सांस्कृतिक चाड तिहारको विशेषता नै झिलिमिली बत्ती भएको हुँदा यसको व्यापारलाई पनि एक रौनककै रुपमा लिने गरिन्छ । पछिल्लो केही वर्षयता देशका विभिन्न स्थानमा बिजुली लाइनको विस्तार हुँदै जाँदा विद्युतीय बत्तीको व्यापार पनि फस्टाउँदै गएको थियो । तर, यस वर्ष भने विगतको तुलनामा बिजुली बत्तीको व्यापार नभएको व्यापारीको गुनासो छ ।
नेपालीको सांस्कृतिक चाड तिहारमा फूल मालाका साथै झिलिमिली बत्तीले घर, कोठा सजाउने गरिन्छ । पछिल्लो समय विद्युतीय प्रसारण लाइन गाउँ गाउँसम्म पुग्दा बिजुली बत्तीको प्रयोग पनि बढ्दै गएको छ । तिहारको विशेषता नै झिलिमिली बत्ती भएकाले परम्परागत रुपमा दियोबाती बाल्ने चलन रहँदै आएकोमा पछिल्लो समय बिजुलीको पहुँचले विद्युतीय बत्तीको प्रयोग बढ्दै गएको छ ।
तिहारमा विशेषतः लक्ष्मीपूजाको दिन घरलाई झिलिमिली बत्तीले सजाउने गरिन्छ । त्यसैले तिहारको बेला विद्युतीय सामग्रीहरुको माग धेरै हुने हुँदा व्यापारसमेत फस्टाउने गर्दछ । तर, पछिल्ला केही वर्षदेखि विद्युतीय सामग्रीको व्यापार वृद्धि हुन नसकेको व्यापारीहरुको गुनासो छ । बजारमा यस वर्ष पनि झिलिमिली बत्तीप्रति ग्राहकको आकर्षण कम देखिएको व्यापारीहरुको भनाइ छ ।
विद्युतीय बत्तीको माग कम हुँदा तिहारमा राम्रो व्यापार हुने आशमा रहेका व्यापारी केही निराश देखिन्छन् । गत वर्ष विद्युतीय बत्ती तथा सामग्रीको माग कम हुँदा स्टक रहेकाले यस वर्षको तिहारमा व्यापारीले नयाँ सामान धेरै आयात गर्न सकेका छैनन् । माग पनि नबढेको र भनेको जस्तो व्यापार पनि नभएको हुँदा गत वर्षकै सामान बेच्ने तरखरमा व्यापारीहरू छन् । यद्यपि, कोलकताबाट वीरगञ्ज नाका हुँदै भारतबाट आउने सामानहरू आइसकेको भए पनि तातोपानी र केरुङ नाका भएर चीनबाट आउने विद्युतीय सामग्री तिहार नजिकिसक्दा समेत आएको छैन । विगतका वर्षहरूमा तिहारमा ५०÷६० करोडको व्यापार हुने भए पनि यस वर्ष ३० करोडसम्मको सामान बिक्री हुने नेपाल विद्युतीय व्यवसायी महासङ्घको अनुमान छ ।
काठमाडौंको सुन्धारामा विद्युतीय सामग्रीहरूको व्यापार गर्दै आएका व्यापारहरू अहिलेसम्म खास्सै राम्रो व्यापार नभएको गुनासो गर्छन् । व्यवसायी दुर्गा सापकोटा विगतको तुलनामा व्यापार कम रहेको बताउँछन् । दसैं अगाडि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोको विपद र उपभोक्तामा क्रय क्षमता घट्नुले व्यापारमा असर परेको व्यापारीहरुको विश्लेषण छ । यद्यपि, तिहार आउन अझै केही दिन बाँकी नै भएकाले अन्तिम समयसम्ममा व्यापार हुने आशा उनीहरुमा छ ।
तिहारको समयमा पनि व्यापार नहुँदा व्यापारीहरू चिन्तत देखिन्छन् । व्यवसायीकाअनुसार यस वर्ष विगतको तुलनामा विद्युतीय सामग्रीको माग धेरै घटेको छ । देशको आर्थिक अवस्थाका कारण ग्राहकहरू पनि बजारमा किनमेलका लागि पुगेका छैनन् । बजारमा चहलपहल हुने काम सरकारले गर्नुपर्ने उनीहरूको भनाइ छ । यस्तै अवस्था भइरहे व्यवसायीहरु केही समयपछि आफैँ पलायन हुने अवस्थामा पुग्ने उनीहरूको चिन्ता छ । विद्युतीय बत्ती तथा सामग्रीमा युवा जमातको बढी आकर्षण हुने गर्दछ । तर, त्यही युवा जमात वैदेशिक शिक्षा तथा रोजगारीको शिलशिलामा विदेसिने क्रम बढ्दा विद्युतीय सामग्रीको व्यापारमा समेत असर परेको व्यवसायीको तर्क छ ।
त्यसो त व्यवसायीले युवा विदेसिएका कारण विद्युतीय बत्ती तथा सामग्रीको माग घटेको दाबी गरे यही कारण व्यापार घटेको हो भनेर अनुसन्धान भने भएको छैन । युवा जनशक्ति विदेसिएकै कारण परिवारको आर्थिक अवस्था मजबुद हुँदा खर्च गर्ने क्षमता बढेर गएको देखिन्छ । जसले गर्दा विगतमा बिजुली बत्ती नबाल्ने घरहरुमा पनि अहिले बिजुली बत्ती जोड्न थालेका छन् । त्यसैले युवाको विदेश पलायनले भन्दा पनि एकपटक किनेको विद्युती बत्ती तथा सामान केही वर्ष टिक्ने भएकाले त्यस्ता उपभोक्ताले हरेक साल नयाँ सामान किन्दैनन् । जसले गर्दा पुरानै विद्युतीय सामान प्रयोग गर्दा बजारमा नयाँ सामानको माग घटेको तथ्यलाई भने व्यापारीले मनन् गर्न नसकेको देखिन्छ । नेपालमा खपत हुने विद्युतीय सामग्री शतप्रतिशत आयातीत हुन् ।
कुल विद्युतीय सामग्रीमध्ये ९० प्रतिशत चीनबाट र १० प्रतिशत भारतबाट भित्रिने गरेको छ । यस्ता सामग्री विगतमा भारतबाट धेरै आयात हुन्थ्यो । तर पछिल्लो समय आकर्षक र सस्तो मूल्यका कारण चिनियाँ उत्पादनले भारतीय सामग्रीलाई विस्थापित गरेको व्यवसायीहरू बताउँछन् । अहिले परम्परागत माटोका पालाको साटो पालाजस्तै देखिने विद्युतीय बत्तीको प्रयोग पनि बढ्दो छ । यसले स्वदेशमै तयार हुने पाला र मैनबत्तीको स्थान विदेशी विद्युतीय झिलिमिली बत्तीले ओगट्न थालेका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार गत वर्ष करिब ४ अर्ब रुपैयाँ बराबरका विद्युतीय झिलिमिली बत्ती, मैनबत्ती र आतिशबाजी आयात गरिएको थियो । चालु आवको तीन महिनामा मात्रै करिब २५ करोड रुपैयाँको यस्तो सामग्री भित्रिएको भन्सार विभागको तथ्याङ्क छ ।
प्रतिक्रिया