Breaking

गालीका महारथि ओली–प्रचण्ड, देउवाको सत्ता अस्त्र


माओवादी शान्तिपूर्ण राजनीतिमा आएदेखि एमालेसँगको पार्टी एकता हुँदै फेरि फुटको नियतिसम्म आइपुग्दा यी दुईको मिलन र बिछोडको लामै फेहरिस्ता बनेको छ । नेपालका दुई ठूला कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको माया, प्रेम र गाली गलौजको राजनीतिक श्रृङ्खला लामै छ । त्यसमा पनि अहिले यी दुईबीचको सत्तायात्रा टुटेपछि अर्काे नयाँ श्रृङ्खला थपिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध बुझेर बुझी नसक्नुको छ । सत्ता सहकार्य गर्दा एकअर्काको प्रशंसा गर्न कुनै कञ्जुस्याईं नगर्ने ओली र प्रचण्ड छुट्टाछुट्टै कित्तामा पुगेपछि भने सत्तो सरापमा उत्रिने गरेका छन् । कुनै बेला स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने वाचाकसम खाएका उनीहरू अहिले एक अर्कालाई तल देखाउन भगीरथ कोसिसमा छन् । साढे तीन महिना अघिसम्म एउटै कित्तामा बसेर काम गरिरहेका ओली–प्रचण्डको एकअर्काप्रतिको कटाक्ष पछिल्लो समय निरन्तर चलिरहेको छ । जुन पछिल्लो दुई दिनमा उनीहरूको अभिव्यक्तिले पनि पुष्टि गरिसकेको छ । शनिबार माओवादीले सरकारविरुद्ध खबरदारी सभा गरेको भने पनि उक्त खबरदारी प्रधानमन्त्री ओलीप्रति मात्र लक्षित देखियो ।

आफू र ओलीबीच भएको सँगै बाच्ने र मर्ने कुराकानीदेखि ओलीले दिएको धोखा र ओलीले भ्रष्टाचारीलाई जोगाउन गरेको कसरत भन्दै प्रचण्डले विगतको तितो ओकले । उनले ओलीलाई गलहत्याएर सडकमा फ्याँक्नेसम्मको अभिव्यक्ति दिए । यता नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पनि प्रचण्डलाई काउण्टर दिन कुनै कसर बाँकी राखेका छैनन् । पटक पटक माओवादीले गरेको जनयुद्धलाई आतङ्कको संज्ञा दिँदै आएका ओलीले पुनः एक पटक माओवादीलाई आतङ्ककारी कै रुपमा चित्रण गरेका छन् ।

आइतबार एनआरएनए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरू हतियार चलाउने जस्तो नभएको टिप्पणी गर्दै धम्क्याएको भरमा खान नआउने भन्दै माओवादीलाई प्रहार गरे । आफूहरूलाई हतियार चलाउन नआए पनि अरुलाई बिसाउने तरिका थाहा भएको भन्दै प्रधानमन्त्री ओलीले माओवादीप्रति कटाक्ष गरे ।

एमाले र माओवादी मिल्नु र फुट्नुले नै कांग्रेसको आगामी भविष्य अँध्यारो हुने कि उज्यालो हुने निक्र्यौल गर्ने हुँदा कांग्रेसले यी दुईबीचको जुहारीको भरपूर फाइदा उठाइरहेको छ । अघिल्लो प्रतिनिधिसभामा २३ सिट मात्रै भए पनि १२१ सिटको एमालेलाई प्रतिपक्षमा राखेर सरकारको नेतृत्वमा पुगेको कांग्रेस अहिले सदनमा पहिलो दल नै बन्न सफल भएको छ । त्यतिमात्रै होइन, कहिले प्रचण्ड त कहिले ओलीलाई काँध हालेर सरकारमा रजगज गरिरहेको छ ।

कुनै समय नेकपा नामक एउटै विमानका दुई पाइलट भएका ओली–प्रचण्डको मेल र बेमेलले आन्तरिक राजनीतिमा हुने गरेको सत्ता उटलपुलट त सामान्य जस्तै भइसक्यो । तर, नेपालमा कम्युनिष्ट मिलेको हेर्न चाहने अथवा मिलाउन चाहने चिनियाँलाई पनि हायलकायल बनाएको छ । सबैलाई गुमराहमा राख्दै स्वार्थ अनुकूल ओली र प्रचण्डका सत्तामुखी मिलन र बिछोडको श्रृङ्खला चलि नै रहने कम्युनिष्टका जानकार बताउँछन् ।

पटक पटक दोहोरी पर्ने ओली र प्रचण्डको गाली र तारिफको श्रृङ्खला विगतदेखिकै श्रृंखला हो । हिन्द महासागरमा गएर कोसी र सेतीको पानी छुट्याउन नसकिने भन्दै एमाले र माओवादी एकीकृत मात्रै होइन, अन्तरघुलित नै भएको ओलीले २०७५ मा पार्टी एकता हुँदा ताका हौसिँदै भनेका थिए । नेकपा एमाले सुप्रिमो ओली र माओवादीका अध्यक्ष प्रचण्डको सम्बन्धलाई नियाल्दा–स्वार्थ मिल्दा चाटाचाट, नमिल्दा काटाकाटको स्थिति देखिन्छ ।

यसरी हेर्दा यो ओली र प्रचण्डको सम्बन्ध व्यक्तिगत टकराव, सिंहदरबारको यात्रा र वर्चस्वको भिडन्त मात्र जस्तो लाग्छ । ओली र प्रचण्डबीचको प्रतिष्पर्धामा सत्ताको राजनीति त छदैँ छ, त्यसका साथै देशमा कम्युनिष्ट राजनीतिका दुई धार माओवादी र एमालेमा को ठूलो कम्युनिष्ट पार्टी भन्ने प्रतिस्पर्धा र प्रतिष्ठाको लडाइँ पनि देखिन्छ ।