Breaking

इजरायलको आक्रमणपछि जोखाना हेर्दै इरान, आणविक र तेल भण्डारमा आक्रमणको डर


पछिल्लो एक वर्षदेखि मध्यपूर्वमा जारी संघर्षको बाछिटा नजिकका छिमेकी मुलुकहरुसम्म फैलिँदा त्यहाँको अवस्था अझ जटिल हुने सम्भावना बढेर गएको छ । हमास, हिजबुल्लाह र हुथी विद्रोहीविरुद्ध सशक्त कारबाही गरिरहेको इजरायलले शुक्रबार राति इरानमाथि व्यापक हवाई आक्रमण गरेपछि मध्यपूर्व थप अशान्त बन्न देखिएको हो ।

इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमाससँगको संघर्षबाट मध्यपूर्वमा चर्किएको युद्धको आगो पछिल्लो समय इरानसम्मै विस्तार हुँदै गएको छ । गत शुक्रबार राति इजरालयले इरानमाथि हवाई आक्रमण गरेसँगै मध्यपूर्वको युद्ध अर्को चरणमा प्रवेश गर्न लागेको विश्लेषण हुन थालेको छ । हमास, हिजबुल्लाह र हुथी विद्रोहीसँग लड्दै आएको इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि अशान्त मध्यपूर्वमा थप समस्या उत्पन्न हुन सक्ने सम्भावना बढेर गएको छ ।

इरानले इजरायलमा आक्रमण गरेको २४ दिनपछि इजरायलले जवाफी कारबाही स्वरुप इरानमाथि व्यापक हवाई आक्रमण गरेपछि मध्यपूर्वको युद्ध थप चर्किने संकेत देखिएको छ । इरानका विभिन्न स्थानमा शुक्रबार राति इजरायलले व्यापक हवाई आक्रमण गरेको थियो । इरानले पनि इजरायलले आफ्नो भूमिमा आक्रमण गरेको पुष्टि गरेको छ । इजरायलले इरानको राजधानी तेहरान तथा करजमा आक्रमण गरेको हो । इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता डेनियल हगारीले इजरायलले अक्टोबर १ मा गरेको आक्रमणको जवाफ दिएको बताएका छन् ।

उनले इरानको सैन्य इलाकाहरुमा सटिक आक्रमण गरेको बताए । यसअघि ७ अक्टोबर २०२३ मा इरानले इजरायलको ७ स्थानमा आक्रमण गरेको भन्दै इजरायललाई जवाफी आक्रमणको अधिकार भएको प्रवक्ता डेनियलले बताएका छन् । इजरायलले अहिलेसम्म कम्तीमा ७ मिसाइल प्रहार गरेको बताएको छ ।


अमेरिकाले भने इजरायलको समर्थन गर्दै इरानलाई उसको आक्रमणको जवाफ दिने अधिकार भएको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको आणविक र तेल खानीमा आक्रमण नगर्न सचेत गराएका छन् । ‘इजरायलसँग आफ्नो रक्षा गर्ने र यस महिनाको सुरुमा इरानी आक्रमणको जवाफ दिने अधिकार छ । तर इजरायलले इरानको आणविक स्थलमा आक्रमण गरेमा भने समर्थन नगर्ने बाइडेनले बताएका छन् ।

यसबाहेक अमेरिकाले इजरायललाई इरानको तेल खानीबाट टाढा रहन पनि सचेत गराएको छ । अमेरिकाले इजरायली हवाई हमलाको जवाफ नदिन इरानलाई पनि अपिल गरेको छ । यता रूसले इजरायलले इरानमा सैन्य इलाकामा बमबारी गरेपछि इरान र इजरायलबीचको शत्रुतामा ‘खतरनाक वृद्धि’ भएको र यसले स्थिति नियन्त्रण बाहिर जाने खतरा बढेको बताएको छ । रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले यस क्षेत्रमा जारी विष्फोटक पदार्थको वृद्धिप्रति आफू चिन्तित रहेको बताएका छन् ।


“हामी सबै पक्षलाई संयमित हुन, हिंसा रोक्न र घटनाहरूलाई विनाशकारी परिदृश्यमा परिणत हुनबाट रोक्न आग्रह गर्दछौं,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनले भनेका छन्, “इरानलाई प्रतिशोधी कदम चाल्न उक्साउने काम बन्द गर्न र अनियन्त्रित तनावको चक्रव्यूहबाट बाहिर निस्कन आवश्यक छ ।’ रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै साता उदीयमान राष्ट्रहरूको ब्रिक्स समूहको शिखर सम्मेलनमा दुई क्षेत्रीय शक्ति राष्ट्रबीचको तनावले मध्यपूर्वमा पूर्णयुद्ध निम्त्याउने खतरा रहेको बताएका थिए । “इजरायल र इरानबीच द्वन्द्वको स्तर ह्वात्तै बढेको छ । यो सबैले श्रृंखलाबद्ध प्रतिक्रियाको सम्झना दिलाउँछ र यसले सम्पूर्ण मध्यपूर्वलाई पूर्ण युद्धको सङ्घारमा पुर्याउँछ,” रूसी राष्ट्रपति पुटिनले आफ्नो सम्बोधनमा भनेका थिए ।

इजरायल र इरानबीच पछिल्लो समय चर्किएको संघर्षलाई लिएर विश्वका शक्ति राष्ट्रहरु पनि एकअर्काको पक्षविपक्षमा देखिए पनि जारी युद्ध रोकिनु पर्छ भन्नेमा एकमत देखिन्छन् । तर यी दुई देशबीचको टकरावलाई मत्थर पार्न हालसम्म कुनै पनि पक्षले प्रभावकारी पहल गर्न सकेका छैनन् । जसले मध्यपूर्वमा जारी क्षेत्रीय युद्धले विश्वलाई नै ठूलो युद्धतर्फ धकेल्न सक्ने खतरातर्फ सबैको ध्यान जान आवश्यक देखिन्छ । एकअर्कालाई उक्साउने भन्दा पनि संयमता अपनाउन झनै जरुरी देखिन्छ । अन्यथा जुन कुनै बेला युद्ध भड्किन सक्ने सम्भावना प्रबल बन्दै गएको छ ।