफ महिला च्याम्पियनसिपको जारी संस्करणको दोस्रो सेमिफाइनलमा फुटबल इतिहासमै नभएको घटना घट्यो । न त सायदै अब आगामी दिनमा यस्तो घटना दोहोरिने छ । दक्षिण एसियाका दुई महारथी महिला टोली नेपाल र भारतको यो भिडन्तको कथा जित र हारमा मात्रै सीमित हुन सकेन ।

आइतबार साँझ भएको साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेल कुनै ‘ब्लकब्लस्टर चलचित्र’भन्दा कम थिएन । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपालको चिरपरिचित प्रतिद्वन्द्वी भारतसँगको खेल रोमाञ्चक,नाटकीय, कौतुहलपूर्ण, तनाव, हर्ष र उत्साह सबैले भरिपूर्ण थियो । निर्धारित समयसम्म एक–एकको बराबरीपछि भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेसँगै नेपाल फाइनल पुग्न सफल भयो ।

नेपालले साफमा लगातार दुई पटक सेमिफाइनलमा भारतलाई हराउने क्रममा घटेका घटनालाई नेपाली खेलप्रेमीले सधैँ सम्झिने छन् । जति रोमाञ्चक खेल थियो उति नै तनावपूर्ण अवस्था बन्दा सुखद तर तीतो अनुभूतिका रुपमा स्मरण रहनेछ ।

सामान्यतः ९० मिनेटको खेल हुने भए पनि झण्डै साढे तीन घण्टा खेलाडीहरूले मैदानमा बिताए । साँझ ६ः३० देखि सुरु भएको खेल ९ः५५ मा सकिएको थियो । खेलको ४५ मिनेट अर्थात् पहिलो हाफको खेल सामान्य रुपमा सञ्चालन हुँदा गोलरहित बराबरीमा सकिएको थियो । खेलमा ‘ट्विस्ट एण्ड टर्न’ तब आयो जब दोस्रो हाफ सुरु भयो । दोस्रो हाफ सुरु भएको छ मिनेटपछि अर्थात् ५१ मिनेटमा नेपालकी फरवार्ड रेखा पौडेलले दोहोरो पहेलो कार्ड खाँदै मैदान बाहिरिनु पर्ने स्थिति सिर्जना भएपछि खेलमा विवाद सुरु भयो ।

भुटानकी म्याच रेफ्री ओम चोकीले गलत निर्णय लिएको भन्दै रङ्गशालामा उपस्थित हजारौं दर्शकले विरोध गर्दै मैदानमा पानी र कोल्डड्रिंसका बोतल प्रहार गरे । त्यसपछि झण्डै १५ मिनेट खेल अवरुद्ध भएर पुनः सुचारु भएको थियो । यसपछि खेलको ७१ औं मिनेटमा भारतका परिवर्तित खेलाडी सङ्गीता बासफोरले उत्कृष्ट गोल गर्दै १० जनामा सीमित नेपालमाथि अग्रता बनायो । त्यसलगत्तै रेफ्री चोकीले सिठ्ठी फुकेर खेल सुरु गर्न दिएको निर्देशन अनुसार नै ‘क्विक प्ले’ गरेको नेपालका लागि प्रीतिराईले गोल गरिन् । तर सो गोललाई पहिले मान्यता दिएको रेफ्रीले भारतीय पक्षको विरोध पछि मान्यता दिन इन्कार गरिन् ।

त्यसपछि फेरि दर्शकदिर्घाबाट पानी र कोल्डड्रिंसका बोतलहरू मैदानतिर फ्याँक्न सुरु भयो । दर्शकका कारण उत्पन्न तनावग्रस्त वातावरण र नेपाली खेलाडी पनि खेल्न नमन्दा करिब १ घण्टा १५ मिनेट खेल सञ्चालन हुन सकेन । त्यतिखेरसम्म मैदानमा वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिति भइसकेको थियो । तर, नेपाल आयोजक राष्ट्रसमेत भएकाले जरिवाना तिराउने, कारबाहीमा पर्ने र निलम्बन गर्ने तथा आगामी दिनमा पनि यसको परिणाम भोग्नु पर्ने जस्ता कुरा अगाडि आए । त्यसपछि फुटबलको इज्जत र समर्थकका लागि भए पनि खेल्ने निर्णयमा पुगेको थियो ।

अन्ततः खेल सञ्चालन गर्न दुवै टोली सहमत भए पछि दोस्रो हाफको १८ मिनेट अर्थात् ६३ मिनेटदेखि खेल सुचारु हुन पुग्यो । खेल सुरु भएको अघिल्लो मिनेटमै नेपालकी गोल मिसिन सावित्रा भण्डारी साम्बाले गोल फर्काउँदै टिमलाई बराबरीमा ल्याइन् ।त्यसपछि बाँकी समयमा दुवै टिमले गोल गर्न नसक्दा नतिजाका लागि खेल पेनाल्टी सुट आउटमा पुग्यो । जसमा नेपालका लागि परिवर्तित गोलरक्षक अञ्जना राना मगर नायिक सावित भइन् ।

पेनाल्टीमा नेपालका साम्बा, गीता राना, सविता रानामगर र अमिषा कार्कीले गोल गर्दा भारतले भने दुई गोल मात्र गर्न सक्यो । भारतबाट चारमध्ये कप्तान आशालता देवीको प्रहारमा पोस्ट बाधक बन्यो भने चानु सोरोखैबमको प्रहार नेपाली गोलरक्षक अञ्जनाले बचाइन् । भारतीय टोलीकी मनिषा र पुरुषोत्तम सिर्भोइकर भने गोल गर्न सफल भए । नेपालका खेलाडीहरू पहिलेदेखि नै चोटग्रस्त भएका कारण व्यवस्थापनमा कठिनाइ भोग्दा अब फाइनलमा रेखासमेत नहुने भएपछि समस्या पर्ने प्रशिक्षक बताउँछन् ।

तनाव र दबावकाबीच पनि आफूलाई सम्हाल्दै मैदानमा उत्रिएका गार्खाली चेलीले रङ्गशालामा उपस्थित १८ हजारभन्दा बढी दर्शकलाई निराश हुन दिएनन् । साथै उनीहरुले आफ्नो बहादुरी मैदानमा कुशलताका साथ प्रदर्शन गरे । राष्ट्र र दर्शककै खुशीका लागि खेलेका उनीहरूको टिम कम्बिनेसनले भारतमाथिको जित सम्भव भएको प्लेयर अफ दि म्याच बनेकी साम्बाको भनाइ छ ।

महिला साफको पहिलो संस्करण सन् २०१०, २०१२ को दोस्रो संस्करण, २०१४ को तेस्रो र २०१९ को पाँचौ फाइनलमा नेपाललाई भारतले पराजित गर्दै उपाधि उचाल्नबाट वञ्चित गरेको थियो । तर, लगातार ०२२ र ०२४ को सेमिफाइनलमा भारतलाई दोस्रो पटक हराउँदै समग्रमा नेपाल छैटौं पटक साफको फाइनलमा पुगेको हो । समग्रमा १२ पटक महिला फुटबल फाइनलमा पुग्दा अहिलेसम्म उपाधि चुम्न सकेको छैन । नेपाललाई अब उपाधिको खडेरी तोडेर आगामी बुधबार बङ्गलादेशलाई हराउँदै इतिहास रच्ने अवसर छ ।