पछिल्ला दिनहरूमा नेपालमा जिम्मेवार व्यक्तिनै गैरजिम्मेवार ढङ्गले बोल्ने तथा प्रतिक्रियाहरू सार्वजनिक गर्ने गरेका घटना बढ्न थालेका छन् । तार्किकभन्दा प्रतिक्रियात्मक बन्दै गएका उनीहरु हेटस्पिचका कारखाना नै बन्दै गएका हुन् । जसको सूचीमा सरकारका प्रवक्तादेखि विपक्षी दल र वैकल्पिक दलकै नेताहरु पर्दा यसले उनीहरूको खास स्तर र व्यक्तित्वको सही परिचयसमेत दिइरहेको छ ।
देश बर्वाद नै भयो भन्दै विकल्प दिन आएकादेखि जिम्मेवारपूर्ण पदमा बसिसकेकासम्मका नेता अहिले अराजक शैलीमा प्रस्तुत भइरहेका छन् । पद,हैसियत र मर्यादा नाघेर तर्कमा भन्दा हुल्लडवाजमा रमाइरहेको उनीहरुका अभिव्यक्तिको स्तर दिनप्रतिदिन खस्कदो छ । जसले उनीहरुको स्तर र व्यक्तित्वको परिचयमात्रै दिएको छैन,उनीहरुले चाहेको सुसंस्कृत समाज कस्तो हो भन्ने प्रश्नसमेत यसले उब्जाएको छ ।
जसको सूचीमा को को छन् त ?
१.नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड
प्रधानमन्त्रीजस्तो जिम्मेवार पद ३ कार्यकाल बिताएका उनी अहिले विपक्षमा छन् । एमाले कांग्रेस मिलेपछि भित्तामा पुगको उनी अराजक अभिव्यक्ति दिने एक नम्बरमै छन् । झट्ट हेर्दा जनयुद्धकालीन धङ्धङ्गी छोड्न नसकेका उनका अभिव्यक्तिमा क्रान्ति,भिडन्त प्रहार,लात हान्ने जस्ता शब्दहरु दोहोरिरहन्छन् ।
यसअघि विभिन्न समयमा नेपाल बंगलादेश बन्न लागेको भन्दै नागरिकलाई उद्धेलित पारेका उनले नेता कार्यकर्तामाझ यो सरकारले जनताको राउन्ड किक कस्तो हुन्छ देख्ने बताउँदै आएका छन् । सरकारको नेतृत्वमै रहेर सडकमा नागरिक उचाल्ने जस्ता पदीय मर्यादा विपरीतका कार्य उनका लागि साधारण बन्दा अराजक अभिव्यक्तिमा अझै ब्रेक लागेको छैन । बरु शनिबार काठमाडौंमा खबरदारीसभा गर्दै उनले सरकारले गरेका गतिविधिबारे सडकमा घिसारेर भएपनि जवाफ मागिने बताएका थिए ।
२. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेश समिति सभापति डा. अच्युतम लामिछाने ।
यी हुन्शैक्षिक रुपमा उच्चतम स्तर विद्यावारिधी गरेका डा.अच्युतम लामिछाने । उनीविकल्प दिने र जान्नेलाई छान्ने दावी गर्ने रास्वपाको बागमती प्रदेश सभापति हुन् । तर उनका अभिव्यक्ति सुन्दा यी पनि प्रचण्ड भन्दामाथि उठेका छैनन् ।
पार्टीका सभापति रवि लामिछानेको पक्राउविरुद्ध रास्वपाले शुक्रवार संघीय राजधानी काठमाडौंमा गरेको विरोध कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै उनले हिसाँत्मक अभिव्यक्ति दिए । आफू बंगलादेशको आन्दोलनको समर्थक रहेको बताउँदै शेख हसिनालाई भारतले लैजाने समय दिए पनि आफूहरू त्यो समय नदिने उनले बताए । अझ अघि बढेर उनले ठुला दलका शीर्ष नेताहरूलाई ‘गोली नहाने नि चिमोटी–चिमोटी मार्ने’ भन्दै धम्की नै दिए ।
३.रास्वपाका कानुनी सल्लाहकार यज्ञमणि न्यौपाने
न्यौपाने पनि यो सूचीमा छन् । आफू अधिवक्ता भएको बिर्सिएर रविको कार्यकर्ताका रुपमा प्रस्तुत भएका उनी छानबिन प्रक्रिया प्रभावित पार्ने गरि अघि बढ्ने रास्वपाको रणनीतिलाई बल दिइरहेका छन् । आन्दोलनले पार नलागेपछि अहिले रविलाई प्रहरीले दुव्र्यहार गरेको भन्दै उनी फण्डा चलाइरहेका छन् । जुन आरोपको कास्की प्रहरीले विज्ञप्ति नै निकालेर खण्डन गर्दा उनले कालोकोटको ओज घटाँउदै प्रहरी संगठनविरुद्ध नै अविश्वास सिर्जना गरिरहेका छन् ।
४. सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ
यो सूचीमा सरकारकै मन्त्रीहरुसमेत छन् । यसअघि पनि बोल्न नजान्दा धेरै पद चिप्लिदा त्यो दुर्घटनामा परेरपनि बाचेका पात्र हुन् पृथ्वीसुब्बा गुरुङ । आफ्नो हैसियत बिर्सिएर उनले प्रहरीको आईजीपीको जिब्रो थुत्नु पर्ने बताए । भदौ १६ गते पोखरामा उनले संघीय प्रहरी ऐनको विरोध गर्ने त्यही सेक्टरका मानिसहरु धेरै भएको दाबी गर्दै प्रहरी प्रमुखको नाम लिँदै जिब्रो थुत्नुपर्ने अराजक अभिव्यक्ति दिएका थिए । पछि प्रधानमन्त्रीले उनलाई सचेत नै गराएका थिए ।
यी त केहि प्रतिनिधि पात्र र पछिल्ला उदाहरण मात्र हुन् । यसबाहेक दुर्गा प्रसाईं जस्ता व्यक्ति अराजकताको लहर नै चलाइरहेका छन् । यहि कारण हिरासतको बाससमेत भोगिसकेका उनका प्रत्येकजसो अभिव्यक्ति घृणा फैलाउन उद्यत देखिन्छन् ।
त्यस्तै कथित अभियन्ता र विश्लेषकहरु समेत यसको अग्रपङ्क्तीमा देखिन्छन् । फलतः यीनीहरुबाट कस्तो नेतृत्व र समाजको आशा गर्ने भन्ने प्रश्न यसले बलियो पार्दा उनीहरुमाथि किन कारबाही हुँदैन ? प्रश्न सरकारमाथि पनि छ । जसले यस्ता अभिव्यक्ति दिनेहरुको मनोबल मात्रै बढेको छैन समाजसमेत त्यतैतर्फ दौडिरहेको छ । यसले ल्याउने हुरीले आफूहरु समेत बढारिनेमा नेतृत्वमै बसेर अराजक अभिव्यक्ति दिनेहरुले समेत महसुस गर्न सकेका छैनन् । अर्कातर्फ यस्ता गैरजिम्मेवार अभिव्यक्तिले उनीहरूको खास स्तर र व्यक्तित्वको सही परिचयसमेत दिइरहेको छ ।
प्रतिक्रिया