काठमाडौँ— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले विधिको शासनमा कुनै सम्झौता गर्दैन भन्ने विश्वास जनतालाई गराउनुपर्ने बताएका छन् । आज काठमाडौंमा नेपाल राष्ट्र बैंकका कर्मचारीहरूको शुभकामना आदानप्रदान कार्यक्रममा उनले जनतालाई सरकार भएको महसुस हुनुपर्नेमा जोड दिए ।
उनले सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गराउन सरकारले काम अघि बढाउनुपर्ने बताए । सहकारी ठगी गर्नेहरूको सम्पत्ति बेचेर भए पनि सानो बचतकर्ताको रकम फिर्ता गर्ने काम सुरु गर्नुपर्ने उनले धारणा व्यक्त गरे ।
महामन्त्री थापाले सहकारीको बचत अपचलन प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गर्नुपर्ने उल्लेख गरे । उनले संसदीय छानबिन समितिको प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । सहकारी ठगीमा नाम जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र नेकपा (एमाले)का सांसद ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न उनले सरकारलाई सुझाव दिए ।
“।।।नेपाली कांग्रेसको एकजना नेता, पार्टीको उपसभापति माननीय धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो,” उनले भने, “थप अनुसन्धान गर्नुपर्छ । म त सरकारलाई यहीँबाट अनुरोध गर्न चाहन्छु– बकैदा अनुसन्धान गर्नुस् । अनुसन्धान गर्नु पनि पर्छ ।” उनले अगाडि थपे, “नेकपा (एमाले)को ऋषिकेश पोखरेलजीको नाम आयो, गर्नुस् अनुसन्धान । अनुसन्धान गर्नुस् मात्र होइन, यदि गल्ती गर्नुभएको छ भने अभियोजन पनि गर्नुस् । दण्ड पनि दिनुस् ।” जुनसुकै दलका नेता भए पनि अनुसन्धानमा गल्ती देखिए कारबाही गर्न सरकार पछि हट्न नहुने उनले बताए ।
प्रतिक्रिया